फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डिसम्बरको तुवाँलो

(GMT+08:00) 2015-12-23 19:01:53

-अजय अलौकिक

बाहिर पुरै तुवाँलोले छोपेको छ। विदा छ तर बाहिर जान पनि नसकिने, प्रदुषित छ वातावरण। मङ्गलबार डिसम्बर आठ तारिखमा कम्तिमा छ वटा प्रान्त र नगरपालिका गरी करिब 8लाख 40हजारवर्ग किलोमिटर क्षेत्रफलको भूभाग प्रदुषणले ढाकेको थियो। यसैसँग पैचिङ्ग लगायतका शहर र प्रान्तहरूले विभिन्न स्तरको अलर्ट जारी गरेको थियो।

झ्यालबाट दुई हात परको समेत देख्ने स्थिती थिएन। हावा पनि फिटिक्कै चलेको थिएन। हावा मात्र चलेको भए पनि बिस्तारै प्रदुषण हटाउँथ्यो। तर के गर्ने साइबेरियाको चिसो वायु छैन बहेको, प्रदुषण कसरी हट्नु यस्तै भन्दाभन्दै दोस्रो दिनमै केही तुवाँलो कम भएको देखियो र तेस्रो दिनमा अचम्मै बनाइदियो। चीनको प्रयास देखेर विश्व नै चकित् भयो।

हालसम्म मेरो पैचिङ्ग बसाइको क्रममा कुनै कुराको डर या चिन्ता छ भने त्यो मुख्यतः वायु प्रदुषण नै हो। तर त्यसो पनि होइन, यहाँ वर्षको तीन सय पैसट्ठी दिनमा करिब सय डेढ सय दिन त आकाश खुलै हुन्छ अनि अर्को सय डेढ सय दिन केही हदको प्रदुषणले छोप्छ तर बाँकी पचास दिन र त्यसमा पनि बीस पच्चिस दिन भने भयानक नै हुन्छ। अनि वायु गुणस्तर मापनले पाँच सयभन्दा बढी नै नाघेको देखाउँछ। विश्व स्वास्थ्य सङ्गठनको वायु गुणस्तर मापन सूचकाङ्कको मानक स्तर पच्चीस रहेको छ। विश्व स्वास्थ्य संगठनको अनुसार प्रदुषणको कणको औसत सघनता जसलाई पीएम 2.5 भनिन्छ, यसको मात्रा हावामा 25 माइक्रोग्राम प्रति क्यूबिक मीटर या एक व्यासमा 2.5माइक्रोन भन्दा बढी हुनुहुँदैन। यो अति नै सूक्ष्म र घातक छ। यसको मात्रा 100 माइक्रोग्राम भए वातावरण प्रदूषित हुनेछ र 300 पुग्यो भने सबै प्राणीलाई निकै नै घातक हुन्छ। चीनको राष्ट्रिय मानक 35 माइक्रोग्राम छ र पचाससम्मलाई उत्तम मानेको छ। तर वर्षमा बीस पच्चिस दिन यस्तो हुने गर्दछ, विशेषत जाडो महिनामा वायु प्रदुषणले पैचिङ्गमात्र नभइ चीनका मुख्य शहरहरूलाई छोप्ने गरेको छ। नोभेम्बरको मध्यदेखि उत्तरपूर्वी भागमा हिटिङ्ग प्रणाली चालु हुन्छ जसमा कोइलाको प्रयोग तथा खपत बढ्छ र यसैसँग वायु प्रदुषित हुँदैजान्छ।

