फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचको सम्बन्ध गाथा

(GMT+08:00) 2017-01-05 10:01:32

-अजय अलौकिक

नेपाल र चीनबीचको सम्बन्ध प्रागैतिहासिक कालदेखिको हो। यसको मुख्य आधार यी दुई मुलुक एक अर्काको छिमेकी पनि हुनु हो। त्यही छिमेकी सम्बन्धलाई मञ्जुश्री, भृकुटी, अरनिको, फा स्यान तथा स्वेन चाङलगायतका ऐतिहासिक विभूतिले असल छिमेकीको दर्जामा आजको पुस्तासम्म ल्याई पुर्‌याए। अनि त्यही सम्बन्धलाई सन् 1955 अगस्त 1मा पञ्चशील तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई आधार मान्दै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्दै आधुनिक युगको नेपाल-चीन सम्बन्ध सुरु भएको थियो।

आधुनिक युगको नेपाल-चीन सम्बन्ध स्थापनापछि नेपाली जनताको स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता रक्षाका लागि चीनले निरन्तर सहयोग गरिरहेको छ भने नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै आएको छ। साथै नेपाल र चीनबीचको मैत्री सम्बन्धको विशेषता भनेको दौत्यसम्बन्ध सुरु भएपश्चात छिमेकी मुलुक भइकनपनि सीमा विवाद, आन्तरिक मामिलामा हस्तक्षेप जस्ता कुनै गम्भीर समस्या उत्पन्न नहुनु पनि एक हो।

त्यस बाहेक विश्वकै सर्वशक्तिमान राष्ट्रको पङ्क्तिमा आफूलाई पहिलो स्थानमा उभ्याउन लागेको चीनले सानो मुलुक नेपाललाई आर्थिक, सामाजिक, धार्मिकदेखि सैन्य क्षेत्रमा समेत सहयोग गर्दै आएको छ। नेपालको सामाजिक एवम् आर्थिक विकासमा भरथेग गर्न वार्षिक रुपमा 15 करोड चिनियाँ युआन उपलब्ध गराउँदै आएको चीनले 80 करोड युआन पुर्‌याउनु तथा भूकम्पबाट तहसनहस भएका भौतिक संरचना पुनःनिर्माणका निम्ति वैदेशिक सहायता जुटाउन 'नेपालको पुनःनिर्माणका लागि अन्तरराष्ट्रिय सम्मेलनमा रू. 77 अर्ब 70 करोड अनुदान उपलब्ध गराउने घोषणा गर्नु नेपालप्रतिको सद्भाव हो। इतिहासदेखि वर्तमानसम्मको द्विपक्षीय सम्बन्धलाई विश्लेषण गर्दा दैवी विपत्ति होस् वा अन्य कारणले उत्पन्न कठिन परिस्थितिमा चीनबाट निरन्तर प्राप्त सहयोग एवम् सद्भाव तथा नेपाली जनताप्रति गरेको विश्वासले उसको छिमेकप्रतिको असल नियत र नीति स्पष्ट हुन्छ।

वि.स. 2071 सालको गोरखा भूकम्पपश्चात चीनले देखाएको तत्परता र सहयोग कुनै नेपालीले सजिलै बिर्सने छैन र अघोषित नाकाबन्दीको मारमा परेको अवस्थामा चीनले दिएको इन्धन सहयोग प्रति सारा नेपाली कृतज्ञ छन्। नेपाल सरकारले चीनसँग सहयोग मागेपछि चीनले नेपाललाई 1३ लाख लिटर इन्धन उपलब्ध गरायो। साथै त्यो सहयोगलाई हेरेर नै आज आमनेपाली चीनको प्रशंसा गरेर थाक्दैनन् र चीनसँगको सम्बन्धलाई हरसम्भव तरिकाले नयाँ आयाम दिन खोजिरहेका छन्। यसर्थ हिमालको वारिपारि रहेको दुई देशबीच भौगोलिक अवरोधहरु हटाउनु पर्ने आजको आवश्यक्ता बनिसकेको छ। करीब 1400 किलोमिटर सीमा जोडिएको उत्तरी छिमेकी चीनसँग पारवहन सम्झौता पनि भइसकेको अवस्थामा अब नाकाहरू खोल्दैजानु र मार्गलाई छिटोभन्दा छिटो जोड्नु नेपालको प्रमुख आवश्यक्ता हो।

