फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम ५९ प्रतिशत पूरा

(GMT+08:00) 2020-06-14 15:24:51

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम ५९ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको वित्तीय प्रगति भने ४५ प्रतिशत मात्रै छ । लकडाउनको अवधिमा एक दिन पनि काम नरोकिएको आयोजनामा यति बेला २ सय ५० चिनियाँ र एक सय नेपाली कामदारले दैनिक काम गरिरहेका छन्। टर्मिनल, टावर, अध्यागमन, भन्सार, ह्यांगर, कार्गो, प्रशासनिक, अग्नि नियन्त्रण, क्वारेन्टाइन, उद्धार कक्षलगायत १४ भवन बनिसकेका छन्। भवनमा उपकरण जडान, डेकोरेसन र फिनिसिङ (रङरोगनलगायत) काम हुँदै छ। नाला निर्माण र पानी निकासको संरचना पनि बनिसकेको छ। रनवे, ट्याक्सी वे, आन्तरिक र बाह्य एप्रोन पहिल्यै बनिसकेका थिए।

पछिल्लो समय सिमेन्टलगायत निर्माण सामग्री सहज ढुवानी भएकाले एक महिनाभित्र सबै ढलान सक्ने गरी काम भइरहेको विमानस्थल आयोजनाले जनाएको छ। तर चीनबाट ल्याउनुपर्ने ठूलो परिमाणको निर्माण सामग्री केरुङ नाका र भारतको कोलकातामा रोकिएकाले कामले तत्काल तीव्रता भने नपाउने भएको छ। कान्तिपुर अनलाइनका अनुसार पहिला चीनमा र पछिल्लो समय नेपालमा भएको लकडाउनका कारण समस्या आएको आयोजनाको भनाइ छ। यस विषयमा प्रधानमन्त्री कार्यालयमा पनि कुरा पुगिसकेकाले रोकिएका सामान आउने आयोजनाको विश्वास छ। उपकरण जडान, केबलिङ र लाइटिङको काम पनि भइरहेकोमा सामान रोकिएकाले हुन सकेको छैन।

मुख्य सडक १० दिनभित्र निर्माण भइसक्नेछ। पाइपलगायत केही सामान भने तातोपानी नाकाबाट ल्याएर काम गरिएको छ।

आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार सामान आएमा कामले अझै गति लिनेछ । तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सकेर नेपाल सरकारलाई बुझाउने भन्दै ठेकेदार कम्पनीले सोहीअनुसार काममा तीव्रता दिएको थियो। तर कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण कामको गतिमा कमी आएको हो ।

कामदारको संख्या बढाउने र क्वारेन्टाइन बनाएर राख्ने योजना थियो । साथै आरडीटी, पीसीआर परीक्षणसमेत गर्ने, यसको खर्च ठेकेदारले नै तिर्ने भने पनि सरकारी अस्पतालले नभ्याउने र निजीमा गरिएकाले मान्यता नपाउने अवस्थाले रोकिएको उनले बताए ।

विमानस्थल १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने ठेकेदार कम्पनीसँगको सम्झौता छ । तर ६ महिनाअघि नै सक्ने योजनासाथ काम भइरहेको थियो । अब रोकिएका सामान आए भनेअनुसार नै काम सकिने इन्जिनियर सञ्जीव खड्काले बताउनुभयो। चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल बन्दै छ। ०७४ साउन १८ मा विमानस्थल निर्माण सुरु भएको थियो। ऋणमध्ये ७५ प्रतिशत बैंकको २ प्रतिशत ब्याज र २५ प्रतिशत चीन सरकारको निब्र्याजी हो। विमानस्थलमा १ सय ९२ देखि २ सयसम्म यात्रु बोक्ने मझौला खालका जहाजले अवतरण र उडान गर्नेछन् । पोखराबाट बेइजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सीधा उडान हुनेछन् ।

जानकारी तथा लेखहरु