फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विराट एक्स्पोमा १ अर्ब बढीको कारोबार

(GMT+08:00) 2020-02-24 16:52:19
विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ शनिबारबाट समापन भएको छ। लक्ष्यअनुसारको १ अर्ब बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न भएको हो। गएको फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी शनिबारबाट समापन भएको हो। उद्योग संगठन मोरङको आयोजना र प्रदेश सरकारको प्रबद्र्धनमा आयोजित ९ दिने अन्तर्राष्ट्रिय प्रदर्शनीको अवधिमा लक्ष्यअनुसारको १ अर्बको कारोबार भएको आयोजकले जनाएको कारोबार अनलाइनले लेखेको छ।

एक्स्पोका संयोजक भोलेश्वर दुलालले प्रदर्शनी अवधिमा ३ लाख २५ हजार व्यक्तिले अवलोकन गरेको तथा १ अर्बको कारोबार भएको जानकारी गराउनुभयो। उहाँले ऐतिहासिक रूपमा एक्स्पो सम्पन्न भएको बताउँदै एक्स्पोको सफलताले आफूहरू हौस्सिएको बताउनुभयो। दुलालले आगामी दिन प्रदर्शनी स्थल निर्माण गरेर व्यापार मेलालाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। विराटनगर–२ स्थित शंकरपुरमा आयोजना गरिएको एक्स्पोमा ४ सय ६५ वटा स्टल राखिएका थिए।

जसमध्ये बंगलादेश, भारत, श्रीलंका, पाकिस्तान र भुटानका ४५ वटा स्टलहरू थिए। एक्स्पोमा राखिएका सबै स्टलहरूमा सोचेभन्दा राम्रो व्यापार भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनुभयो। उहाँले अपेक्षाभन्दा राम्रो व्यापार र उपलब्धि गर्दै यसपटकको एक्स्पो ऐतिहासिक रूपमा सम्पन्न भएको बताउनुभयो। एक्स्पोका कारण उपभोक्ता उद्योगी र व्यापारी एकैठाउँ जुट्ने अवसर प्राप्त भएको पूर्वाञ्चल ल्युब आयलका कन्ट्री म्यानेजर पशुपति साहले बताउनुभयो। उहाँले बेलाबखत व्यापार मेलालाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो। एक्स्पो आयोजनामा २ करोड बढीको खर्च भएको आयोजक समितिले जनाएको छ। प्रदर्शनीमा अन्तर्राष्ट्रिय उद्योगका उत्पादनका साथै मेचीदेखि महाकालीसम्मका नेपाली उद्योगहरूले आफ्ना उत्पादन प्रबद्र्धन र बिक्रीका लागि ल्याएका थिए। एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न विक्रेताहरूले नगददेखि विभिन्न उपहारको व्यवस्था गरेका थिए। एक्स्पोमा ग्याँस चुल्हो, किचन तथा ठूला होटल र पार्टी प्यालेसले प्रयोग गर्ने वस्तुहरूमा पनि प्याकेजअनुसार अफर दिएको थियो। एक्स्पोमा लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तुमा पनि विभिन्न अफर र छुटको व्यवस्था गरिएको थियो।

एक्स्पोमा नेपाली उद्योगी तथा व्यापारीले मात्रै नभई विदेशबाट आएका व्यापारीले समेत अफर लिएर आएका थिए। उनीहरूले हरेक वस्तुको खरिदमा १५ देखि ३० प्रतिशतसम्म छुट दिएका छन्। एक्स्पोको दैनिक २० हजार बढीले अवलोकन गर्ने गरेको आयोजक उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले बताउनुभयो। ३ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने उहाँको भनाइ छ।

बालबालिकाका लागि विभिन्न मनोरञ्जन रोटेपिङ, मौतका कुवाका साथ सांगीतिक कार्यक्रम गरिएको छ। दैनिक स्थानीय र राष्ट्रिय कलाकारले मनोरञ्जन दिएका छन्। एक्स्पोको अर्को आकर्षण हेलिकप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै छन्। होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ। उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको थियो। हेलिकप्टरबाट पाथिभरा र हलेसी जानेहरू चाप थियो। एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, सप्तरीको पेडा, झापाको सुपारीका टपरी, इलामको ललिपप, भोजपुरको खुकुरीलगायतका आन्तरिक उत्पादन राखिएका थिए। एक्स्पोमा १ सय ५० किलोको अष्ट्रिज पनि राखिएको छ।

बालबालिकालाई लक्षित गरी विभिन्न आकृति समावेश गरिएको थियो।

जहाँ सेल्फी खिच्नेको भीड लाग्ने गरेको थियो। हेटौँडाबाट अष्ट्रिज लिएर आएका असीम अधिकारीले विराट एक्स्पोजतिको व्यवस्थित कतै नपाएको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, "हालसम्म ५० वटाभन्दा बढी यस्ता महोत्सवहरूमा गएँ। तर, यस्तो व्यवस्थित कतै पाइएन।" आयोजकबाट समेत राम्रो सहयोग पाएको घिमिरले बताउनुभयो। नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन ९ दिनसम्म चलेको थियो।

जानकारी तथा लेखहरु