फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विपदका घटना कम, मानवीय क्षति बढी

(GMT+08:00) 2020-07-02 19:04:47

नेपालमा मनसुन सुरु भएको १५ दिनभित्र विभिन्न प्राकृतिक विपत्तिमा परी ३१ जनाले ज्यान गुमाएका छन्। जसमध्ये सबैभन्दा धेरै पहिरोमा परी १८ जनाले ज्यान गुमाएका हुन्। त्यस्तै चट्याङबाट दश जनाले र सर्पदंशका कारण तीन जनाले ज्यान गुमाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपालमा मनसुन सुरु भएको जुन १० का दिन नै पर्वतको दुर्लुङमा पहिरो जाँदा दुई घरका नौ जनाको पहिरोले पुरेका कारण मृत्यु भएको थियो। त्यस गाउँको सात घर अझै पनि पहिरोको उच्च जोखिममा रहेका छन्। त्यस्तै असार आठ गते पाल्पाको सम्मोबारीमा पहिरो जाँदा चारजनाको मृत्यु भएको थियो। त्यस्तै विभिन्न स्थानमा घर बाहिर काम गरिरहेका अवस्थाका मानिसलाई चट्याङ लागेको जनाइएको छ।

यस वर्ष विपद्का घटना मनसुनका १५ दिनमा कम भए पनि मानवीय क्षति बढी भएको प्राधिकरणले जनाएको छ। विगत १५ दिनमा १४३ वटा विपदका घटना भएका छन्। जसमा ३१ को मृत्यु, ४८ घाइते र १६८ घरपरिवार प्रभावित बने। गत वर्ष यसै अवधिमा १५९ वटा विपदका घटना भएका थिए। जसका कारण १४ जनाको मृत्यु , दुइ जना बेपत्ता, ३८ जना घाइते र १८७ घरपरिवार प्रभावित बनेका थिए। यस वर्षको १५ दिनमा अनुमानित १२ करोड ६१ लख ३२ हजार २५० रुपियाँ बराबरको क्षति भएको छ। अघिल्लो वर्ष यसै अवधिमा १३ करोड २६ लाख ३१ हजार चार सय रुपियाँ बराबरको क्षति भएको थियो।

विगत दश वर्षमा मनसुनका १५ दिनमा पहिरोमा परी ९७ जनाको मृत्यु भएको थियो। त्यस्तै ८४ जनाको बाढीका कारण मृत्यु भएको थियो। मनसुनका १५ दिनको विश्लेषण गर्दै प्राधिकरणले दश वर्षमध्ये सबैभन्दा धेरै २०७० सालमा प्राकृतिक विपत्तिले मानिसको बढी ज्यान लिएको बताएकाे छ। सो वर्ष बाढीबाट ५२ जनाको र पहिरोबाट ३० जनाको मृत्यु भएको थियो। वि. सं. २०६९ र २०७२ सालमा भने बाढीले भन्दा पहिरोले धेरै मानिसको ज्यान लिएको थियो। वि. सं. २०६९ मा पाँच जनाको बाढीबाट र १५ जनाको पहिरोमा परी ज्यान गएको थियो। त्यस्तै २०७२ सालमा तीन जनाको बाढीबाट र १३ जनाको पहिरोका कारण ज्यान गएको थियो।

प्राधिकरणले क्षतिको न्यूनीकरण गर्न सरकारको तर्फबाट बलियो तयारी गरेको प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो। उहाँका अनुसार पर्वतको दुर्लुङमा गएको पहिरोका बारेमा समेत अध्ययन प्रतिवेदत तयार पारिएको छ। जसले भेल पहिरोबारे अध्ययन गरि थप घरपरिवारलाई जोगाउन कार्यदल गठन गरेर सुझाव सङ्कलनको तयारी भएको छ।

बाढीबाट जोगाउन पूर्वतयारी र पूर्वसूचनासँगै उद्धार र राहतका लागि भण्डारणसमेत सुरु भएको छ।

जानकारी तथा लेखहरु