आर्थिक र प्राविधिक रुपमा चीनले गरेको प्रगति र विश्वमा खेलेको भूमिकाका आधारमा पनि नेपालले सम्बन्ध विस्तारलाई अगाडि बढाउनु जरुरी छ। दुई देशलाई जोड्ने भनेको त्यस देशका जनताले हुन्। इतिहासदेखि आजसम्म दुई देशको सम्बन्धलाई कसैले अगाडि बढाएको छ भने त्यो जनता हुन्। त्यसकारण दुई देशवासीबीच सम्पर्क हुन जरूरी छ। त्यसका लागि एकअर्काको भाषा र सँस्कृति पनि बुझ्न र जान्न जरूरी छ। जब एक अर्काबीच सम्पर्क हुन्छ तब सम्बन्ध बन्छ र एक्लेअर्कोलाई बुझेपछि त्यो सम्बन्ध दीगो बन्छ। त्यस माथि चीनले नेपालमा जनस्तरमा चिनियाँ भाषा र सँस्कृति पुर्‌याउन सँघसंस्थाहरू खोलिरहेको छ भने अन्य छात्रवृत्तिबाहेक सन् 2015देखि वार्षिक रूपमा सय जनालाई चीनमा आएर चिनियाँ भाषा तथा सँस्कृति अध्ययनका लागि छात्रवृत्ति पनि दिइँदैआएको छ। यसर्थमा जनताको जनतासित जनस्तरमा पनि साँस्कृतिक सम्बन्ध विस्तार गर्ने पक्षमा चीन देखिएको छ। आपसी हितका आधारमा आर्थिक सहयोग बढाउन तत्परताका साथै चीनले नेपाललाई उच्च प्राथमिकता दिएर एक पेटी एक सडकको नीतिअन्तर्गत आपसी लगानीको सम्भावनासहित अनुरोध पनि गरिरहेको छ। साथै अन्य केही एशियाली मुलुकमा लगानी र सम्झौता पछि देखेको अन्योल र नेपालको पनि करिब त्यस्तै घटनाले हाल राजनीतिक सरोकारप्रति पनि ध्यान दिएको देखिन्छ र सम्झौता भएको भोलिपल्टै कसैले प्रश्न नउठाओस् भन्ने चाहेको सजिलै अड्कल लगाउनसकिन्छ। त्यस कारण नेपालले आफ्नो हीत हेर्नु जरूरी छ। अनि चीनको महत्वाकाँक्षी एक पेटी एक सडकको योजनामा सम्मिलित भएर नेपालले आफ्नो तर्फबाट सम्बन्धलाई थप मजबुद बनाउनु पर्छ।

साथै नेपालमा वैदेशिक लगानी गर्नेमा चीन अग्रपङ्क्तिमा छ। पछिल्लो समयमा चीनले व्यापार, लगानी, पूर्वाधार, कृषि, पर्यटन, विज्ञान तथा प्रविधि, ऊर्जा, क्षमता अभिवृद्धि र सुरक्षा तथा कानून कार्यान्वयनमा नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि जनाइसकेको छ। यसलाई शीघ्र कार्यान्वयन गर्नतर्फ नेपाल लाग्नसके समग्र नेपालीको उत्थानका साथै दुई देशबीचको सम्बन्धले नयाँ आयाम पाउनेछ। त्यसै गरी चिनियाँ पर्यटकको आकँडा पनि प्रत्येक वर्ष दोब्बर गतिमा बढ्दै छ।

यसैगरी नेपाल सरकारले पनि दुई देश बीचको सम्बन्धलाई विस्तार गर्न सन् 201६ जनवरीबाट निःशुल्क भिसा (प्रवेशाज्ञा) दिन सुरु गरेको छ। यसरी निःशुल्क प्रवेशाज्ञाले चिनियाँ पर्यटक बढ्ने मात्र नभई दुई देशबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ। त्यसबाहेक नेपालले चीनको छङतु (छेङदु), क्वानचौ (गोन्झाओ), खुन्मिङ (कुम्निङ)लगायतका शहरमा सम्पर्क कार्यालय वा वाणिज्य दूतावास खोल्नु आवश्यक छ। जसबाट जनस्तरमा नै नेपालप्रतिको चासो बढ्ने छ र दुई देशबीचको आदानप्रदान ह्वात्तै बढ्ने छ।

त्यसै गरी दुई देशबाट हुँदै आइरहेको उच्चस्तरीय भ्रमण र औपचारिक तथा अनौपचारिक भ्रमणले एकअर्काको देशप्रतिको चासो जनस्तरसम्म पुर्‌याउन सहयोग गर्दैआएको छ। पछिल्लो समयमा चिनियाँ राष्ट्राध्यक्षबाट नेपालको भ्रमण हुने/नहुने सम्बन्धमा धेरै नै हल्ला चलेपनि दुई पटकको भारत भ्रमण तथा अरु दक्षिण एशियाली मुलुकको भ्रमण गरेता पनि नेपालको भ्रमण नहुनु एउटा दुःखद पक्ष रहेको छ। नेपालले चिनियाँ राष्ट्राध्यक्षको चाँडोभन्दा चाँडो नेपाल भ्रमणको स्थिती बनाउनु पनि दुई देशबीचको सम्बन्धलाई नयाँ दिशा देखाउने ऐतिहासिक कदम हुनेछ।

नेपाल र चीनबीचको प्रागैतिहासिक कालदेखिको मितेरी सम्बन्धलाई आजको दिनमा भौगौलिक अवरोध हटाएर, भाषिक तथा साँस्कृतिक पक्षसँग जोडेर नयाँ आयाम र नयाँ उचाइमा स्थापित गराउनु आजको अपरिहार्यता हो।

जानकारी तथा लेखहरु