साथै विशाल चीनमा पछिल्लो समय देखिएको जल्दोबल्दो समस्यामा वायु प्रदुषण नै मुख्य देखिन्छ। चीनका अधिकाँश शहरहरूलाई यसले छोप्ने गरेको छ र जाडो याममा त अझै तूफानी हावा नबहुञ्जेल स्थीर भइ थिग्रीरहन्छ। यसले आममानिसलाई आफ्नो जीवनयापन सही ढङ्गबाट अपनाउन दिएको छैन या त आममानिसले आफ्नो जीवन सही ढङ्गबाट बिताएका छैनन्। तर यो सारा जनतासँगको सरोकारको विषय पनि हो। गर्भावस्थाको भ्रुण र नवजात शिशुदेखि असी नब्बे वर्षका वृद्धवृद्धासम्म र सबै प्राणीलाई नै यसले नराम्रोसित असर पारेको छ। सबैलाई समय अगावै कालको बाटोमा धकेलिरहेको छ, यस प्रदुषणले।

तर यो वायु प्रदुषणको कारण पनि मुख्यत आम मानिस नै हुन्। मानिसको भीड अनि मानिसको लापरवाहीले नै प्रदुषण बढ्दो छ। त्यस माथि शक्तिशाली राष्ट्रको होडबाजीले यो चरम बिन्दुमा पुगिसकेको छ जसको ज्वलन्त उदाहरण विश्वको उच्च शिखर सगरमाथामा हिँउ कम हुँदैगएको अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूको विभिन्न खोजले छर्लङ्ग पारेको छ। विश्वले के के गरे र गर्दैछन् र नेपाल जस्ता अति कम विकसित मुलुकले भोग्नुपरेको समस्या यथावत् नै छ। तर हिमालपारीको देश चीनमा र चीनका अधिकाँश शहरमा पनि वर्षमा एक सय पचास दिन जसो वायु प्रदुषित हुने गरेको छ। त्यसमा दश पन्ध्र दिन भन्दा बढी त विश्व स्वास्थ्य सङ्गठनको वायु गुणस्तर मापन सूचकाङ्कको मानक स्तरको बीस गुणा नै हुन्छ। सन् 2014मा चीनको वातावरण संरक्षण मन्त्रालयले राष्ट्रिय मापदण्डअनुसार मनिटर गरेका 74 वटा शहरमध्ये 66वटा वायु गुणस्तर मापदण्डमा असफल भएका थिए। यो भनेको चीनका झण्डै 90 प्रतिशत ठूला शहर प्रदुषित हुनु हो।

चीनले प्रदुषण न्युनिकरणका लागि सन् 2013मा पैचिङ्गलाई तीनतिरबाट घेरेको हबे प्रान्तमा मात्र कोइला प्रयोग हुने 8,000 वटा कारखाना बन्द गराएको थियो। पैचिङ्गले प्रदुषणबाट मुक्ति पाउनका लागि सन् 2013मा "प्रदुषणविरुद्ध युद्ध" एक सुधार कार्यक्रम अघि सारेको थियो।

तर सजिलैसँग छुट्कारा पाउन असम्भव छ। यसका बावजुद पनि चीनले आश्चर्यचकित् बनाएको छ, विश्वलाई। विशाल चीनले विश्वलाई ईतिहास, विविध प्रयोग र प्रयास, धेरै कुराबस्तु तथा अनेकन् घटना आदिले चकित् बनाउँदै आएको छ। त्यसमाथि वायु प्रदुषणले छ्याप्पै छोपेको बेला बाहिर हिँडडुल गर्ने अवस्था नभएको स्थितीमा समेत निलो आकाश दियो राजधानी पैचिङ्ग र पैचिङ्गबासीलाई।

