फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतले अनुमति नदिँदा नेपाल आउने रासायनिक मल बीचमै रोकियो

(GMT+08:00) 2020-06-24 18:35:33
भारतले अनुमति नदिँदा नेपाल आउने करिब साढे २१ हजार टन रासायनिक मल भारतको गुजरात कान्डला बन्दरगाहमा अड्किएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले तेस्रो मुलुकबाट खरिद गरेर ल्याएको मल कोलकाता बन्दरगाहमा ठाउँ नभएपछि डाइभर्ट भएर गुजरातस्थित कान्डला बन्दरगाहमा पुगेको थियो।

सरकारले डेढ महिनाअघिदेखि मल ल्याउन भारतीय पक्षसँग अनुमति मागे पनि विभिन्न बहाना बनाएर ल्याउन दिएको छैन। समयमा मल नआउँदा बजारमा मल अभाव भएको छ। धान रोप्ने सिजनमा किसानले मल पाएका छैनन्।

परराष्ट्र मन्त्रालय, भारतस्थित नेपाली दूतावासमार्फत कुटनीतिक पहल गर्दा पनि मल ल्याउने प्रयास सफल हुन नसकेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ। निरन्तर कूटनीतिक पहल गर्दा पनि मल नछाडेको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जनाउनुभयो।

सरकारी अधिकारीको ढिलासुस्तीले समयमा मल खरिद नगर्दा बजारमा यसै पनि अभाव छ। त्यही बेला भारतले २१ हजार पाँच सय मल डेढ महिनाभन्दा बढी समयदेखि रोकेर राखेपछि आपूर्तिमा समस्या आएको हो। नेपालले कोलकाता बन्दरगाह प्रयोग गर्दै आएको छ। भारतले मल छाड्ने आश्वासन दिए पनि कार्यान्वयन नभएको कृषि तथा पशुपक्षी मन्त्रालयका उपसचिव शिरिष पुनले बताउनुभयो। सरकारी अधिकारीको गैरजिम्मेवारपनले नेपालमा बर्सेनि खेतीका सिजनमा मल अभाव हुने गरेको नागरिकन्यूज डटकममा खबर छ।

पोहोरको बजेट भाषणमा चालु आर्थिक वर्ष ०७६÷७७ का लागि रासायनिक मल खरिद गर्न सरकारले १० अर्ब बजेट विनियोजन गरिए पनि किसानले मल पाउन सकेका छैनन्। एक वर्षअघि नै रासायनिक मल किन्न बजेट सुनिश्चित हुँदा पनि मल नपाउनुलाई कतिपयले सरकारी अधिकारीबीचको कमिसन खेल पनि भनेका छन्।

कृषिविज्ञ डा. कृष्ण पौडेलले कमिसनको खेलले किसानले समयमा मल नपाउने गरेको टिप्पणी गर्नुभयो। यो वर्ष कोभिड–१९ को कारण भारतमा पनि लकडाउन भए पनि हरेक वर्ष मल अभावको समस्या दोहोरिने गरेको छ। एक वर्षअघि मलका लागि बजेट सुनिश्चित भएर पनि किसानले मल नपाउनु लापरवाही भएको नेपाल कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धब अधिकारीले बताउनुभयो।

अनुदानको रासायनिक मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्दै आएका छन्। कृषि सामग्रीले ७० प्रतिशत र कर्पोरेसनले ३० प्रतिशत बिक्री गर्छ। बर्खे सिजनमा धान, तरकारी, मकै, कोदोको लागि करिब ९० हजार मेट्रिक टन रासायनिक र ७० हजार टन डिएपी मल आवश्यक पर्छ। दुई कम्पनीले ठेक्का गरेको एक लाख २१ हजार टन मल समयमा नल्याउँदा बजारमा मलको अभाव भएको दाबी गरेका छन्। यो वर्ष चार लाख ५० हजार मेट्रिक टनमध्ये तीन लाख ४० हजार आइसकेको मन्त्रालयको दाबी छ। एक लाख १० हजार टन रासायनिक मल आउन बाँकी छ।

 

जानकारी तथा लेखहरु