फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान दिइने

(GMT+08:00) 2020-05-23 16:13:09

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान दिने भएको छ। कृषिको उत्पादन र उत्पादकत्व बढाएर कृषकको आयस्तर र जीवनस्तरमा सुधार ल्याउने उद्धेश्यका साथ गाउँपालिकाले कृषि ऋणको ब्याजमा अनुदान दिने निर्णय गरेको हो। निर्णय कार्यान्वयनका लागि गाउँ कार्यपालिकाको गत वैशाख २४ गते बसेको बैठकले कृषि ऋणको ब्याजमा पचास प्रतिशत अनुदान कार्यविधि पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताउनु भएको कारोबार अनलाइनले लेखेको छ। "पालिकामा व्यावसायिक रुपमा कृषि पेशामा संलग्न कृषक वा फर्मलाई अनुदानमा समेटिने छ" उहाँले भन्नुभयो, "खाद्यन्न बाली, तरकारी बाली, मसला बाली, फलफूल बाली, दुग्ध व्यवसाय, मौरीपालन, कुखुरा पालन, बाख्रा-भेडा पालन र कार्यपालिकाले निर्णय अन्य व्यवसायमा ब्याज अनुदान दिने कार्यविधिमा उल्लेख छ।" यसका लागि गाउँपालिकाले पालिकामा रहेको बैंकसँग कृषकलाई ऋण उपलब्ध गराउन सम्झौता गर्नेछ। बैंकले कृषकलाई उपलब्ध गराएको ऋणको व्याजको ५० प्रतिशत पालिकाले तिरीदिने भएको हो।

पालिकाको कृषि शाखाले सार्वजनिक सूचना जारी गरेर ऋणमा व्याज अनुदान चाहने किसानसँग आवेदन माग्ने छ। व्याजमा पाउने अनुदानका लागि कृषक लाभग्राही छनौट गर्न आर्थिक विकास समितिका संयोजकको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ। कार्यविधिको मापदण्डमा रहेर प्रक्रिया पूरा गरेका किसानले ऋणमा अनुदान पाउनेछन्। यस कार्यक्रमबाट पालिकाको सबै वडाका किसानलाई समेट्ने लक्ष्य छ।

गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम मार्फत व्याजमा अनुदान दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो। गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रममा हाल एक करोड रुपैयाँ बजेट छ। सो कार्यक्रममा वर्षेनी बजेट विनियोजन गर्ने पालिकाले जनाएको छ। किसानले अनुदान लिएपछि गरेका कामको अनुगमनका लागि वडा अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनाइने कार्यविधिमा उल्लेख छ।

 

जानकारी तथा लेखहरु