फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रदूषणविरुद्ध प्रहरी !

(GMT+08:00) 2017-01-25 10:14:25

बेइजिङका सबै कार्यालयमा कर्मचारीहरूलाई मास्क लगाउन चीन सरकारले उर्दी जारी गरेको छ। प्राय:जसो कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई नि:शुल्क मास्क वितरण पनि गरेका छन्। सुन्दै अचम्म लाग्ने 'मास्क लगाउन पनि सरकारले निर्देशन जारी गर्नुपर्ने !'

बेइजिङमा बढेको प्रदूषणबाट जोगिन स्थानीय सरकार बेइजिङ नगरपालिकाले त्यस्तो निर्देशन जारी गरेको हो। प्राय:जसो सरकारी कार्यालयभित्र हावा सुद्धीकरण गर्ने मेसिन राखिएका छन्। प्राथमिक विद्यालयहरूमा अनिवार्य रूपमा यस्तो मेसिन जडान गर्न भनिएको छ। त्यस्तो मेसिनले कोठाभित्र भएको हावाबाट पीएम 2.5 र पीएम 10 प्रदूषणलाई छानेर शुद्ध बनाउने गर्छ।

जाडो मौसमको सुरुसँगै बेइजिङलाई प्रदूषणको तुवाँलोले दिउँसै रात पारिदिन्छ। 20 मिटरको दूरीमा पनि कुनै कुरालाई देख्न सकिन्न। त्यही भएर अँध्यारो बेइजिङको दृश्य कैद गरिएको समाचारहरू विश्वका टेलिभिजनहरूमा देखिन्छन्।

बेइजिङको प्रदूषणले चीन सरकारको यति टाउको दुखायो कि केही नलागेर अब प्रदूषण नियन्त्रण गर्न बेइजिङ नगरपालिकाले छुट्टै प्रहरी फोर्स परिचालन गर्ने निर्णय गरेको छ। 'प्रदूषण नियन्त्रण शक्ति' नाम दिइएको प्रहरीले बेइजिङ सहरमा खुला ठाउँमा सेकुवा बनाउने कार्य, अव्यवस्थित फोहोरमैला, आवास तथा सहर र उद्योगधन्दाबाट निष्कासित पदार्थ जलाउने कार्य र सडकको धूलो नियन्त्रण गर्ने कार्याधिकार प्राप्त गरेको छ।

जाडो याम लागेसँगै बेइजिङमा नोभेम्बरदेखि मार्चसम्म पाँच महिनामा अत्यधिक प्रदूषण हुन्छ। यसको मुख्य कारण बेइजिङको केही हिटिङ सिस्टम (तातो बनाउने प्रणाली) कोइलाबाट सञ्चालन हुनु हो। सरकारले सहरी क्षेत्रका कोइला हिटिङ सिस्टमलाई डिजेलमा प्रतिस्थापन गरिसके पनि सहरबाहिरका काँठमा अझै पनि कोइलाका हिटिङ सिस्टमहरू छन्। बेइजिङ नगरपालिकाका प्रमुख छाइ छीले चालु वर्ष सन् 2017 मा कोइलाको प्रयोगलाई 30 प्रतिशतले कटौती गर्ने घोषणा गरेका छन्। यस हिसाबले लगभग 70 लाख टन कोइलाको प्रयोग कटौती हुनेछ। जाडो याममा हावाको चाप पनि कम हुने भएकाले प्रदूषणको तुवाँलो उड्न पाउँदैन। यसले पनि प्रदूषण बढाएको हो।

