फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाका कारण नेपाल वायु सेवा नगिमको क्वाङचौ उडान अनिश्चित

(GMT+08:00) 2020-02-16 18:24:26
नेपाल वायुसेवा निगमको न्यारोबडी ए३२०–२०० मार्फत आगामी मार्च १५ बाट काठमाडौं–क्वाङचौ उडानको तयारी गरेको निगमले नोवेल कोरोनाभाइरसका कारण उक्त उडान तालिका दुई महिनालाई स्थगित गरिएको जनाएको छ। निगमले चीन उडानको अनुमति पाएपनि कोरोनाभाइरसका कारण हाललाई उडान तालिका स्थगित गरिएको निगमका सह–प्रवक्ता अर्चना खड्काले बताउनु भएको नागरिक अनलाइनले लेखेको छ। 'व्यावसायिक उडानको लागि उचित गन्तव्यको रुपमा हेरिएको क्वाङचौ उड्ने तयारी केही महिनालाई स्थगित गरिएको छ,' उहाँले भन्नुभयो, 'उक्त गन्तव्यमा उडानको सम्पूर्ण अनुमति पाइसकेपनि भाइरसका कारण मार्च १५ बाटै उडान नुहने देखिएको हो।'महामारीको रुपमा लिइएको भाइरस नियन्त्रणमा आएपछि भने निगमले उडान सुरु गर्ने उहाँको भनाइ छ।

अहिले चीन सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाएका कारण पनि व्यावसायिक उडान सफल नहुने देखिएकोले हाललाई उडान तालिका प्रभावित बनेको सह–प्रवक्ता खड्काले बताउनुभयो। 'चीनबाट आउने पर्यटकको संख्यामा कमी नदेखिए पनि मध्यजनवरीदेखि नै चीनसँगको हवाई सञ्जालमा समस्या छ,' उहाँले भन्नुभयो, 'अन्य विदेशी विमान कम्पनीले पनि हाललाई भाइरसकै कारण चीनका कतिपय गन्तव्यमा उडान सेवा रोकेका छन। उस्तो अवस्थामा उडानसुरु गर्दा नेपालबाट चीन जाने यात्रु पाउन पनि मुस्किल हुन्छ।' सातामा तीन दिन उडान भर्ने गरी चिनियाँ सिभिल एभिएसनले निगमलाई स्वीकृति दिइसकेपनि त्यहाँको नियामक निकायले अहिलेकै अवस्थामा उडान भर्दा पूर्ण अकुपेन्सीमा उड्न समस्या हुने संकेत गरेको उहाँले बताउनुभयो। निगमको कार्यकारी समितिले उक्त गन्तव्यमा अब कहिलेबाट उडान भर्ने भन्ने निर्णय गर्न बाँकी रहेको उहाँले जानकारी गराउनुभयो।

चिनियाँ एभिएसनले निगमको प्राविधिक पक्ष र 'अपरेसनल म्यानुअल'बारे प्रश्न उठाएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बोधन गर्दै निगमले आफ्ना कागजात चिनियाँ पक्षलाई पठाएपछि मापदण्ड र स्वीकृति अनुसार निगमले ग्वान्जाओ उडानका लागि 'स्लट' पाएको थियो। सुरुमा चिनियाँ एभिएसनले निगमको सेफ्टी अडिट गर्नुपर्ने अडान राख्दै आएपनि पछि त्यसोनगरी उडानअनुमति दिएको निगम स्रोतको भनाइ छ। 'सुरुमा चिनियाँ नियामकले निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने अडान राख्दै आएको थियो,' नाम उल्लेख नगर्ने सर्तमा निगमका एक अधिकारीले भने, 'सेफ्टी अडिटकैलागि चिनियाँ प्राविधिक टोली नेपाल नआएपछि चीनमा भएको हवाई सम्झौताको बेला त्यहाँको उड्डयन विभाग र नेपाली अधिकारीबीच भएको छलफलबाट आवश्यक कागजात आदान–प्रदानमार्फत उडान सुरु गर्ने सम्झौता भएको थियो।

चीन उडान तत्कालका लागि स्थगित भएपनि जापानको नारिता उडान भने तोकिएकै समयमा उडान हुने जनाइएको छ। फागुन १९ गतेबाट नारिता उडानको तालिकामा भने कुनै परिवर्तन नभएको सह–प्रवक्ता खड्काले प्रस्ट पार्नुभयो। गत भदौ १२ देखि जापानको ओसाका उडान भर्दै आएको निगमले उक्त गन्तव्यबाट व्यावसायिक नाफा कमाउन नसकेको भन्दै नारिता उडानको तयारी गरेको हो। उक्त गन्तव्य विस्तारसँगै ओसाका उडान सेवा बन्द हुने जनाउँदै निगमले काठमाडौं–नारिता उडानमा इकोनोमी क्लासको दुईतर्फी न्यूनतम भाडा ८० हजार रुपैयाँ तथा बिजनेस क्लासको दुई लाख ६ हजार रुपैयाँ भाडासमेत सार्वजनिक गरिसकेको छ।

हाल नेपालबाट चीनका पाँच गन्तव्यमा उडान भर्दे आएको हिमालय एयरलाइन्सले पनि आफ्नो सेवा प्रभावित भएको जनाएको छ। कोरोनाभाइरसकै कारण बन्द गरिसकेको छ। हिमालयले चीनका ५ वटा गन्तव्यमा उडान भर्दै आएको थियो। कोरोनाभाइसरकै कारण नेपाली वायुसेवा प्रदायक मात्र नभएर विदेशी वायुसेवा कम्पनीले समेत चीनमा भइरहेका उडान कटौती गरेका छन्।

जानकारी तथा लेखहरु