फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रमझम छ हाङ्गचौमा

(GMT+08:00) 2016-09-01 15:14:24

विश्वका बीस आर्थिक मुलुक समूहको एघारौ जी-20 सम्मेलन चीनको चच्याङ्ग प्रान्तस्थित हाङ्गचौ शहरमा आयोजना हुँदैछ। सेप्टेम्बर 4-5 तारिख हुने दुई दिने सम्मेलन चीनले पहिलो पटक आयोजना गर्न लागेको हो भने सी चिन फिङ्गले सन् 2012 मा राष्ट्राध्यक्षको पद सम्हालेपछिको दोश्रो ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हो। अमेरिका, बेलायत, रसिया, जापान, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेशिया, इटाली, मेक्सिको, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की र युरोपियन युनियनका शीर्षस्थ नेताहरुको जमघटप्रति विश्वको ध्यान एकपटक चीनतर्फ तानिएको छ। सन् 2008 मा विश्वभरी वित्तिय संकट उत्पन्न भएका बेला चिनियाँ ल्याकतले ठूलो ढाडस दिएको थियो। अहिले पनि विश्व समुदायमाथि वित्तिय संकटबाट उत्रिने गति सुस्त र विकास शैली असन्तुलित भएकोले चीनबाट विश्व अर्थतन्त्रका लागि चिनियाँ विशेषतायुक्त नयाँ प्रतिवद्धता अपेक्षित छ।

सम्मेलन आयोजनास्थल चच्याङ्ग प्रान्त चीनको याङ्गत्से नदीको दक्षिणी भागमा र पूर्वी चीन सागरको सिमामा अवस्थित छ। चीनको एउटा सानो प्रान्त भैकन पनि गत वर्षको जीडीपी 4.2886 ट्रिलियन थियो जुन पोल्याण्डको जीडीपी भन्दा 1.5 प्रतिशतले बढी हो। चच्याङ्गको पर्यटन आम्दानी सन् 2015 मा 713.9 बिलियन आरएमबी थियो जुन फिलिपिन्सको भन्दा 22 गुणाले बढी हो। गत वर्ष चच्याङ्गको आयात निर्यात् मात्रा 2.1566 ट्रिलियन आरएमबी पुगेको थियो जुन आयरल्याण्डको भन्दा 1.8 गुणाले बढी हो। चीनका हरेक प्रान्त आर्थिक तथा संरचनागत विकासका दिशामा होडबाजी गरिरहेका सन्दर्भमा चच्याङ्ग प्रान्तमा हुने जी बीस सम्मेलनले उसको आर्थिक स्तरोन्नतिमा केही आकर्षण अवस्य थप्नेछ। प्रान्तीय सदरमुकाम हाङ्गचौवासीको हार्दिकता, त्यहाँ रहेका ऐतिहासिक धरोहरहरु, विकास संरचनाहरु, हाङ्गचौप्रतिको विदेशीको दृष्टिकोणहरुमात्रै नभएर परम्परागत चिकित्सा पद्धतिको बढाइँचढाइँ समेत चिनियाँ संचारमा छताछुल्ल भएका छन्।  

सम्मेलनका विविध पाटाहरु

चीन कुनै पनि सम्मेलन आयोजना गर्नका लागि सुरक्षित, निकै भरपर्दो र आकर्षक मुलुकको रुपमा चित्रण हुँदै गएको परिप्रेक्ष्यमा यतिखेर जी बीस समूहको सम्मेलनका लागि हाङ्गचौ शहर झकिझकाउ भैरहेको छ। सम्मेलन त दुई दिनका लागि मात्रै हो तर हाङ्गचौले आम मानसमा छोड्नसक्ने छाप भने अमीट छ। किनभने कैयौं संरचना निर्माण र पुनर्निर्माण गरिएका छन् जसको दिगोपना आफैंमा एउटा धरोहर पनि हो। यो सानो प्रान्तलाई विश्व अर्थतन्त्र वा साहित्य कलामा महत्वपूर्ण स्थान राख्नेहरुको जन्म पनि दिएकाले महत्वका साथ चिनियाँले अघि सारेका छन्। त्यसका साथै एकपछि अर्को गर्दै तयारीका कार्यहरुले पूर्णता पाएका छन्। चीनले हाङ्गचौ शिखर सम्मेलनका क्रममा एकदमै तीव्रताका साथ अघि सारेको छ।