यो याममा बेइजिङको वायुको गुणस्तर सूचक 3 सयभन्दा माथि पुग्ने गर्छ। अन्य समयमा पनि सामान्यत: बेइजिङको वायुको गुणस्तर सूचक 1 सय 50 देखि 2 सयबीचमा रहन्छ। वायुको गुणस्तर सूचकअनुसार शून्यदेखि 50 सम्मलाई स्वच्छ मानिन्छ भने 51 देखि 100 सम्मलाई मध्यम। यो अवस्थामा वायुमा खासै प्रदूषण हुँदैन। 101 देखि 150 मा रहेको वायुको गुणस्तर सूचकलाई सामान्य प्रदूषण मानिन्छ। 151 देखि 200 सम्मलाई अस्वस्थ मानिन्छ जसले विशेष संवेदनशील समूह अर्थात् बालबच्चा र वृद्धवृद्धा तथा विशेष स्वास्थ्य समस्या भएका व्यक्तिलाई हानि पु‍र्‍याउँछ। 201 देखि 300 सम्मको वायुको गुणस्तर सूचकलाई अति अस्वस्थ मानिन्छ जसले जोसुकैको स्वास्थ्यमा प्रतिकूल असर पु‍र्‍याउँछ। अति प्रदूषित भएको बेला बेइजिङको हावाको गुणस्तर सूचक 5 सयभन्दा माथि पनि पुग्ने गर्छ। यस्तो अवस्थामा सरकारले खतराको संकेत 'रेड आर्लम' जारी गर्छ। खतराको सूचना जारी गरेको समयमा अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क लगाउन भनिएको हुन्छ। यो अवधिमा सार्वजनिक बिदा दिइएको हुन्छ। उद्योगधन्दाहरू अनिवार्य बन्द हुन्छन्। सडकमा सार्वजनिक यातायातका सीमित साधन मात्र गुड्छन्। यस्तो सूचना सन् 2015 र 2016 मा दुईपटक जारी गरिएको थियो। प्रदूषणको अर्को मुख्य कारक तत्त्व सवारीसाधन हो। सवारीसाधनले मात्र 30 प्रतिशतसम्म वातावरण प्रदूषण गराएको बेइजिङ वातावरण संरक्षण ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। प्रदूषण र ट्राफिक जामका कारण निजी कार किन्ने कुरामा नगरपालिकाले कडाइ गरेको छ भने अधिक प्रदूषण भएको बेला जोर र बिजोर नम्बर प्रणालीबाट सडकमा कार गुडाउने अनुमति दिइएको छ। सामान्य समयमा पनि पालोअनुसार हप्ताको एक दिन कार कुदाउन पाइन्न। चालु वर्ष सन् 2017 भित्र 3 लाख पुराना सवारीसाधनलाई बेइजिङमा प्रतिबन्ध लगाउने घोषणा गरिएको छ। सन् 2016 सम्ममा चीनमा 30 करोड सवारीसाधन छन् भने बेइजिङमा मात्र 54 लाख 80 हजार सवारीसाधन छन्।

कुनै बेलाको साइकलको सहर भनेर चिनिने बेइजिङमा अहिले खुट्टाले पाइडल हानेर चलाइने परम्परागत साइकललाई आधुनिक स्वचालित विद्युतीय साइकलले विस्थापित गरिदिएका छन्। ब्याट्रीबाट चल्ने त्यस्ता साइकलले फाल्ने लिडका कारणले पनि वातावरण थप प्रदूषित बनेको छ। बेइजिङको प्रदूषणको तेस्रो कारण उद्योगधन्दाहरू हुन्। प्रदूषणकै कारण सन् 2007 देखि बेइजिङबाट ठूला उद्योगधन्दाहरूलाई नजिकैको प्रान्त हपेईमा सार्न थालिएको छ। बेइजिङबाट विस्थापित उद्योगधन्दाकै कारण अहिले हपेई प्रान्त चीनकै सबैभन्दा प्रदूषित स्थल बनेको छ। बेइजिङलाई वरिपरिबाट घेरेको हपेई प्रान्त अत्यधिक प्रदूषित हुँदा त्यसको प्रभाव बेइजिङमा पनि परिरहेको छ। चालु वर्षभित्रै बेइजिङ नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने 5 सय उद्योगधन्दा बन्द गर्ने र 2 हजार 5 सय 60 वटा उद्योगलाई स्तरोन्नति गरी प्रदूषण नियन्त्रण गर्ने घोषणा गरेको छ।

चीनका प्रधानमन्त्री ली खछ्याङले सन् 2014 को चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशनमा आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गरिबी र प्रदूषण चीनका मुख्य शत्रु रहेको घोषणा गरेका थिए। सरकारी प्रतिवेदनमा चीनका पूर्ववर्ती सरकारले अन्धाधुन्द विकास गरेकाले वर्तमान र भावी पुस्ताले दु:ख पाइरहेको पनि उल्लेख थियो। प्रधानमन्त्री भएर पहिलो पटक संसद्मा पेस गरेको प्रतिवेदनमा प्रदूषणलाई मुख्य शत्रुकै रूपमा उल्लेख गर्नुले चीनमा वातावरण प्रदूषण भयङ्खर छ भन्ने कुरालाई प्रस्टयाएको छ।

बेइजिङको प्रदूषण सन् 2008 मा आयोजित 29 औँ ओलम्पिक खेलकुद प्रतियोगितापछि अत्यधिक बढेको मानिन्छ। प्रदूषणको समस्या भयावह भएकै कारणले सरकारले यसलाई नियन्त्रण गर्नका लागि युद्ध छेड्नुपरेको घोषणा गरेको हो। सरकारले जनचेतनालाई अभियानका रूपमा बढाउँदै सन् 2013 देखि नै परम्परागत चिनियाँ नयाँ वर्ष वसन्त चाडमा पटका नपड्काउन आह्वान गर्दै आएको छ। अभियान चालेपछि बेइजिङमा हरेक वर्ष वसन्त चाडमा पटका बिक्रीदर दस प्रतिशतले घट्दै आएको सरकारी तथ्यांकले देखाएको छ।

साभारः कान्तिपुर कोसेली 2073 माघ 1 गते (2017 जनवरी 14) शनिबार

जानकारी तथा लेखहरु