नोभेम्बरदेखि नै सबैले गर्ने अनुमान र त्यसमाथि विज्ञहरूले पनि डिसेम्बरमा मात्र तीन पटक प्रदुषणको मात्रा निकै नै बढ्ने जुन बाहिर हिँडडुल गर्ने अवस्थासमेत नभएको र स्तर मापनमा पाँच सयबढी नाघ्ने र दुई तीनसम्म रहने बताएको थियो। डिसम्बर लाग्दानलाग्दै विश्वका प्रमुख सञ्चार माध्यमले पैचिङ्गको प्रदुषणको बारेमा खुबै प्रसार गरे पनि। नभन्दै डिसम्बर दुई तारिख पैचिङ्गलाई दुई हात परसम्मको नदेख्ने गरी छोप्यो। काममा जाने काममा जानैपर्‌यो। मास्क लगायो हिँड्यो। अहिले त विभिन्न थरिथरिका मास्क सहज रुपमा पाइन्छ तर दुई तीन वर्षअघि यस्तो थिएन। तर अझै पनि धेरै चिनियाँ बिना मास्क लगाएर नै हिँड्ने गरेको देखिन्छ। पहिलाको हिसाबमा त धेरै कम भएको छ। धेरै सचेत भएका छन् र साथै सरकारले पनि जनतालाई सतर्कता अपनाउन उद्घोष गरेको छ। सरकारले वायु प्रदुषित बनाउने खालका उपकरणको कम प्रयोग र साथै वातावरणलाई कम असर गर्ने खालका सरसाधन प्रयोग गर्नलाई पनि अपिल गरेको छ। हाइब्रीड तथा ई-गाडिलाई लिनसकिन्छ र त्यस बाहेक सरकारले आफ्नो तर्फबाट कदम त चालिरहेकै छ। तर त्यो डिसम्बर एकदेखि तीन तारिखसम्म त्यसरी नै बित्यो जसरी यस अघि बित्थ्यो। भनिन्छ नि रोममा रोमबासी झैं गर्नु तर त्यो पनि होइन अफिसबाहेक आवश्यक नभए कहिँ बाहिर नगइकन घरमै बस्ने यस्तै गरिन्छ।

तर सातदेखि नौ तारिखमा यस्तो भएन। डिसम्बर सात तारिख बिहान सात बजेदेखि नौ तारिख बिहिबार अपरान्ह बाह्र बजेसम्मलाई पैचिङ्गले रेड अलर्ट जारी गरेको थियो। सन् 2013मा वायु प्रदुषणका लागि आकस्मिक प्रतिक्रिया लागू भएपछि यो रेड अलर्ट पैचिङ्गले पहिलो पल्ट जारी गरेको थियो। यस किसिमको सतर्कताका लागि नीलो, पहेँलो, सुन्तला रङ्ग र रातो गरी चार स्तरको सङ्केत जारी गर्ने गरिन्छ, रातोले सबैभन्दा खतरा जनाउँछ। रातो अर्थात् रेड अलर्टसँगै बाहिर जानु सम्वेदनशील मात्र नभइ सबैलाई घातकसिद्ध हुन्छ। यसैलाई मध्यनजरमा राखेर पैचिङ्ग शिक्षा आयोगले तीन दिनका लागि प्राथमिक तथा माध्यामिक तहको विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। बाह्य गतिविधीसँग सम्बन्धित कामहरू स्थगित गरेता पनि सबै कामधाम बन्द गर्ने स्थिती भने थिएन। त्यसै गरी जोड बेजोड गाडि सञ्चालनका लागि सूचना जारी गरेबाट निजीबाहेक तीस प्रतिशतको हाराहारीमा सरकारी गाडि पनि सडकमा गुडेको थिएन। त्यसै गरी यस समयावधिका लागि 21हजार वटा उच्च वायु प्रदुषण गर्ने उद्योग तथा 35सय वटा निर्माण-स्थलहरू बन्द गराएको थियो। साथै पैचिङ्ग नगरपालिका वातावरणीय अनुगमन केन्द्रले भने बिहिबार मात्र चिसो हावाको बहावसँगै वायु प्रदुषण हट्ने जनाएको थियो।

यसरी कलकारखाना बन्द गर्ने तथा जोडबेजोड गाडि सञ्चालन यस अघि एपेक सम्मेलन या सैन्य परेडको बेलामा पनि गरिएको थियो।

