फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण ८० प्रतिशत पूरा

(GMT+08:00) 2020-02-16 18:21:49

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकालगायत विभिन्न क्षेत्रमा हुँदै गरेको 'सेस्मिक सर्भे' को काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार अन्वेषणको क्रममा सेस्मिक सर्भेलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। सेस्मिक सर्भेबाट जमिनमुनि कुन क्षेत्रमा कति पेट्रलियम पदार्थको भण्डारण छ भन्ने पत्ता लाग्छ। कोटिलादेखि पादुकासम्मको क्षेत्रलाई आधार मानेर झन्डै ४ सय वर्गकिलोमिटर क्षेत्रमा सर्भेको काम भएको विभागले जनाएको छ। विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीका अनुसार अहिलेसम्म सर्भेको करिब ८० प्रतिशत काम सम्पन्न भएको कान्तिपुर अनलाइनले लेखेको छ। 'जुनसुकै अन्वेषण गर्दा पनि सेस्मिक सर्भेलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ,' उहाँले भन्नुभयो, 'यसको काम सकिएपछि थप अन्वेषण अगाडि बढाउन निकै सहज हुनेछ।

गत कात्तिकदेखि सुरु गरिएको अन्वेषणअन्तर्गत पूर्व–पश्चिम क्षेत्रमा तीन र उत्तर–दक्षिण दिशातर्फ सात गरी १० वटा लाइनमा सर्भेको काम भइरहेको छ। अहिलेसम्म सातवटा लाइनमा सर्भेको काम सकिएको विषेषज्ञ टोलीले जनाएको छ। सर्भेका लागि ३ महिनादेखि चिनियाँसहित नेपाली विशेषज्ञको टोली श्रीस्थान, नाभिस्थान, पादुकालगायत क्षेत्रमा खटिएको छ। बाँकी रहेका तीन लाइनमा फागुन दोस्रो सातासम्म सर्भेको काम सक्ने लक्ष्य रहेको अन्वेषण अधिकृत त्रिपाठीले जानकारी दिनुभयो। उहाँका अनुसार अन्वेषणअन्तर्गत पेट्रोलियम जियोलोजिकल, म्याग्नेट, टेल्युरिक, जिओकेमिकल, स्याम्पलिङलगायत सर्भेका काम हुनेछन्।

पूर्वी भागमा सेस्मिक सर्भेको काम सम्पन्न गर्न चिनियाँ प्राविधिक टोलीले दुल्लु नगरपालिका–८ मा क्याम्प स्थापना गरी अन्वेषणको काम गरिरहेको छ। १० वटै 'सेस्मिक' लाइनमा सर्भे सकिएपछि चिनियाँ प्राविधिक टोली फर्कने उहाँको भनाइ छ। उहाँका अनुसार सर्भेको काम सकिएपछि अन्वेषणबारे थप अध्ययन गर्न दुई वर्ष लाग्ने देखिएको छ। 'यो अध्ययनपछि तत्कालै चार किलोमिटर गहिराइसम्म मुख्य ड्रिलिङको काम सुरु हुनेछ,' उहाँले भन्नुभयो, 'अहिले चिनियाँ टोलीले संकलन गरेको स्रोत र चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको छ।'

टोलीका अनुसार दुल्लु र नारायण नगरपालिकासहित भैरवी, महाबुलगायत गाउँपालिका क्षेत्रलाई आधार मानेर १० सेस्मिक लाइनमा दुई सय किलोमिटर क्षेत्रमा अन्वेषण भइरहेको छ। जसका लागि चार सय वर्गकिलोमिटर भूभाग समेटिएको छ।

जानकारी तथा लेखहरु