फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीका कारण विद्यालय तहका विद्यार्थीका लागि टेलिभिजन कक्षा

(GMT+08:00) 2020-06-14 15:23:13

विद्यालय तहका विद्यार्थीले असार १ गतेबाट टेलिभिजन कक्षामा सहभागी हुन पाउने भएका छन् । शिक्षा मन्त्रालयले कक्षा १ देखि १० सम्मको श्रव्यदृश्य पाठ प्रसारणको व्यवस्था मिलाएको हो। त्यसका लागि समय तालिका सार्वजनिक गरिसकिएको छ।

शिक्षा तथा मानव स्रोत केन्द्रका अनुसार नेपाल टेलिभिजनको 'एनटीभी प्लस' मा हरेक दिन कक्षा १ देखि ८ सम्मका पाठ प्रसारण हुनेछन्। सबै विषयका पाठ आलोपालो प्रसारण गर्ने व्यवस्था मिलाइएको केन्द्रका सूचना अधिकारी माधव दाहालले जानकारी दिनुभयो। कक्षा ९ र १० का पाठ डिसहोम, नेट टीभी र म्याक्स टीभीको विद्यालय शिक्षा च्यानलबाट प्रसारण हुनेछन्। केन्द्रले टेलिभिजनबाट सञ्चालित कक्षामा सम्बन्धित विद्यार्थीलाई सहभागी गराउन जनप्रतिनिधि, शिक्षक, अभिभावकलाई अपिलसमेत गरेको छ।

सरकारले वैकिल्पक विधिबाट असार १ देखि कक्षा सञ्चालन गर्ने घोषणा गरेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबारदेखि विद्यालयका प्रशासन पनि खुल्नेछन् र शिक्षकहरू विद्यालय जानेछन्। शिक्षा मन्त्रालयले वैकिल्पक सिकाइमा शिक्षकहरूलाई सहजीकरण गर्न निर्देशन दिएको छ। प्रिन्ट सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफलाइनका माध्यमबाट पठनपाठन गराउने जिम्मा स्थानीय तह, शिक्षक र अभिभावकको काँधमा आएको छ। करिब ३ सय स्थानीय तहले एफएम रेडियोबाट कक्षा सञ्चालन र विद्यार्थीको अभिलेख संकलन गर्न थालिसकेको कान्तिपुर अनलाइनले जनाएको छ।

यसैबीच शिक्षा मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकाले पनि यिनै निकायलाई जिम्मेवार बनाएको छ। निजी विद्यालयले आफ्नै सक्रियतामा अनलाइन कक्षामा जोड दिँदै आएका छन्। सामुदायिक विद्यालयमा वैकिल्पक कक्षा चलाउन स्थानीय सरकार र शिक्षकले भूमिका खेल्नुपर्ने शिक्षक महासंघका उपाध्यक्ष तिलक कुँवरले बताउनुभयो। देशभरका करिब ३ हजार सामुदायिक विद्यालयमा रहेका क्वारेन्टाइन हटाएर वैकल्पिक कक्षा सञ्चालनको वातावरण बनाउनुपर्ने उहाँको माग छ।

केन्द्रले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न आवश्यक सामग्री उत्पादनको काम गरिरहेको छ। कक्षा १ देखि १० सम्मका अनलाइन सामग्री केन्द्रको वेबसाइट र युट्युब च्यानलमा पनि राखिएको छ। क्वारेन्टाइन हटाए मात्र विद्यार्थीको तथ्यांक लिएर शिक्षकहरूले ती सामग्री प्रयोग गरेर पठनपाठन गराउन सक्ने महासंघका उपाध्यक्ष कुँवरले बताउनुभयो। अनलाइन, टेलिभिजन, रेडियोलगायत प्रविधिमा पहुँच भएका र नभएका विद्यार्थीको संख्या यकिन गरेर कक्षा सञ्चालन गर्न उपयुक्त हुने उहाँको सुझाव छ।

देशभर २७ हजार ७ सय ४ सामुदायिक विद्यालयमध्ये २५ जनाभन्दा कम विद्यार्थी संख्या भएका ३ हजार र १ सयभन्दा थोरै विद्यार्थी भएका १५ हजार विद्यालय छन्। यी विद्यालयमा सामाजिक दूरी कायम गरेर तत्काल नै पठनपाठन थाल्न सकिने सम्भावना रहेको केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले जानकारी दिनुभयो।

अधिकांश विद्यालयमा नयाँ पाठ्यपुस्तक पुगेको केन्द्रको दाबी छ । विद्यार्थीको अभिलेखीकरणसँगै विद्यार्थीलाई पुस्तक दिएर वैकल्पिक विधिबाट पढाउन शिक्षकले सहयोग गनुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन्।

जानकारी तथा लेखहरु