फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ नक्सा बमोजिमको निशान छाप सच्याउन नेपालमा संशोधन विधेयक

(GMT+08:00) 2020-05-31 17:26:40
संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्नुभयो। लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची-३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो।

मन्त्रिपरिषद् बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो।

१४ जेठको संसद बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने उल्लेख थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भनेपछि र प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्छौं भनेपछि १४ जेठको अन्तिम कार्यसूचीबाट संविधान संशोधनको कार्यसूची झिकिएको थियो ।

अनलाइनखबरका अनुसार सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो। यसमा पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो।

जानकारी तथा लेखहरु