फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गुलाफ सङ्ग्रहालय

(GMT+08:00) 2016-06-12 19:54:05

----अजय अलौकिक

बसन्तसँगसँगै पैचिङ्गमा जताततै गुलाफका फूलहरू देख्नसकिन्छ। फूल फक्रिने अवधि यही नै हो। पैचिङ्गको पार्क तथा उद्यानमा मात्रै होइन सडकको दुई किनार र मध्य भाग (ट्राफिक आईल्याण्ड)मा समेत विभिन्न थरीका रङ्गीचङ्गी फूलसँगै गुलाफको फूल पनि देख्नसकिन्छ। अब यी फूलहरूको रानी गुलाफको चहक अनि महक झनै बेग्लै भएको छ, पैचिङ्गमा। आर्थिक रुपमा पहिलो हुन दौडिरहेको चीन अनि आधुनिकता, शहरीकरण, महङ्गी र नवीनता, नवप्रविधी थप्ने र जोड्ने क्रममा अर्को एउटा थपिएको छ, त्यो हो विश्व कै एक मात्र "रोज थिम" गुलाफ सङ्ग्रहालय।

हुन त पैचिङ्गलाई सङ्ग्रहालयको शहर पनि भन्न सकिन्छ। एक त शहरको हजारौं वर्षको इतिहास त्यसमाथि विश्वकै सबैभन्दा ठूलो सङ्ग्रहालय र विविध किसिमका सयभन्दा धेरै सङ्ग्रहालय। हो, यसै शहरमा अर्को थपिएको छ, गुलाफ सङ्ग्रहालय। सोमबार मै तेइस तारिख यो सङ्ग्रहालयको भव्य उद्घाटन भएको हो। साथै सन् 2016 गुलाफ समाज क्षेत्रीय सम्मेलनका लागि विश्व महासँघको सम्मेलन पनि सँगसँगै शुरु भएको छ। जुन सम्मेलन मै तेइसदेखि जुन अठार तारिखसम्म चल्ने छ। जसकारण सङ्ग्रहालय र बगैँचासँगैको क्षेत्रमा फूल तथा बागवानी मेला लागेको छ।

यसै अवसर पारेर सीआरआईको विदेशी पत्रकार टोलीले जुन तीन तारिख पैचिङ्गको तासिङ्गमा अवस्थित गुलाफ सङ्ग्रहालयको अवलोकन भ्रमण गरेको थियो। सीआरआईको टोलीमा नेपालसहित दक्षिण एशियाली राष्ट्र भारत, पाकिस्तान, श्री लङ्का त्यसै गरी केही युरोपेली तथा अफ्रिकी देशका रेडियो सेवाका पत्रकारहरू थिए। हाल सडक र विभिन्न पार्कमा पनि विविध रङ्गीचङ्गी फूल फुलिरहेकाले त्यस सङ्ग्रहालयको भ्रमणअघि नै सबैमा उत्सुक्ता देखिएको थियो। त्यस परिसरमा पुगेपछि सर्वप्रथम गुलाफ सङ्ग्रहालयतर्फ लाग्यौं। तर कतिपय हतारिँदै छेउछाउका काला, सेता, राता विभिन्न रङ्गका गुलाफका फूलहरू नजिक सेल्फी लिँदै थिए। पाइलापिच्छे कहिले नसुनेका र नदेखेका गुलाफ फूलहरू देखिन्थ्यो वरिपरि।

आठ वटा प्रदर्शन कक्ष रहेको सङ्ग्रहालय पूर्ण रुपमा डिजिटाइज्ड थियो। त्यहाँ विभिन्न खेल खेल्नसकिने र खेलको माध्यमबाट फूल कसरी फुल्छ यस्ता किसिमका साना भाइबहिनीका लागि ज्ञानबर्द्धक खेलहरू पनि थियो। त्यसै गरी गुलाफ समाज क्षेत्रीय सम्मेलनका लागि विश्व महासँघसम्बन्धित् बस्तु तथा जानकारीहरू राखिएका थिए। त्यहाँ बताए अनुसार, यो विश्व कै एक मात्र "रोज थिम" सङ्ग्रहालयपछि हाम्रो टोली बगैँचाको बाटो हुँदै गुलाफ समाज क्षेत्रीय सम्मेलनका लागि विश्व महासँघको सम्मेलन र फूल तथा बागवानी मेला आयोजना भइरहेको स्थलमा पुग्यौं। त्यहाँको दृश्य झनै सुन्दर थियो। त्यहाँ फूलबाट बनाइएका पेय पदार्थ, सौन्दर्य प्रसाधनका सामाग्री तथा विभिन्न वनस्पतिहरूको स्टल र घर तथा कोठा सजाउने किसिमका विविध आकर्षक सामाग्रीहरू, कलाकृतिहरू राखिएका थिए। विभिन्न कलाकारका फूललगायतका बस्तुको ईन्सटलेशन आर्ट पनि थियो जुन निकै नै भव्य अनि सुन्दर थियो।