चच्याङ्ग आकर्पण पर्यटकीय स्थल– विश्व सम्पदा सूचीमा सूचीकृत वेष्ट लेक, सीथाङ्ग जलसहर, हजार-टापू लेकका साथै चीनले अन्य स्थानीय पर्यटकीय स्थलहरुलाई प्रस्तुत गरेर विश्वका पर्यटकलाई समेत निमन्त्रणा गरेको छ। त्यस्तै चीनका दश पवित्र बौद्ध मन्दिरमध्येको एक लिङ्गयिन टेम्पल, बौद्ध पहाड फूथ्वो माउन्टेन, विश्वका सर्वाधिक डरलाग्दा ज्वार निस्किने नदीमध्येको एक छियानथाङ्ग नदी, चीनको हलिवुड मानिने हङ्गत्यान वर्ल्ड स्टुडियो, सिलिङ्ग सिल आर्ट्स सोसाइटी, पाषाणकालीन उत्खननबाट निकालिएको ह मू तू साइट आदिलाई उजागर गरिएको छ। यसबाट विश्व समुदायमा चच्याङ्ग एक आकर्षक पर्यटकीय गन्तव्य हो भनेर सन्देश दिइएको छ।

अङ्ग्रेजी- बीस मुलुक समूहको सम्मेलन तयारीका लागि धमाधम अङ्ग्रेजीमा पोख्त स्वयंसेवकहरु तयार भैसकेका छन्। चिनियाँ जिब्रोमा अङ्ग्रेजीलाई उच्चारण गरिएका हाँसोलाग्दा किस्साहरु चिनियाँ सामाजिक सञ्जालमा निकै लोकप्रिय पनि भएका थिए। सम्मेलनको पूर्वसन्ध्यामा आइपुग्दा हाङ्गचौ सहर एउटा अङ्ग्रेजी मैत्री सहरका रुपमा रुपान्तरित भएको छ।

प्रचार अभियान-चीनमा राज्य नियन्त्रित मात्रै नभएर स्वतन्त्र सञ्चारमाध्यमहरु पनि मातृभूमिमा हुने सम्मेलनलाई सुझाव वा आम पाठक-श्रोता-दर्शकलाई जानकारी दिलाउ उत्तिकै खटिएका देखिन्छन्। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा दैनिकजसो विशेष कार्यक्रम गरेर अन्तर्राष्ट्रिय जगतमा पनि जानकारी दिने काम भैरहेको छ। त्यति मात्रै नभएर विश्वका सञ्चारमाध्यमहरु र विशेषज्ञहरुले गरेका हाङ्गचौ सम्मेलनप्रतिका आँकलन र टिप्पणीहरुलाई पनि गहनताका साथ लिइएको छ। त्यसका साथै सञ्चारमाध्यमहरुमा हाङ्गचौका पर्यटकीय प्राकृतिक दृश्यहरु, खाद्यपरिकारहरु, तालतलैया, चिया बगान, विदेशीको जीवनशैली आदि समेटिएका फोटो, चित्रकला, भिडियो आदि छ्यास्छ्यास्ती भएका छन्।  

चच्याङ्ग खाद्य परिकार-चच्याङ्गको खाद्य परिकार चीनका आठ प्रसिद्ध पाकशालामध्येको एक हो। अनेक खालका खाद्य परिकारका लागि विदेशी पाहुनालाई मौलिकताले भरिएको खाद्य परिकार चखाउन चच्याङ्ग प्रतिक्षारत छ। त्यति मात्रै नभएर चच्याङ्गमा रहेका विदेशीले त्यहाँका स्थानीय परिकार पकाएको र खाएको अनि व्याख्या गरेको विषय पनि चीनमा निकै ध्यानाकर्षक विषय भएको छ।

हाङ्गचौ पुनरुत्थान-कुनै पनि अन्तर्राष्ट्रिय सम्मेलन हुनुको अर्थ तत्स्थानको आमुल परिवर्तनको ढोका खुल्नु पनि हो। तत्कालीन सुङ्ग राजवंश (1127-1279) को अवधिमा बनेका पुराना घरहरुलाई पुनर्मर्मत गरेर आधुनिकता झल्काउने प्रयास गरिएको छ। प्राचीन कलात्मकतलाई कायम राखी आधुनिक समाजलाई इतिहास सम्झाउने तरीकाले निर्माणका गतिविधि गरिएका छन्। त्यसका साथै स्थानीयवासीका घरहरु, प्राचीन भावना बोकेका गल्लीचोकहरु, हाङ्गचौ विशेषतायुक्त स्थलहरुको पनि उत्तिकै जगेर्ना गर्ने हिसावले सजाइएको छ। संरचनात्मक सुधारले हाङ्गचौ आधुनिक सहरमा रुपान्तरण भएको छ।

