फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका चीनमा रोकिएका सामान ल्याउन प्रकृया सुरु

(GMT+08:00) 2020-06-19 16:02:19

कोरोना भाइरसका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका उपकरण तथा सामान चीनमा नै रोकिएपछि नेपालमा ल्याउन प्रकृया सुरु भएको छ। सामान नेपाल पठाउने तयारी हुँदा चीनमा कोरोना भाइरसको जोखिम बढेसँगै यातायात रोकिँदा सामान पनि रोकिएको थियो। तर अहिले चीनमा यातायात सहज भएसँगै त्यहाँबाट विभिन्न सामान तथा उपकरण नेपाल ल्याउने तयारी भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनु भएको कारोबार अनलाइनले लेखेको छ।

"पहिलो चरणमा यसै साता एक्सरे मेसिन र एअर कन्डिसनका उपकरण आउँछन्, ति उपकरण करिब १० कन्टेनर जति हुनेछन्, अहिले प्याकिंग गर्ने काम भइरहेको छ," आयोजना प्रमुख अधिकारीले भन्नुभयो। कम्पनीले जुन २० मा पठाउने भनेको छ, तर पनि हामीहरू यसै साताभित्र त्यहाँबाट सामान नेपाल पठाउने काम हुनेमा विस्वस्त छौ," उहाँले भन्नुभयो। ती सामानहरू बेइजिंगलगायतका स्थानबाट आउनेछन्। चीनमा कोरोना भाइरसका कारण जोखिम बढ्दै जाँदा त्यतिबेला आयात हुन सकेन भने चीनमा सहज हुँदा नेपालमा असहज भइरहेको थियो, त्यसैले उपकरण समयमा आउन सकेन।

स्थलमार्ग तातोपानी नाका हुँदै ति उपकरण आउने र भैरहवा आयोजना स्थलसम्म आउँदा कम्तिमा पनि ३ साताभित्र सामान आइपुग्नेछन्। कोरोना भाइरस संक्रमणबाट जोगिन सुरु भएको लकडाउनका कारण प्रभावित विमानस्थलको पूर्वाधारको काम त्यहाँ कार्यरत मजदुरलाई बाहिर आउजाउ गर्न नदिई कार्यक्षेत्रलाई नै क्वारेन्टाइन बनाई भइरहेको छ।

चीनबाट प्रथम चरणमा केही सामान आएपछि टर्मिनल बिल्डिंगमा एक्सरे मेसिन र एसी जडानलाई पूर्णता दिने काम हुनेछ भने दोस्रो चरणमा धावनमार्गको लाइट र ब्यागेज ह्यान्डेलिंग सिस्टमका बाँकी सामान ल्याउने तयारी भइरहेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो। "अहिलेसम्म भौतिक पूर्वाधारका काम ९०.५ प्रतिशत सम्पन्न भइसकेको र बाँकी मुख्य काम भनेको पेरिमिटर सडक निर्माण छ," आयोजना प्रमुख अधिकारीले भन्नुभयो। विमानस्थलमा अहिले भौतिक पूर्वाधारको काम अन्तिमतिर रहेको र बाँकी काम सम्पन्न विभिन्न उपकरण जडान भइसकेपछि हुने प्रकृतिका छन्। अब बाँकी काम भनेको केही पूर्वाधारका र आईसीबी २ अन्तर्गतका उपकरण जडान गर्ने रहेका छन्। आयोजनाको कार्यालय अहिले चीनलगायतका देशमा रहेका बाँकी उपकरण छिटोभन्दा छिटो ल्याउने प्रकृयामा लागेको अधिकारीले बताउनुभयो।

आईसीबी २ अन्तर्गतको काम थाईल्याण्डका एरोथाई कम्पनीको हो। यो कम्पनीले आवश्यक मुख्य सामग्री उपकरण कन्ट्रोल टावरको उपकरण, जहाज र ग्राउन्डबीचको समन्वय गर्ने उपकरणलगायतका प्रायः सबै सामान आइसकेको छ। आईसीबी २ का सामान अमेरिका अष्ट्रिया, थाइल्याण्ड, चीन, भारतलगायतबाट आएकोमा केहीमात्र बाँकी छन्। अहिले मुख्य समस्या भनेको भौतिक पूर्वाधार निर्माण र संरचनाभन्दा पनि आईसीबी २ अन्तर्गतका उपकरण जडानका लागि आवश्यक दक्ष प्राविधिकको हो। ती उपकरणमध्ये केही उपकरण जडानका लागि विदेशबाटै दक्ष प्राविधिक ल्याउनु पर्नेछ। तर अहिले कोरोना भाइरसको जोखिमका कारण विदेशबाट दक्ष प्राविधिक आउने सम्भावना छैन र अन्तर्राष्ट्रिय उडान पनि बन्दाबन्दीको अवस्थामा छ। त्यसैले विमानस्थल निर्माण सम्पन्नताका लागि अन्तर्राष्ट्रिय उडान सुरु भएर दक्ष प्राविधिक आउन जरुरी छ, आयोजना प्रमुखले भन्नुभयो।

कोरोना भाइरस जोखिम कम भई अन्तर्राष्ट्रिय उडान सुरु भएपछिको ६ महिनाभित्रमा सबै काम सम्पन्न भई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य हुनेछ। त्यसपछि परीक्षण उडान गर्न सकिने कार्यालयले जनाएको छ।

जानकारी तथा लेखहरु