फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री नेपालमा

(GMT+08:00) 2020-05-28 18:40:28
सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं पुगेको छ । सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो।

चीनको क्वाङ्चौबाट स्वास्थ्य सामग्री लोड गरेर निगमको जहाजले काठमाडौं पुर्‍याएको हो । प्रवक्ता क्षेत्रीका अनुसार निगमको जहाजमा १४ हजार ८ सय २० केजी (करिब १६ टन) बराबरका विभिन्न स्वास्थ्य सामग्री लगिएका हुन्। सेनाले समग्रमा तेस्रो लट र जहाजबाट दोस्रो लटमा सामग्री ल्याएको कान्तिपुर अनलाइनले लेखेको छ।

सेनाले पहिलो लटमा स्थलमार्ग तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो।

बाँकी स्वास्थ्य सामग्री भने स्थलमार्गबाटै आउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो। सेनाले करिब दुई अर्ब २६ करोडमा चीनबाट ६७ थरी स्वास्थ्यसामग्री खरिद गरेको थियो । त्यसको तौल करिब २ सय ४३ टन रहेको छ। बाँकी सामग्री क्रमशः आइरहने पाण्डेले बताउनुभयो। उहाँका अनुसार केही सामग्री तातापानी नाकामा आएर भन्सार जाँचमा पनि रहेका छन्। ती सामग्रीहरुलाई काठमाडौं ल्याएपछि विमानस्थलको १४ बाहिनीको अड्डाभित्र रहेको राष्ट्रिय वेयरहाउसमा सुरक्षित गरी राखिने सेनाले जनाएको छ।

जानकारी तथा लेखहरु