गुलाफ समाज क्षेत्रीय सम्मेलनका लागि विश्व महासँघको स्थापना सन् 1968मा बेलायतमा भएको थियो। बाह्र वटा सदस्य राष्ट्रबाट शुरु भएको यसको हाल 39 वटा सदस्य राष्ट्र छन्। प्रायशः तीन वर्षमा एक पटक हुने यस विश्व गुलाफ सम्मेलन हालसम्म सत्र पटक आयोजना गरिसकेको छ। पहिलो सम्मेलन सन् 1971मा न्यू जील्याण्डमा भएको थियो। बताए अनुसार, अब सन् 2018मा डेनमार्कमा आयोजना हुने छ। यस संघले सम्मेलनको क्रममा विभिन्न विधामा पुरस्कार दिँदै आइरहेको छ। साथै संघले नयाँ-नयाँ बिउ उत्पादन तथा वर्णशङ्करका लागि प्रोत्साहन दिँदैआएको छ। त्यसै गरी देश-देशबीच गुलाफसम्बन्धी आदानप्रदान गर्दैआएको छ।

बिहान साढे आठमा सीआरआईबाट हिँडेका हामी एक घण्टामा पैचिङ्गको दक्षिणमा रहेको तासिङ्ग जिल्लामा अवस्थित विश्वकै पहिलो "रोज थीम" सङ्ग्रहालय पुगेका थियौं। सो सङ्ग्रहालय र मेलास्थलको भ्रमणसँगै दिवा भोजनको समय भइसकेको थियो र त्यहाँ कल्चर एक्सेञ्ज सेन्टरमा भोजनपछि हामीले दोस्रो तल्लामा रहेको प्रेस फूल कलाको अवलोकन गर्‌यौं। स-साना भाइबहिनीदेखि प्रसिद्ध कलाकारका ती फूलपत्र कला निकै नै मोहक थियो नै र यसै फूलपत्रबाट बनाइएको गृष्म दरबारले मनै हर्न सफल भएको थियो। त्यस पछि हामीले त्यसै केन्द्रमा पाई स यूआन नामका सङ्ग्रहकर्ताका केही बहुमुल्य सङ्ग्रहहरूको पनि अवलोकन गर्न पायौं। पाई स यूआन चीनका प्रख्यात सङ्ग्रहकर्ता हुन् उनले प्राचीन पुरातात्विक बस्तुहरू जस्तै मूर्ति, चित्र, हस्तलिपी, साँस्कृतिक अवशेषहरू सङ्कलन गर्नुका साथै प्रदर्शनमा पनि राख्ने गरेका छन्। यहाँ पनि हालको गुलाफ सम्मेलन र विशिष्ट व्यक्तिका लागि मात्र प्रदर्शनमा राखिएको रहेछ। रेशम मार्गको अवधिका तथा बुद्ध धर्मसम्बन्धी सामाग्री र बुद्धलगायतका विविध मूर्तिहरू थिए। जुन दुर्लभ बस्तुका साथै बहुमुल्य थिए। ती सङ्ग्रहीत बस्तुहरूको अवलोकन यस यात्राको अर्को एउटा विशेषता रह्यो।

योजना अनुसार, साढे दुई बजे कार्यालय फर्किनु पर्ने भएकोले समयाभावका कारण त्यहाँका गुलाफसम्बन्धित् पैचिङ्गको स्थानिय गुलाफ बगैँचा, चिनियाँ गुलाफ बगैँचा, विश्व गुलाफ बगैँचा, रङ्गीबिरङ्गी गुलाफ बगैँचालगायतका धेरै बगैँचाहरूको अवलोकन हाम्रो टोलीले गर्न पाएन। तर यहाँ एकै पटकको यात्रा काफी छैन। यहाँ बसन्तको अवधिमा बारम्बार जानुपर्छ र अझै आफ्नो मनप्रियसँग जानु सार्थक हुने छ।

यहाँ भीड नियन्त्रणका लागि एक दिनमा मात्र दुई सय अवलोकनकर्तालाई प्रवेशको नियम बनाएको छ, उक्त सङ्ग्रहालयले। चाइना डेलीका अनुसार, सो सङ्ग्रहालय करिब चार सय हेक्टर क्षेत्रफलमा फैलिएको छ।

 

चिनियाँ गुलाफ, क्रसबेड गुलाफ प्रजातिहरू पैचिङ्गको सौन्दर्य हो। यस विश्वको पहिलो गुलाफ सङ्ग्रहालय तथा उद्यान परिसरमा हाल गुलाफ फूलका तेइस सय प्रजातिहरू प्रदर्शनमा राखिएका छन्। साञ्च्चिकैको र भर्च्य्ल गुलाफ गरी हजारौं गुलाफहरू हाल यहाँ फुलिरहेका छन्। गुलाफ समाज विश्व महासँघको क्षेत्रीय सम्मेलन पनि पैचिङ्गमा जारी रहेको अवस्थामा यस गुलाफ सङ्ग्रहालयको अवलोकन अझै सान्दर्भिक बनेको छ। (यी तस्वीरहरु सबै लेखक स्वयंले खिचेका हुन्।)      

जानकारी तथा लेखहरु