फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राकृतिक चिकित्सा विधिबाट कोरोनाको उपचार गरिँदै

(GMT+08:00) 2020-06-19 16:05:06

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ। जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार शुरु गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ। हाल अस्पतालमा जिल्लाभरिका ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिनुभयो। "प्राकृतिक चिकित्सा विधिबाट ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेकोमा बिहीबार थप ३१ जना सङ्क्रमित ल्याएर उपचार शुरु गरिएको छ", पौडेलले भन्नुभयो।

स्वस्थ खानेकुरा खान दिएर छिटो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै सङ्क्रमितलाई स्वस्थ बनाउनका लागि प्राकृतिक उपचार विधिको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो। सङ्क्रमित व्यक्तिलाई मानसिकरुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी योग, मेडिटेसन गराएर उनीहरुलाई चाँडो सङ्क्रमणमुक्त बनाउने प्रयासमा आँफूहरू लागेको उहाँले बताउनुभयो। "प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिएकाले बिरामीमा जटिलता आएको छैन, सङ्क्रमित खराब अवस्थामा पुगेका छैनन्", उहाँले भन्नुभयो। खानाको बारेमा बुझाएपछि बिरामी आफैँले माछामासु खान मन नगरेका उल्लेख गर्दै सबैलाई सन्तुलित आहार प्रदान गरिएको निर्देशक डा पौडेलले बताउनुभयो।

अस्पताल आएका सङ्क्रमितका लागि कोदो तथा फापरको रोटी, फलफूल, भिजाएको गेँडागुडी, खजुरलगायत खाद्य वस्तु नियमित सेवन गराइएको उहाँको भनाइ छ। शक्ति प्रदायक भोजनले सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्न नदिने, छिटो सङ्क्रमणमुक्त बनाउने तथा समुदायमा फैलिनबाट रोकथाम गर्ने पौडेलले बताउनुभयो। कोरोना सङ्क्रमित व्यक्ति अस्पतालमा पुगेपछि प्राकृतिक उपचार पद्धतिका कारण विस्तारै निको हुँदै गएका उहाँको भनाइ छ।

अस्पतालले हाल १०० श्ययाको आइसोलेसन निर्माण गरेर कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ। जिल्लामा सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि बिहीबार क्षमता बढाएर १२० श्यया पु¥याइएको छ। प्राकृतिक चिकित्सालयमा कोरोना सङ्क्रमित बिरामीको उपचार गर्नका लागि ४५० श्यया निर्माण गर्नसक्ने क्षमता रहेको निर्देशक पौडेलले बताउनुभयो।

अस्पतालमा सघन उपचार कक्ष भने निर्माण गरिएको छैन। अस्पतालमा आएका सङ्क्रमित यहाँको आहारविहारका कारण स्वस्थ हुँदै गइरहेका तथा आर्थिक अभावका कारण सघन उपचार कक्ष निर्माणमा समस्या भएको पौडेलले बताउनुभयो। गम्भीर अवस्थाका बिरामीलाई चितवन तथा पोखरा पठाउने तयारी भए पनि हालसम्म एक जनाबाहेक अन्य बिरामीलाई अस्पतालले रिफर गरेको छैन।

हालकै अवस्थामा अस्पताललाई १०० भन्दा बढी सङ्क्रमितको उपचार गर्न कठिनाइ रहेको छ। चिकित्सालयमा भौतिक पूर्वाधार तयार अवस्थामा भए पनि सङ्क्रमित थपिएको अवस्थामा सिसीक्यामेरा, तरकारी राख्नका लागि डिफ्रिज, भर्‍याङलगायत पूर्वाधार आवश्यक रहेको निर्देशक डा पौडेलले बताउनुभयो। चिकित्सालयमा कोरोना अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट रु १० लाख तथा जिल्लाका आठवटै स्थानीय तहबाट रु ६० लाखमात्रै बजेट आएको पौडेलले बताउनुभयो।

सङ्क्रमित बढ्दै जाँदा थप बजेटको आवश्यकता पर्ने भन्दै डा पौडेलले आफूहरुले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा कुरा गरिरहेको बताउनुभयो। "सङ्क्रमितको उपचारका लागि सामाजिक विकासमन्त्री नरदेवी पुनले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ", उहाँले भन्नुभयो, "अस्पतालको निरीक्षणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीसमेत यहाँ आउने तयारी छ।"

हाल अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीसमेत १५ जना कार्यरत रहेका छन्। अस्पतालमा तीन जना चिकित्सक मध्यबिन्दु जिल्ला अस्पताल डण्डाबाट तथा दुई जना स्वास्थ्यकर्मी जिल्लाका स्थानीय तहबाट खटाइएको छ। अस्पताल सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आठ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

जानकारी तथा लेखहरु