यस प्रदुषणले मुटु तथा दम र श्वासप्रश्वाससम्बन्धी रोग, बालबच्चामा अक्युट लोवर रेस्पिरेटरी इन्फेक्सन अर्थात् गम्भीर अल्प श्वासप्रश्वास संक्रमण, फोक्सोसम्बन्धी रोग, मस्तिष्क र रक्तवाहिनीसम्बन्धी जस्तै रगतमा अक्सिजनको कमि हुनु, रक्तअल्पता र साथै क्यान्सरको खतरा बढाउँछ। पछिल्लो दशकमा चीनमा दमको रोगी पनि ह्वात्तै बढेको छ। सन् 2020सम्ममा वार्षिक रुपमा आठ लाख मानिस फोक्सोको क्यान्सरबाट ग्रसित हुने र वार्षिक सात लाख मानिस यस रोगका कारण मर्ने स्वास्थ्यविद्ले अनुमान गरेका छन्। सन् 2015मा करिब सात लाख चिनियाँमा फोक्सोको क्यान्सर भएको अनुमान गरिएको छ।

यस्तो प्राणघातक प्रदुषणबाट बच्न चीन सरकारले अग्रगामी भएर न्यूनीकरणका उपाय चाल्नु जरुरी त छ नै त्यस माथि पैचिङ्गमा तीन दिने रेड अलर्ट जारी गरेको त्रिपन्न घण्टामा नीलो स्वच्छ आकाश हेर्न पाइयो। यसरी नीलो स्वच्छ आकाश हेर्न र बाहिर खेल्नकुद्नसक्ने पनि बनाइदिनसक्ने पनि रहेछ। अद्भुत चीन। तुवाँलोले नराम्रोसित घेरेको अवस्थाबाटै अकस्मात रुपमा नीलो स्वच्छ आकाश देखियो। आम पैचिङ्गबासी लगायत विश्व नै चकित् भएको थियो। यहाँका सर्वसाधारणले भोगेर चकित् भए तर विश्व भने अचम्ममा नै परे। एक हप्ता अघि मात्र पनि वायु गुणस्तरको सूचकाङ्कले पाँच सय भन्दा माथि देखाएको थियो र विश्वका मिडिया सबैले यसलाई मुख्य विषय बनाए र पछिल्लो घटनामा विशाल चीनले एक कदम चाल्दै विश्वलाई चकित् बनायो।

साथै यो रेड अलर्टले वायु प्रदुषणको अवस्था अझै बिग्रनुबाट जोगाएको विज्ञहरूको भनाइ छ। यसबाट धेरैभन्दा धेरै जनता पनि सचेत हुनाका साथै आगामी दिनका लागि पनि सतर्कता अपनाउने छ।

------------------------------------------------

डिसम्बर सात तारिख जारी गरेको रेड अलर्ट पछि पैचिङ्गले फेरि पनि डिसम्बर उन्नाइस शनिबारदेखि बाईस मङ्गलबारसम्म रेड अलर्ट जारी गर्दै स्थानियबासीलाई घरबाट बाहिर ननिस्कन आग्रहका साथै विद्यालय, निर्माण तथा बाहिरी सम्पर्कमा रहने कार्य सबै बन्द गर्नुका साथै सवारीसाधनमा पनि जोडबेजोडको नियम लगाएको थियो। रेड अलर्ट जारीसँगै सबै कन्सट्रकस्न साइट बन्द गर्ने, जोडबेजोडका आधारमा निजी सवारीसाधन चलाउने त्यसैगरी सरकारी सवारीसाधनको प्रयोग तीस प्रतिशतले घटाउने नियम कार्यान्वयन गरिन्छ।

सर्वप्रथम खतराको सङ्केतसँगै नीलो अलर्ट जारी गरिन्छ यसमा खासै रोकटोक छैन तर पहेँलोसँगै विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ। पहेँलो अलर्टमा सबै भूसम्बन्धी निर्माण कार्य तथा भवन निर्माण र भत्काउने लगायतका काम स्थगित गर्नुपर्छ त्यसैगरी सुन्तला रङ्गसँगै भारी सवारीसाधनको सञ्चालनमा रोक तथा धेरै मात्रामा प्रदुषण फैलाउने उद्योग तथा फैक्ट्री जुन सरकारले पहिचान गरेको छ ती सबैमा काम स्थगित गर्नुपर्छ या गरिन्छ। अनि जब वायु गुणस्तर सूचकाङ्कले तीन या त्यो भन्दा बढी दिनसम्म दुई सय भन्दा माथिको रेटिङ्गको अनुमान गर्दछ तब रेड अलर्ट जारी गरिन्छ।

यसै रेड अलर्टसँगै पैचिङ्गमा एयर प्युरिफायर्सको माँग बढेको छ भने खेलकुदका पोशाक, खेल सामाग्रीका साथै अलर्टको अवधिमा कण्डमको बिक्री ह्वात्तै बढेको पनि समाचार बाहिर आएका छन्। त्यसैगरी ईन्टरनेट तथा भिडियो गेमका शौखिन चिनियाँहरूमा पछिल्लो समय क्यानाडाबाट आयातित ताजा हावाले भरिएका क्यानको माँग पनि शुरु भएको छ।

तर यसरी रेड अलर्ट जारी गर्दै विद्यालय तथा विभिन्न काम र सेवा बन्द गर्नु उचित भने छैन। तर छालादेखि श्वासप्रश्वासमा नराम्रो असर पार्ने यसबाट बच्न तत्कालै सहज उपाय अरु पनि छैन। यसरी विद्यालय बन्द गरेकोमा अभिभावकहरू चिन्तित पनि बनेका छन्। स्वास्थ्यको चिन्ता त्योसँगै होडबाजी र यसै होडबाजी र विकासमा अत्याधुनिकता थपेसँगै आएको यो असन्तुलनलाई हामीले पुनःनिर्माण गर्नुपर्छ, सन्तुलमा ल्याउनुपर्छ। विनाश रोक्नका लागि नविन धारणा जस्तै स्वच्छ ऊर्जा, विजुली लगायत तथा कार्बोन उत्सर्जकको खपत कम गर्दैजानु पर्छ। साथै पैचिङ्ग या चीनका विभिन्न शहर मात्र वायु प्रदुषित होइनन् विश्वका पचपन्न वटा शहरहरू यस्तै प्रदुषित छन्।

यसै क्रममा डिसम्बर 12 शनिबार पेरिस जलवायु सम्मेलन समापनसँगै करिब 200 वटा मुलुकले कार्बोन उत्सर्जन घटाउन तथा विश्व तापमान कम्तिमा पनि दुई डिग्रीले नबढाउने या सिमित पार्ने सम्बन्धमा सहमति जनाएका छन्।

विश्वमा सबैभन्दा कार्बोन उत्सर्जन गर्ने देश चीन हो र अबको पाँच वर्षमा पचास प्रतिशतभन्दा बढी कोइला प्लान्ट घटाउने र सन् 2030सम्ममा सम्पूर्ण कार्बोन उत्सर्जक हटाउने योजना चीनले बनाएको छ। योसँगै अलर्ट जारी गरेर चीन वायु प्रदुषणलाई लिएर पारदर्शी बनेको देखिन्छ। त्यसै गरी पैचिङ्गले सन् 2017सम्ममा पीएम 2.5 लाई बीस प्रतिशतले घटाउने र 22सम्ममा यसै वर्ष पैचिङ्गले हिँउदे ओलम्पिक पनि आयोजना गर्दैछ, 45 प्रतिशतसम्म घटाउने बचन दिएको छ।

यसरी सन् 2013मा स्थापित यस किसिमको प्रणाली हाल आएर एकै महिनामा दुई पटक रेड अलर्ट जारी गर्नु जनतालाई सचेत बनाउनुकासाथै सरकारको प्रदुषण न्युनिकरणमा हातेमालो गर्दै अघि बढ्नु भन्ने अर्थिन्छ।

जानकारी तथा लेखहरु