फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मास्क उत्पादन गर्ने नेपालमा दुई उद्योग मात्रै

(GMT+08:00) 2020-02-13 18:46:55
नेपाली बजारमा 'एयर–फिल्टर मास्क' को माग बढ्दो छ। चीनको उहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्कको माग बढेको सरोकारवाला बताउँछन्। भाइरसको प्रकोपकै कारण दुई सातायता मास्क आयात हुन सकेको छैन। बजारमा मास्क पाइँदैन पनि। अहिले नेपालमा दुई उद्योगले मात्र मास्क उत्पादन गरिरहेका छन्। तिनले यहाँको माग भने धान्न सकेका छैनन्। त्यसैले आयातकै भर पर्नुपरेको उद्योगीहरूले बताएको कान्तिपुर अनलाइनले लेखेको छ।

काठमाडौंको बौद्धमा नवीन श्रेष्ठले हालै पेपर मास्क उद्योग सञ्चालनमा ल्याउनु भएको छ। उहाँको उद्योगले दैनिक २ हजारदेखि ३ हजार थान मास्क उत्पादन गर्छ। अर्का उद्योगी खडानन्द पाण्डेले रूपन्देही बुटवलमा दुई वर्षदेखि कपडाको कटन मास्क बनाइरहनु भएको छ। उहाँको उद्योगले अहिले दैनिक आठ सय थान मास्क उत्पादन गर्छ।

'हामीले उद्योग सञ्चालनमा ल्याएको धेरै भएको छैन, हातले चलाउने मेसिन हो, दिनमा ३ हजार थानभन्दा बढी उत्पादन गर्न सक्दैनौं,' उद्योगी श्रेष्ठले भन्नुभयो। २५ लाख रुपैयाँको लगानीमा उद्योग सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो। उहाँको उद्योगमा उत्पादन हुने मास्कको मूल्य ३ देखि ५ रुपैयाँ छ। आयातित पेपर मास्कको मूल्य भने १ रुपैयाँ ८० पैसादेखि ३ रुपैयाँसम्म पर्ने उहाँले जानकारी दिनुभयो।

प्रोत्साहनको अभावमा स्वदेशी उद्योगको उत्पादन लागत बढी पर्दा महँगो हुन जाने उहाँको भनाइ छ। मास्कका लागि आवश्यक कच्चा पदार्थ (नाक र कानमा लगाइने लुप) आयातमा छुट दिनुपर्ने उहाँको भनाइ छ। त्यसो भए आयातितभन्दा स्वदेशी मास्क सस्तो पर्ने उहाँले बताउनुभयो। चीनबाट आयातित मास्क १५ प्रतिशतमा भन्सारबाट छुट्छ। कच्चा पदार्थमा भने ३५ प्रतिशत भन्सार महसुल लाग्ने उहाँको भनाइ छ।

चीनले एकैदिन करोडौं मास्क उत्पादन गरेर विश्व बजारमा पुर्‍याउँछ। चीनमा नयाँ वर्षको बिदाका कारण केही समय फ्याक्ट्री बन्द रहे, जसका कारण त्यहाँ पर्याप्त मास्क उत्पादन हुन सकेन। त्यसमाथि चीनमा नोवल कोरोना देखिएपछि नेपालमा समेत मास्कको माग बढेको उद्योगी पाण्डे बताउँछन्। 'हामीले कपडाको मास्क बनाउँदै छौं,' उहाँले भन्नुभयो, 'तर स्वदेशी मास्कको तुलनामा आयातित सस्तो पर्दा समस्या पर्छ।'

पाण्डे त्रिपुरेश्वरस्थित पामिर इन्टरनेसनलका सञ्चालक पनि हुनुहुन्छ। पामिरले चीनबाट सर्जिकलसम्बन्धी सामान आयात गरी नेपालमा होलसेल व्यापार गर्छ। 'स्वाइनफ्लुको प्रकोप देखिएपछि बजारमा पेपर मास्कको प्रयोग बढेको हो,' पाण्डेले भन्नुभयो, 'काठमाडौंको वायु प्रदूषणबाट जोगिन पनि मास्क लगाउनेहरू बढिरहेका छन्।'

बजारमा मास्कको माग बढेपछि खुद्रा व्यवसायीहरूले होलसेल मूल्यभन्दा तेब्बर मूल्य लिइरहेका छन्। होलसेलमा पेपर मास्कको मूल्य १ देखि ३ रुपैयाँसम्म पर्छ। तर फार्मेसी र बाहिर बजारमा प्रतिगोटा १० रुपैयाँमा बिक्री हुने गरेको छ। कोरोना भाइरसको डरले गर्दा मूल्य बढेको व्यवसायी बताउँछन्। एउटा डब्बामा पेपर मास्क ५० प्रति हुन्छ। यसको होलसेल बजारमै ५० रुपैयाँ बढेर आएको एक फार्मेसी सञ्चालकले बताए।

नेपाली बजारमा पुस ५ देखि १८ गतेसम्म मात्र ५१ लाख थान मास्क बजारबाट उठिसकेको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसनका अध्यक्ष सुरेश घिमिरेले बताउनुभयो। पुस ५ देखि २० सम्ममा ७ लाख ५९ हजार थान मात्र मास्क चीन र हङकङ निर्यात भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक छ।

वार्षिक सर्जिकल, पेपर र एन–९५ मास्क ६ करोड थान हाराहारीमा आयात भइरहेको एसोसिएसनका उपाध्यक्ष कविराज पोखरेलले जानकारी दिनुभयो। एक महिनामा एउटा ठूलो अस्पतालमा १०/१२ हजार थान नर्मल मास्क प्रयोग हुने एसोसिएसनका महासचिव विनोद मानन्धरले बताउनुभयो।

जानकारी तथा लेखहरु