फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ नक्सा अनुमोदनसँगै नेपालको क्षेत्रफल बृद्धि हुने

(GMT+08:00) 2020-06-15 16:41:50

जेठ पहिलो साता सार्वजनिक गरिएको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल अनुमान गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटरभन्दा अझै बढ्ने विज्ञहरूले जनाएका छन्। अहिले भन्ने गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किमि सरकारको आधिकारिक तथ्यांक नभएको भन्दै नापी विभागका उच्च प्राविधिकहरू नयाँ क्षेत्रफल यकिन गर्न लागिरहेका नागरिक अनलाइनले लेखेको छ।

संविधानको अनुसूची ३ मा राखिएको नक्सालाई आधार मानेर हिसाब गर्दा नेपालको क्षेत्रफल अब पहिलेभन्दा अझै बढ्छ। तर कति बढ्छ भन्ने बारेमा नापी विभागले आन्तरिक र प्राविधिक अध्ययन गरिरहेको छ। भूमि व्यवस्था मन्त्रालयले केही दिनअघि नापी विभागलाई चिठी लेखेर अद्यावधिक गरिएको नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल हिसाब गरी मन्त्रालयमा पठाउन निर्देशन गरेको छ।

मन्त्रालयको निर्देशनपछि यस विषयमा टुंगो लगाउन प्राविधिक र आन्तरिक अध्ययन भइरहेको विभागले जनाएको छ। 'सरकारले अद्यावधिक गरेको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल कति बढेको छ, सोको अध्ययन गरी, त्यसअनुसार हिसाब निकालेर पठाउन मन्त्रालयले नापी विभागलाई चिठी पठाएको छ,' भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले भन्नुभयो, 'एक लाख ४७ हजार पाँच सय १६ वर्ग किमि भन्ने गरिएको छ। यो सरकारको आधिकारिक तथ्यांक होइन।'

आधुनिक प्रविधिबाट अध्ययन गर्दा अद्यावधिक गरिएको नक्साअनुसार नेपालको क्षेत्रफल एक लाख ४७ हजार आठ सय वर्ग किमिभन्दा बढी हुने देखिन्छ। अद्यावधिक गरिएको नयाँ नक्साअनुसार कुल क्षेत्रफलको गणना गर्न मन्त्रालयबाट विभागमा चिठी आएको बताउँदै विभागका प्रवक्ता दामोदर ढकालले भन्नुभयो 'मन्त्रालयको निर्देशनअनुसार क्षेत्रफलको टुंगो लगाउन विभागले प्राविधिक तयारी र आन्तरिक गृहकार्य गरिरहेको छ।'

विभागका एक उच्च अधिकारी भन्छन्, 'आधुनिक प्रविधिबाट अध्ययन गर्दा अद्यावधिक गरिएको नक्साअनुसार नेपालको क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ वर्ग किमिभन्दा बढी हुने सम्भावना छ।' नेपालको क्षेत्रफल एक लाख ४७ हजार आठ सय वर्ग किमिसम्म पुग्ने ती उच्चअधिकारी दाबी गर्छन। उनी भन्छन्, 'अहिले यस्तो प्रविधि तयार भएको छ, अद्यावधिक गरिएको नक्साबाटै कुल क्षेत्रफलको हिसाब निकाल्न सकिन्छ।'

सीमाविद् तथा यस अभियानको अगुवाइ गरिरहेका बुद्धिनारायण श्रेष्ठले सरकारले नयाँ नक्सा अद्यावधिक गरेलगत्तै अद्यावधिक गरिएको नक्साअनुसार सरकारले बढेको आधिकारिक क्षेत्रफल बाहिर ल्याउनुपर्ने बताउनुभयो। 'अद्यावधिक गरिएको नक्साअनुसार सरकारले तत्काल नेपालको क्षेत्रफलको गणना गर्नुपर्छ र यसको आधिकारिक तथ्यांक बाहिर ल्याउनुपर्छ,' उहाँले भन्नुभयो। आफ्नो अध्ययनबाट नेपालको क्षेत्रफल तीन सय १० वर्ग किमि बढ्ने उहाँको अनुमान छ।

नयाँ नक्सा अद्यावधिक गर्नुअघि नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ वर्ग किमि रहेको मानिएको थियो। यो सन् १९८३ मा गरिएको मापन हो। क्यानडा सरकारको सहयोगमा एलआरएमपी (ल्यान्ड रिर्सोसेज म्यापिङ प्रोजेक्ट) ले सन् १९८३ मा गरेको मापनमा नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ रहेको रिपोर्ट बुझाएको थियो। यसलाई सरकारले नेपालको आधिकारिक क्षेत्रफल मान्दै आएको छ। सीमाविद् श्रेष्ठका अनुसार एलआरएमपिले सबैभन्दा पहिले आफ्नो रिपोर्ट नापी विभागलाई बुझायो। विभागले मन्त्रालय र मन्त्रालयले योजना आयोगलाई बुझायो। त्यसपछि योजना आयोगले केन्द्रीय तथ्यांक विभागलाई बुझायो। विभागले एलआरएमपिको रिपोर्टलाई आधिकारिक मान्दै आएको छ।

नापी विभागले लिपुलेक तथा लिम्पियाधुराको क्षेत्रफलको करिब तीन सय ३५ वर्ग किमि रहेको जनाएको छ। जसअनुसार नेपालको क्षेत्रफलमा लिपुलेक र लिम्पियाधुराको क्षेत्रफल जोड्दा एक लाख ४७ हजार पाँच सय १६ पुगेको अनुमान गरिएको हो। विभागकाअनुसार विभागका प्राविधिकहरूले स्केल, प्रोजेक्टसन सिस्टम र कोडिर्नेट सिस्टम मिलाएर नयाँ नक्सा तयार गरेका हुन्।

यो नक्सा प्रशासनिक हो। विभागकाअनुसार देशको नक्सा दुई किसिमबाट तयार हुन्छ। प्रशासनिक नक्सा र सीमा नक्सा। प्रशासनिक नक्सा तयार भएपछि सीमा नक्सा तयार गर्नुपर्ने हुन्छ। सीमा नक्सा तयार गर्न प्राविधिकहरू फिल्डमै जानुपर्छ। यसअघि २०३२ सालमा जारी गरिएको नेपालको नक्सामा लिम्पियाधुरा क्षेत्रको करिब तीन सय ३५ वर्ग किमि भूभाग समेटिएको थिएन।

जानकारी तथा लेखहरु