फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भित्रिने रेमिट्यान्स ४५ अर्बले घट्यो

(GMT+08:00) 2020-06-17 19:11:16

 चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्ममा नेपाल भित्रिने रेमिट्यान्स गत आर्थिक वर्षको वैशाखसम्मको तुलनामा ६.१ प्रतिशतले अर्थात् करिब ४५ अर्बले घटेको छ। गत आर्थिक वर्षको वैशाखसम्ममा ७ खर्ब २५ अर्ब ३० करोड रेमिट्यान्स नेपाल भित्रिएकोमा चालू आर्थिक वर्षको वैशाखसम्ममा जम्मा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँमात्र भित्रिएको नेपाल राष्ट्र बैकले जनाएको कारोबार अनलाइनले लेखेको छ। गत आर्थिक वर्षको वैशाखमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो। चालू आवको १० महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ। गत आवको सोही अवधिमा यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो।

कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्र नै संकटमा हुनुका साथै वैदेशिक रोजगारीमा गएका नेपाली स्वेदश फिर्ता हुने क्रम वढेपछि रेमिट्यान्स आप्रवाह पनि घटेको हो। राष्ट्र बैकका अनुसार चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्ममा उपभोक्ता मूल्यवृद्धि घटेको छ। सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन गरी आर्थिक गतिविधि ठप्प भएको वैशाख महिनाको उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशत रहेको हो। २०७६ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो। तर, गत आर्थिक वर्षको वैशाखको तुलनामा भने मूल्यवृद्धि बढेको केन्द्रीय बैंकले जनाएको छ। २०७७ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही महिनामा मुद्रास्फीति ५.२९ प्रतिशत रहेको थियो।

वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.६६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।

चालू आर्थिक वर्षको १० महिनासम्ममा आइपुग्दा मुलुकको शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड बचतमा रहेको छ। चालू आर्थिक वर्षको नौ महिना अर्थात चैतमा ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति वैशाखमा उच्च दरमा वढेको हो। आयातमा भएको नियन्त्रणका कारण शोधनान्तर बचत एक महिनामा नै ८४ अर्बभन्दा धेरैले वढेको हो। चालू आर्थिक वर्षको वैशाखसम्ममा चालू खाता घाटा १ खर्ब ५ अर्ब ७४ करोड रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब २१ अर्ब ७७ करोड रहेको थियो।

चालू आवको वैशाखसम्ममा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ। गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा चालू आवको वैशाखसम्ममा १ अर्ब १ करोडले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ।

यस्तै, २०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २०७७ वैशाख मसान्तमा १२३५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ वैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ। चालू आवको वैशाखसम्ममा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३२.८ प्रतिशत, ८९.७ प्रतिशत र ३१.२ प्रतिशत रहेका छन्। २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए।

जानकारी तथा लेखहरु