चच्याङ्ग सँस्कृतिको प्रलोभन- चिनियाँहरुले कुनै कार्यक्रम आयोजना गर्दा परम्परागत कुरालाई अघि सार्ने गर्दछन्। पौराणिक प्रचलनहरु अहिले व्यवहारिक रुपमा प्रयोगमा नरहे पनि पर्यटकलाई आकर्षित गर्न नाटकीय रुपमा प्रस्तुत गर्ने गर्दछन्। चच्याङ्गमा अहिले युए ओपेरा, रेशमी छाता, परम्परागत हाइनिङ्ग छायाँ कठपुतली, परम्परागत विवाह समारोह आदि पनि मञ्चन गर्ने गरिएका अनेकन् गतिविधि देख्न सकिन्छ।

हाङ्गचौवासीको दैनिकी- हाङ्गचौवासीको दैनिकी आफूलाई परिवर्तन गर्न र अन्तर्राष्ट्रिय समाजका सामु आफूलाई स्मार्ट देखाउनमा केन्द्रित भएको छ। आफ्नो व्यक्तित्व र जीवनशैलीमा अझ स्तरीयता ल्याउने उनीहरुको ध्याउन्न देखिन्छ। त्यतिमात्रै हैन हाङ्गचौवासीहरु आफूलाई सभ्य शिष्ट नागरिकको रुपमा देखाउन लागिपरेका अनेकन उदाहरण देख्न सकिन्छ। सम्मेलनका लागि सबै एकमुख भएर सुरक्षा, सामाजिक निर्माण, गौरवको भावना फैलाउन उद्दत देखिन्छन्।

पाहुनाको स्वागत- पाहुनालाई न्यानो सत्कार दिने चिनियाँ परम्परालाई कायम राख्दै हाङ्गचौवासीहरु अहिले विश्व अर्थतन्त्रका हिमायतीहरुलाई स्वागत गर्ने पर्खाइमा छन्। बाटोघाटोमा आधुनिक शैलीका सिनेमा घर, पार्क बगैंचा, सेवा सुविधाहरु थपिएका छन्। त्यति मात्रै हैन, स्वतस्फूर्त रुपमा उनीहरुले सम्मेलनमा हुने विश्वका नेताहरुका चित्र वा मूर्तिहरु बनाएर अझ हार्दिक वातावरण सिर्जना गरेका छन्। स्वयंसेवकका रुपमा हाङ्गचौवासीहरु सक्रिय छन् र अतिथिहरुका स्वागतका लागि बाटोघाटोमा आकर्षक तुल टाङ्गिएका छन्। त्यस्तै रङ्गीन तरीकाका सार्वजनिक सवारी साधन पनि सहरमा गुडिरहेका छन्।

चच्याङ्गका ख्यातिप्राप्त अनुहार- जी बीस समूहको सम्मेलन त्यस्तो ठाउँमा आयोजना हुँदैछ जहाँ विश्व अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा राख्ने अलिबाबा कम्पनीदेखि लिएर साहित्य कलाका क्षेत्रमा दक्खल राख्ने व्यक्तित्वको उद्गम भएको छ। अलिबाबा समूहका सँस्थापक मा यून अर्थात् ज्याक माँ, किङ्ग अफ रकेट्री अर्थात् वैज्ञानिक छिआन सुएसन, आधुनिक चिनियाँ साहित्यका प्रवर्तक लु सुन, पश्चिमको यात्रा धार्मिक धारावाहिकका बाँदर राजा अर्थात् लिउ स्याउ लिङ्ग थोङ्ग, विश्वका दश भाषामा अनुदित कुङ्गफू उपन्यासका लेखक लौउस छा, लेनोभो बोर्डका सीईओ तथा अध्यक्ष याङ्ग युआनछिङ्ग, ओलम्पियनद्वय सुन याङ्ग र फू युआनहुइलाई जी बीस समूहको सम्मेलन आयोजना भूमिको आकर्षणका रुपमा देखाइएको छ।  

हाङ्गचौ शिखर सम्मेलनको नजिकिँदै गर्दा चच्याङ्ग प्रान्तको हाङ्गचौमा रंगको पर्व आए जस्तै भएको छ। हाङ्गचौका विविध आयामहरु उजागर हुँदै गएका छन्। विदेशीहरुसँगको सम्पर्कले सम्मेलन आयोजनाका लागि आवश्यक परामर्श पनि मिलेको छ। केही समयदेखि चिनियाँ मिडियामा हाङ्गचौमा बस्दै आएका विदेशीहरुका अनुभवहरु समेटेर श्रृङ्खलावद्ध सुझाव र विदेशी झुकावहरु पोखिने क्रम तीव्र छ।

 

जानकारी तथा लेखहरु