फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीका कारण चीनमा रहेका १०५ जना नेपाली स्वदेश फिर्ता

(GMT+08:00) 2020-07-09 17:09:58
कोभिड-१९ महामारीका कारण चीनका विभिन्न स्थानमा रोकिएका नेपालीहरू बिहीबार नेपाल फर्किएका छन्। अध्ययनका सिलसिलामा चीनमा रहेका १०५ जना नेपाली विद्यार्थी र अन्य बिहीबार बिहान हिमालय एयरलाइन्सको उडानमार्फत् नेपालका लागि उडेका हुन्। अध्ययन सकिएको र भिसाको म्याद पनि सकिन लागेको अवस्थामा धेरै विद्यार्थीसहित केही नेपालीहरू आफ्नै खर्चमा स्वदेश फर्किएको कान्तिपुर अनलाइनमा खबर छ। अफ्ठ्यारो बेलामा पनि उडान हुन लागेकोले उत्साहित भएका विद्यार्थीहरू चर्को हवाई भाडाले भने निराश भएको बताउँछन्।

हालको हवाई भाडा महामारीअघिको दोहोरो टिकट काटेभन्दा पनि महँगो हो। बेइजिङस्थित फरेस्ट्री युनिभर्सिटीबाट ग्राजुएट भएकी लक्ष्मी धमलाले बाध्य भएर महँगो टिकट लिएको बताउनुभयो। बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुशील लम्सालले विद्यार्थीसहित १०५ जना नेपाली यस उडानबाट फर्किएको र अझै बाँकी १०० भन्दा बढी विद्यार्थीहरूको ग्राजुएसनको प्रतीक्षामा रहेको बताउनुभयो।

थ्येनचिनस्थित मेडिकल युनिभर्सिटीबाट अध्ययन पूरा गरेर फर्किन लागेका भरतपुरका शशांककुमार सिंहले हवाई भाडा सस्तो वा महँगो भन्दा पनि कोभिड-१९ को जटिल परिस्थितिमा उडान व्यवस्थापन हुनु नै ठूलो राहत भएको बताउनुभयो। महामारीका कारण पूर्ण क्षमतामा उडाउन नपाइने भएकाले एयरलाइन्सहरूलाई पनि यतिखेर दबाब छ। हिमालय एयरलाइन्स श्रोतले भन्यो, 'पहिलेको जस्तो अवस्था छैन। विभिन्न सावधानी अपनाएर 'फुल क्यापासिटी' उडाउन नपाइने अर्थात् ७५ प्रतिशत मात्रै यात्रु ओसार्न पाइने र सुरक्षा सतर्कतामा पनि खर्च हुने भएकाले एयरलाइन्सलाई पनि सहज छैन।'

नेपाल फर्किनका लागि नेपाली दूतावासले भर्न लगाएको फारममा दुई सय भन्दा बढीले विवरण टिपाएका थिए।

जानकारी तथा लेखहरु