फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको चालु आर्थिक वर्षमा निर्यात मात्रामा वृद्धि

(GMT+08:00) 2020-02-17 16:43:17
केही वर्षदेखि मुलुकले खर्बौं रुपैयाँको व्यापार घाटा बेहोरिरहेका बेला चालु आर्थिक वर्षमा भने निर्यात बढिरहेको छ। यो वर्ष निर्यातको वृद्धिदर पोहोरको तुलनामा दोब्बरभन्दा धेरै छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५७ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो वर्ष पोहोरको तुलनामा निर्यात २६.१ प्रतिशतले बढेको हो। गत वर्ष यो बेला निर्यात वृद्धिदर ११.५ प्रतिशत थियो।

नागरिकन्यूज डटकमका अनुसार निर्यात बढाउन योगदान गर्ने वस्तुमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधी, दाल लगायत वस्तु छन्। केही वस्तुको निर्यात घटेको छ। जस्तापाता, तार, तयारी पोसाक, जुस, तामाको तार लगायत वस्तुको निर्यात घटेको हो। निर्यात बढ्ने मात्र होइन यो वर्ष आयात पनि घटेकाले अघिल्ला वर्षको तुलनामा वैदेशिक व्यापारमा सुधार आएको छ। निर्यात बढेको र आयात घटेकाले व्यापार घाटा कम भएको हो। वस्तु आयात चार प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ छ। पोहोरको आयात ३०.५ प्रतिशतले बढेको थियो। पोहोरको तुलनामा ५७ अर्ब रुपैयाँ कम व्यापार भएको छ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट हुने आयात ९.१ प्रतिशतले घटेको छ। चीन तथा अन्य मुलुकबाट आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा कच्चा पाम तेल, हट रोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरण लगायत वस्तुको आयात बढेको छ। एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायत वस्तुको आयात घटेको छ। व्यापार घाटा ६.१ प्रतिशतले घटेको छ। पोहोर सोही अवधिमा ६ खर्ब ३७ अर्ब ४१ करोडको व्यापार भएको थियो। गत वर्षको सोही अवधिमा व्यापार घाटा ३२.० प्रतिशतले वृद्धि भएको थियो। यो अवधिमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.३ प्रतिशत थियो।

मुलुकको अर्थतन्त्र रेमिटेन्सले धानिएको छ। हरेक वर्ष रेमिटेन्स आप्रवाह वृद्धि हुँदै आए पनि यो वर्ष ०.९ प्रतिशतले मात्र वृद्धि भएको छ। ६ महिनामा चार खर्ब ४७ अर्ब २६ करोड रेमिटेन्स आएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो। पोहोर मलेसियालगायत मुलुकमा काम गर्न जानेको संख्या घटेकाले त्यसको असर अहिले देखिएको हो। यो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने संख्या १७.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा ३७.३ प्रतिशतले घटेको थियो।

चालु खाता घाटा घटेको छ। पोहोर एक खर्ब ५२ अर्ब १६ करोड रहेको चालु खाता घाटा घटेर ८४ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ। गत वर्ष घाटामा रहेको शोधनान्तर स्थिति अहिले बचतमा छ। ६ महिनामा २६ अर्ब ६५ करोड रुपैयाँ बचत छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा थियो। बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति एक खर्ब १९ अर्ब ३१ करोडले बचत छ।

जानकारी तथा लेखहरु