फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरसका कारण गौतम बुद्ध विमानस्थल निर्माणमा असर

(GMT+08:00) 2020-02-24 16:50:57

चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण भैरहवामा निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रभावित बनेको छ। द्रुत गतिमा अघि बढिरहेको आयोजना निर्माण अन्तिम चरणमा पुगे पनि एक महिनायता त्यति काम हुन सकेको छैन। चीनबाट आयोजनाका उपकरण र प्राविधिक जनशक्ति आउन नसकेका कान्तिपुर अनलाइनले लेखेको छ।

'चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर आयोजनालाई धेरै परेको छ,' निर्माणाधीन विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले भन्नुभयो। आयोजनाको मुख्य चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले टर्मिनल भवनमा जडान हुने ब्यागेज ह्यान्डलिङ सिस्टम (कन्भेयर बेल्ट) र धावनमार्गका लाइट ल्याउन सकेको छैन। यसले आयोजनास्थलमा गरिनुपर्ने प्राविधिक निर्माणतर्फका काम सुस्त गतिमा छन्। प्राविधिक पनि आयोजनास्थलमा न्यून संख्यामा मात्रै छन्।

यसअघि आयोजनास्थलमा विभिन्न उपकरण जडानका लागि चीनबाट प्राविधिकसहितको टोली आउने–जाने क्रम चलिरहेको थियो। टर्मिनल भवनभित्र चाहिने एयरकन्डिसन, एक्सरे, विमान उडानबारे यात्रुलाई सूचना दिने, टेलिफोन, इन्टरनेट, सीसीटीभी, आगलागी (वारुणयन्त्र) सम्बन्धी सूचना दिने उपकरण चिनियाँ ठेकेदार कम्पनीले आयोजनास्थलमा ल्याइसके पनि जनशक्तिको कमीले द्रुत गतिमा जडान हुन सकेको छैन।

आयोजनाका लागि चिनियाँ ठेकेदार कम्पनीका तर्फबाट ल्याइनुपर्ने उपकरण चीनको वुहान सहर नजिक छन, जुन सहर कोरोना भाइरसबाट बढी संक्रमित छ। ५०–५५ जना चिनियाँ प्राविधिक टोली आयोजनास्थलमा हुनुपर्नेमा मुस्किलले २० जना मात्रै छन्। चिनियाँ नयाँ वर्ष मनाउन डेढ महिनाअघि चीनतर्फ गएका आयोजनास्थलमा कार्यर्रत प्रायः चिनियाँ प्राविधिक फर्किएका छैनन्। उनीहरू आउनेबारे कुनै टुंगो छैन।

चिनियाँ ठेकेदार कम्पनीका तर्फबाट आयोजनास्थलमा गर्नुपर्ने मुख्य काममा टर्मिनल भवनमा विभिन्न उपकरण जडान र फिनिसिङसँग सम्बन्धित काम बाँकी रहेको आयोजनाले जनाएको छ। चिनियाँ ठेकेदारका तर्फबाट गर्नुपर्ने कामको भौतिक प्रगति ९० प्रतिशत हाराहारीमा छ। ब्यागेज ह्यान्डलिङ सिस्टम र रनवे लाइटका सबै उपकरण आएपछि पनि ब्यागेज ह्यान्डलिङ सिस्टम जडान गर्न १५–२० दिन र रनवे लाइट जडान गर्न एक महिनाभन्दा धेरै समय लाग्छ।

कोरोना भाइरसको संक्रमण नभएको भए यतिबेलासम्म ती उपकरण ७५ प्र्रतिशत आइसक्ने थिए। सबै उपकरण एकै पटक नल्याएर ठेकेदार कम्पनीले ससानो मात्रामा ल्याउँदै जडान गर्दै थियो। एकै पटक ल्याउँदा उत्पादन र सामुद्रिक जहाजबाट ढुवानीमा समस्या थियो। अर्डरअनुरूपका उपकरण उत्पादन र निर्माण कार्य सँगसँगै लैजान खोजिएको थियो। कतै आयोजना फेरि पनि निर्धारित समयमा सम्पन्न नहुने त होइन भन्ने शंका उब्जिएको छ। 'यति बेला सबैभन्दा बढी उपकरण जडान गरिनुपर्ने समय हो,' आयोजना प्रमुख अधिकारीले भन्नुभयो। डिसेम्बर २०१७ मा निर्माण सम्पन्न गर्ने भनिए पनि चौथो पटक म्याद थपेर ३१ मार्च २०२० मा सम्पन्न गर्ने पछिल्लो कार्यतालिका छ।

एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापनको उपकरणसम्बन्धी अन्तर्राष्ट्रिय बोलपत्र २ (आईसीपी टु) लाई पनि चीनमा फैलिएको कोरोना संक्रमणले अप्रत्यक्ष रूपमा प्रभाव पारेको छ। यसका लागि थाइल्यान्डको एरो थाई कम्पनीले ठेक्का लिएको हो। आईसीपी टुतर्फका आयोजना व्यवस्थापक प्रवीन न्यौपानले एरो थाई कम्पनीले गर्नुपर्ने कतिपय काम चिनियाँ ठेकेदार कम्पनीले पूरा गर्नुपर्ने भएकाले प्रभावित हुन लागेको बताउनुभयो।

'चिनियाँ ठेकेदार कम्पनीले काम फिनिसिङ नगरेसम्म हामीले केही गर्न सक्दैनौं,' न्यौपानेले भन्नुभयो, 'धमाधम काम गर्न पाए हुने हो तर वातावरण बनेको छैन।' चिनियाँ ठेकेदार कम्पनीले घर गएका आफ्ना प्राविधिक तथा कामदार फर्किन नपाएकाले सोचेअनुरूपको काम गर्न नसकिएको जनाउँदै पत्राचार गरिसकेको उहाँले जनाउनुभयो। 'एरो थाई कम्पनीलेल आफ्ना उपकरण ९० प्रतिशतभन्दा धेरै ल्याइसकेको छ,' न्यौपानेले भन्नुभयो।

जानकारी तथा लेखहरु