फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सक्रिय हुँदै चिनियाँ औद्योगिक क्षेत्र

(GMT+08:00) 2020-02-25 16:34:36
आकस्मिक रूपमा देखापरेको कोरोना भाइरसका कारण शिथिल बनेको चिनियाँ औद्योगिक एवं व्यापारिक क्षेत्र होसियारीपूर्वक पुनः सक्रिय हुन थालेको छ। आन्तरिक एवं बाह्य व्यापारिक गतिविधि प्रभावित हुन थालेपछि एक महिना नपुग्दै चीनले पुनः निरन्तरता दिन थालेको हो। यसका लागि चिनियाँ उद्योगलाई स्वास्थ्य सुरक्षा प्राथमिकतामा राखी कार्यस्थललाई पूर्णतया भाइरसमुक्त बनाउनुपर्ने सर्त राखिएको कान्तिपुर अनलाइनले लेखेको छ।

चीनले सक्रिय रूपमा विभिन्न स्वदेशी, विदेशी उद्यम तथा संस्थाको उत्पादन पुनः सुरु गरिरहेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले बताउनुभयो। 'चीनले विदेशी उद्यमहरूको लगानी, उत्पादन र सञ्चालनमा भोगेका व्यावहारिक समस्या पनि समाधान गरिरहेको छ,' उहाँले भन्नुभयो। चिनियाँ अर्थव्यवस्थामा महामारीको प्रभाव अस्थायी प्रकृतिको भएको र विश्व आपूर्ति शृंखलामा असर पर्ने सोचेर चीनबाट विस्थापित हुन खोजेका विदेशी कम्पनी चीनमै यथावत् रहने उहाँले बताउनुभयो। यसअघि मंगलबार चीनको राज्य परिषद्को महामारी रोकथाम तथा नियन्त्रणसम्बन्धी पत्रकार सम्मेलनमा राष्ट्रिय स्वामित्वको सम्पत्ति अनुगमन तथा व्यवस्थापन आयोगले केन्द्रीय उद्योग व्यवसायहरूको मातहतका २० हजार वटा मुख्य उत्पादनमूलक उद्योग व्यवसायले काम सुरु गर्ने जानकारी दिएको छ। योसँगै चीनमा उत्पादन उद्योगको पुनः सुरु दर ८० प्रतिशतभन्दा बढी भएको छ। आयोगले रोकथाम तथा नियन्त्रणका पूर्वसर्तसहित उत्पादन पुनः सुरु गर्न निर्देशन दिएको पनि जनाएको छ। कोरोना संक्रमणसँगै चीनले आफ्नो अर्थतन्त्रलाई धरमर हुन नदिन महामारी नियन्त्रण र उद्योगहरूको पुनः सञ्चालनबीच सन्तुलन राख्ने बताएको छ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले हुबेईबाहेक देशका ३० प्रान्तस्तरीय क्षेत्रले उद्योगका काम तथा उत्पादन क्षमतालाई पुनः सुरु गरेका छन्। आयोग अधिकारी छन ताले भन्नुभयो, 'उत्पादन तथा कार्यालय पुनः सुरु गर्नुपूर्व नै भाइरस रोकथाम तथा नियन्त्रण संयन्त्रलाई चुस्त दुरुस्त राख्न अगाडि नै सूचित गरिएको छ।'

कोरोनाको कहरकै बीच चीन–युरोप मालबाहक रेल गत सोमबार नानछानबाट रसिया तथा बेलारुसका लागि छुट्यो। रेलमा लादिएका सामग्रीमा अटो पार्ट्स, मेकानिकल सामग्री, लत्ता कपडालगायत गरी पाँच मिलियन डलर बराबरका छन्। निर्यातका लागि हिँडेको चिनियाँ रेलवेका स्टाफको पहिला स्वास्थ्य परीक्षण गरिएको थियो। उनीहरू स्वस्थ रहेको पुष्टि भएपछि काममा खटाइएको थियो भने रेललाई पूर्णतया भाइरसमुक्त बनाएपछि मात्रै विदेशका लागि पठाइएको हो।

गत मंगलबार राति रेल चीनको सान्तोङ प्रान्तस्थित छिङ्ताउ तटवर्ती सहरबाट केन्द्र एसियाका लागि प्रस्थान गरेको छ। कोरोना महामारीपछि यसले एसियातिरको व्यापारिक गतिविधिलाई पुनः सुरु भएको संकेत गरेको छ। जापान, दक्षिण कोरिया र केन्द्रीय एसियाली मुलुक कजाकस्तान पुगेर रेलले सामग्री निर्यात गर्नेछ। चीनका प्रायः अटो कम्पनी यतिखेर मास्क उत्पादनमा सक्रिय छन्। कोरोना संक्रमणसँगै बजारको माग बुझेर उनीहरूले आफ्नो उत्पादन क्षमतालाई त्यसतर्फ मोडेका हुन्। चिनियाँ उद्योग तथा सूचनाप्रविधि मन्त्रालयका अनुसार दैनिक २० मिलियन मास्क उत्पादन भइरहेको छ। त्यसमध्ये २.२ मिलियन मास्क सर्जिकल प्रयोग तथा ६ लाख मास्क एन–९५ छन्। चिनियाँ वसन्त पर्वको बिदा अवधिमा मास्कको उत्पादन तथा सप्लाई रोकिएकाले अझै पनि चीनमा मास्कको अभाव छ। अटो मोबाइलमा प्रयोग हुने ध्वनि प्रतिरोधी उपकरण नै मास्क बनाउन प्रयोग हुने पोलिप्रोपिलेन फाइबरका लागि मिल्ने भएकाले कार उत्पादक कम्पनीलाई मास्क उत्पादक कम्पनीमा रूपान्तरण हुन समस्या छैन। चीनमा गत फेब्रुअरी २ देखि नै मास्क उत्पादनको क्षमता बढ्दै गएको छ। तर पनि अझै यसको माग बढ्दो छ।

चीनका मुख्य २२ प्रान्तको गत साताको तथ्यांकअनुसार बिजुली, ग्यास र पेट्रोलको आपूर्तिका साथै नागरिक उड्डयन, रेल तथा जलपरिवहन पुनः सुरु भइसकेका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने पोसाक उत्पादन पुनः सुरु दर ७७, खाद्यान्न उत्पादनको दर ९४.६ तथा कोइला खानी उद्योगको उत्पादन दर ५० प्रतिशत पुगेको छ। कोरोना भाइरसविरुद्ध सम्बन्धित उद्योग व्यवसायबाट सेवासुविधा प्राथमिकतासाथ उपलब्ध गराउने, भाइरस संक्रमणका कारण पृथकीकरणको नीतिबाट प्रभावित परिवहन व्यवसायलाई पुनः उकास्ने मध्यम र साना उद्योग व्यवसायका साथै निजी व्यवसायलाई वित्तीय समर्थन दिने कुरा चीनले प्राथमिकतामा राखेको जनाएको छ। वित्तीय प्रणालीको डिजिटल प्रवर्द्धन र वित्तीय अनलाइन सेवा तथा सञ्चालन क्षमता बलियो बनाउनुपर्नेमा चीनले जोड दिएको छ।

जानकारी तथा लेखहरु