फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा गणतन्त्र स्थापनाको १३औं वार्षिकोत्सव

(GMT+08:00) 2020-05-28 18:40:58
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन्। जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना नगरिएको अनलाइनखबरले लेखेको छ।

सरकारले विगतमा गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिने गर्दथ्यो । तर गत वर्षबाट गणतन्त्र दिवसको विदा कटौती गरिएको छ । गणतन्त्र दिवसको दिन नभई संविधान जारी भएको दिन असोज ३ गते सार्वजनिक विदा दिएर राष्ट्रिय उत्सवको रुपमा मनाउने निर्णय सरकारले गरेको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान गर्नुभएको छ । शुभकामना दिँदै राष्ट्रपति भण्डारीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। यस्तै शुभकामना सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र स्थापनाको छोटो समयको उपलब्धीबाट नेपाललाई विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु