फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अनिदो रात/लोडसेडिङ्ग

(GMT+08:00) 2016-02-05 14:54:24

-अजय अलौकिक

मुझे नीद नआइको स्थिती भयो बा... के हो यस्तो। यस्तो त पिरेममा पर्यो भने हुन्छ भन्ने गीतहरूमा, साहित्यका हरफहरूमा अनि साथीभाइ गफ्फिँदा सुन्दैआएको हो। यो अचानक के भइगयो। मलाई पनि। होश यहीँ छ, मात्र निन्द्रा छैन। भोक त उत्तिनै खेर मेटिसक्यो। अन्यथा नलागोस्। पेटपूजा समयमै भइसक्यो। मज्जाले हिजोअस्ति जति हो त्यति नै खा हो। मैले पस्क्या भए तलमाथि होला भनुं तर सावित्रीले पस्केको थालीमा एक औंश पनि तलमाथि हुने कुरै भएन नि। कसो।

तर आँखामा छैन निन्द्रा। कतै एक्स्ट्राम्यारिटल अफेयर्स छ भनु भने पनि त्यो पीडित मनै हुँ, मलाई थाहा छ केहि न केहि। यो आँखाको बाटो, सडक गल्ली हुँदै मनभित्र कोही नवआगन्तुक पस्या नै छैन। यो देखादेख भएर लभ पर्नु त स्कुलैमा हो अनि मोडल र हिरोइनको तस्वीरसँग लबसब पर्ने उमेर पनि होइन। होइन साञ्चै के भएको हो। स्कुले ठिटो बेला त हो, यसो भनिन्छ नि वानसाइडेड लभ। यस्तो हुन्छ र निन्द्रा गायब, होश गायब। अहिले बुढेशकालमा। के को लभ। के को इन्फ्याच्युएसन। ए! बुढो त भएको छैन होइ, न तनले, मनले त हुँदैन भन्ने सुनेकै हो।

कति साह्रो हो। घडी रोक्या छैन होला त। कति बजेछ। सानो छँदा रमाइलो यार। राति बुवाको सिइको फाइभको रेडियम जलल बलेको हेर्न मजा हुन्थ्यो क्यारे। अँध्यारोमा त दामी हुन्थ्यो। ओहो। मध्यरात परेपछि मात्र शिरक ओढ्ने बानी परेको मलाई यसोउसो गर्दागर्दै दुई पो बज्नआंट्यो गाँठे। एक घण्टा त्रिपन्न मिनेट वेस्ट अफ टाइम भइसक्यो। उठेर बसुँ भोलि गएर गिर्नु छ। काममा फेरि झुकीझुकी सि नजर होला। अनि अर्को एक स्ट्रङ्ग कफि। यो लत ठीक छैन। हो... ल यै कफिले चोर्‌यारैछ निन्द्रा। आज..अब हिजो भन्नुपर्‌यो दुई कप खाइयो नि। त्यस्तो कुरा नगरौं काजी मसँग। हेर! मैले पहिला कफि ब्रेकफास्टमा पिउने गर्थे पछि कताको वैज्ञानिकले बिहान शरीरमै क्याफिन पैदा हुनेभएकोले यसको प्रयोग उचित छैन भन्ने पत्ता लगाए रे भन्ने समाचार पढियो त्यसपछि साँझ सारे। अनि साँझ पिउँदा निन्द्रा नलाग्नसक्ने बरू दिउँसो खाँदा शरीरलाई आवश्यक फूर्ति पुग्ने भन्ने सुनेदेखि सँधै फूर्तिलो भएर हिँडिराछु। मेरो दैनिकी हो। कफि मेरो निन्द्राचोर हुनैसक्दैन, माई लर्ड!

अहिले घरदेशमा हुँदो हो त निष्पट्ट कालो अँध्यारोमा आँखामा पनि लोडसेडिङ्ग हुँदो हो। खोइ के भनुँ। यहाँ पनि त सुत्नलाई काजीले सबै बत्ती निभाएकै हो नि। होइन र। विदेशमा झिलीमिलीमा बस्यो भन्दैमा आफ्नै मातृभूमिलाई गिज्याउने। पाप लाग्छ हो, पाप। हत्तेरी, कुरामा कुरा पो जोड्या त। लोडसेडिङ्ग भएपछि सबै ठप्प अनि आँखा पनि झप्प हुन्थ्यो होला भनेको। ल नो मोर डिस्कस अबाउट दिस्। तर निन्द्राचोर यही पो हो कि। त्यसै त भूकम्पले थेचारेको देशमा अघोषित नाकाबन्दीले कम्ता गरेन अझै त्यसमाथि हालको लोडसेडिङ्ग। यो पो सबैभन्दा पीडादायक छ। दिनभर केही घण्टामात्र आउनुहुन्छ रे, बत्ती महाशय। ग्याँस छैन, मट्टितेललगायतका छैनन्। आफ्नो सेन्टको कमाइ डलर बनेपछि हाइड्रोपावरमा लगानी गरुँला भन्ने सोच थियो अब त घरैमा पो सोलार जडान गर्नुपर्ने देखियो। अब आफैले गाउँघर बनाउ होइन। ‌सरकार हराएको सूचनासँगै आफैले आफ्नो घर बनाउ भन्ने बेला आएको छ। जे सुकै होस्। श्रवणकुमार। अब घरलाई झिलीमिली बनाइन्छ अनि आधुनिक श्रवण कुमार देखेर आमा-बुवा पनि पुलकित हुनुहुँदो हो।

के त घरदेशको चिन्ताले साह्रै गरेको हो त। एक्कासी निन्द्रा जलको धनी देशमा भएको लोडसेडिङ्गले नै त हो। ता पनि भोलि डक्टरसँग अपोइन्मेन्ट लिनुपर्ला। शरीरमा अरु नै केही भा हो की। स्कुले लबसब हो र अनिँदो बस्नलाई न त अबोध बालवस्था। भूतको कथा सुन्यो अनि रातभर सबै जाग्राम या त शिरकभित्र काच्याककुच्युक पर्ने भन्नखोज्या गुटुमुटु हो अन्यथा नलागोस्।

अनि आज के रैछ, औंशी कि पूर्णे।

-अजय अलौकिक

जानकारी तथा लेखहरु