फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो पटक हुने 'सगरमाथा संवाद'का लागि तयारी पूरा

(GMT+08:00) 2020-02-07 17:33:07
'सगरमाथा संवाद'को पूर्व तयारीका रूपमा सरकारले गर्न लागेको राष्ट्रिय संवादको सबै तयारी पूरा भएको छ । सरकारले आगामी चैत २०–२२ गते सगरमाथा संवादको आयोजना गर्दैछ । त्यसको पूर्वाभ्यासका रूपमा भने यही माघ २६ गते आइतबार राष्ट्रिय संवाद गर्न लागिएको हो ।

'जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य' को नारा राष्ट्रिय संवादका लागि तय गरिएको सगरमाथा संवाद सचिवालयले जनाएको छ । सचिवालय संयोजक कुमारराज खरेलले हामी अन्तिम तयारीमा जुटेका छौँ । राष्ट्रिय संवादमा आएका निष्कर्षलाई सगरमाथा संवादमा नेपालका तर्फबाट प्रस्तुत गरिनेछ भन्नुभयो । उहाँका अनुसार नेपालका तर्फबाट विश्वमाझ प्रस्तुत गर्ने साझा अवधारणा र खाका राष्ट्रिय संवादले नै तयार गर्नेछ ।

अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद सफल तुल्याउन राष्ट्रिय संवादले भूमिका खेल्ने खरेलले बताउनुभयो । राष्ट्रिय संवादमा विभिन्न पाँचवटा सत्र हुनेछन् । चारवटा सत्र एकैसाथ सञ्चालन हुनेछन् । जस अनुसार पहिलो सत्रमा 'अनुकूलन, सहजपन र जीविका' शीर्षकमा छलफल हुनेछ । यस सत्रमा खाद्य तथा जल सुरक्षा र जलवायु परिवर्तनले ल्याउने विपत्तिका बारेका बहस गरिनेछ ।

त्यस्तै दोस्रो सत्रमा 'हरित अर्थ व्यवस्था र ऊर्जा' शीर्षकमा छलफल हुनेछ । जसमा जनताका लागि आवश्यक नीति, समृद्धि र विविध क्षेत्रका बारेमा छलफल गरिनेछ। तेस्रो सत्रमा भने 'परिवर्तनकारी समाधान' शीर्षकमा विशेष बहस हुनेछ । जस अन्तर्गत प्रविधिमा लगानी र आविष्कार तथा प्राकृतिक पद्धतिमा आधारित समाधान एवं परम्परागत ज्ञानको चर्चा गरिने गोरखापत्र अनलाइनले जनाएको छ।

चौथो सत्रमा 'प्रकृतिसँग बाँच्नका लागि सद्भाव' शीर्षकमा नागरिक संवादको आयोजना गरिनेछ । त्यस सत्रमा 'हरित अर्थ व्यवस्थाका लागि सहर र समुदाय तथा दिगो भविष्यका लागि व्यक्तिगत कार्य' उपशीर्षक राखेर छलफल गर्ने तयारी भएको छ । त्यस्तै 'विश्वव्यापी साझेदारी र क्षेत्रीय सहयोग' शीर्षकमा पनि बहस हुनेछ । यस अन्तर्गत उच्च पर्वतीय भूभागलाई साना टापुराष्ट्रसँग जोड्दै जलवायु न्याय र महिला एवं युवाको त्यसमा भूमिकाको खोजी गरिने जनाइएको छ।

राष्ट्रिय संवादमा एउटा छुट्टै पूर्ण अन्तक्र्रियाको समेत आयोजना गरिनेछ । जसमा '१.५ डिग्री सेल्सियस तापक्रमको महìवाकाङ्क्षा हिमालका लागि तत्काल कार्ययोजना र मानव जातिकोे भविष्यका लागि मार्ग निर्देशन' सम्बन्धी विषयमा बहस गरिने तय भएको सचिवालयका सञ्चार संयोजक किरण चापागाईंले बताउनुभयो।

उहाँका अनुसार राष्ट्रिय संवादमा सबै मन्त्रालयका मन्त्री, सचिव, सांसद, विभिन्न क्षेत्रका विज्ञ समुदाय, पर्वतीय तथा पर्यटनको क्षेत्रमा काम गर्ने निकायका पदाधिकारी, अनुसन्धानकर्मी, संरक्षणकर्मी र अभियन्ताको बृहत् सहभागिता रहनेछ । त्यस्तै प्रदेशबाट समेत वातावरण संरक्षण हेर्ने मन्त्रालय, योजना आयोग तथा प्रदेश सभाका सम्बन्धित समितिका सभापतिलाई समेत आमन्त्रण गरिएको छ । करिब तीन सयको हाराहारीमा अतिथि राष्ट्रिय संवादमा सहभागी हुनुहुने जनाइएको छ। गत वैशाख २ को मन्त्रिपरिषद्ले नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवाद सुरु गर्ने निर्णय गरेको थियो । जस अनुसार राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषय एवं मुद्दामा हरेक दुई वर्षमा संवाद गरिनेछ।

जानकारी तथा लेखहरु