फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं चक्रपथ विस्तार गरिँदै

(GMT+08:00) 2020-02-21 16:30:37
चक्रपथको कलङ्कीदेखि धोबीखोला (गोपीकृष्ण हल अगाडि) सम्मको सडक विस्तारका लागि आगामी महिनासम्ममा 'साइट' खाली गराउने गरी काम अघि बढिरहेको छ । यस खण्डमा अहिले सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको गोरखापत्र अनलाइनमा समाचार छ।

सडक विस्तारका लागि झण्डै दुई हजार १०० रुख कटान भइसकेका छन् । बाफलमा रहेको सेनाको ब्यारेकको पर्खाल सार्ने काम भइरहेको छ । ब्यारेकभित्र रहेका रुख काटिने काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । यहाँ रहेका बिजुलीका पोल र खानेपानीका पाइप सार्ने काम अघि बढिरहेको आयोजनाका प्रमुख अमृतमणि रिमालले बताउनुभयो । खानेपानीका पाइप सार्नका लागि ठेक्का सम्झौता भइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "पाइप सार्नकै लागि हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई रु २५ करोड विनियोजन गरिसकेका छौँ ।" सडकको अधिकार क्षेत्रमा नै स्वयम्भु नजिकै चैत्य रहेकामा सार्नुपर्ने देखिएको प्रमुख रिमालले बताउनुभयो । सडकको केन्द्रबाट ३१ मिटर दायाँबायाँ अधिकार क्षेत्र रहेकामा सो चैत्य १७ दशमलव पाँच मिटर रहेको छ ।

चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलङ्की सडकखण्डमा भन्दा यो सडकमा संरचना कम छन्। महाराजगञ्ज क्षेत्रमा मात्रै झण्डै ४० घर सडकको अधिकार क्षेत्रमा रहेका प्रमुख रिमालले बताउनुभयो। त्यस क्षेत्रमा जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्ले काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई जिम्मेवारी दिएको छ।

कोटेश्वर–कलङ्की सडक विस्तार गरेको चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक विस्तार गर्ने भएको छ । चीन सरकारले नै यस सडकको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरिसकेको छ । पहिले साइट खाली गराएपछि नै चिनियाँ टोलीले काम शुरु गर्ने सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाउन लागिएको बताउनुभयो।

उहाँले भन्नुभयो, "विभिन्न निकायसँगको समन्वयमा सडकको क्षेत्र खाली गराउन लागिएको हो ।" कोटेश्वर–कलङ्की सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन।

सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यतिबेला समस्या निम्त्याएका कुरा पहिले सल्टाएर मात्रै काम शुरु गर्न चिनियाँ टोलीले चाहेको सडक विभागले जनाएको छ । विस्तार हुन लागेको सडकमा दुई 'अण्डर पास', प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ ।

जानकारी तथा लेखहरु