फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कन्फ्युज्ड चिनियाँ

(GMT+08:00) 2017-02-16 09:46:41

चीन भ्रमणमा आएका पत्रकारहरु हरिबहादुर थापा, गोकर्ण अर्याल, बिजय पौडेल लगायतका साथीहरुलाई गत वर्ष सन् 2016 मे 18 तारिख बेइजिङस्थित लामा मन्दिरमा भेट्ने अवसर मिल्यो। बेइजिङको केन्द्र भागमा रहेको लामा मन्दिर विश्व सम्पदामा सूचिकृत एउटा सांस्कृतिक स्थल हो। तिब्बती शैलीको भव्य लामा मन्दिर छिङ वंशको शासनकालमा सन् 1694 देखि निर्माण सुरु भएको थियो। चीनका तिब्बती बौद्धधर्मावलम्बी र मंगोलियन बौद्धधर्मावलम्बीहरुका लामाहरुको प्रशासनिक केन्द्र पनि हो यो मन्दिर।

चीनमा सन् 1949 मा कम्युनिष्ट सत्ता आएपछि यो मन्दिर बन्द गरिएको थियो। 32 वर्षपछि सन् 1981 मा यो मन्दिरलाई खुलाइयो। अहिले यो बेइजिङको उत्कृष्ट पर्यटकीय स्थलमध्ये एक भएको छ। लामा मन्दिरको उत्तरी कुनामा मैत्रेय मुद्धको विशाल काठको मूर्ति छ। जमिनमुनि 8 मिटर र जमिनमाथि 18 मिटरको यो मैत्रेय बुद्धको मूर्तिलाई दस हजार खुशीको प्रतीक भनिन्छ भने मूर्ति रहेको हललाई सीमारहित खुशीको हल भनिन्छ। यो सेतो श्रीखण्डको एउटै काठबाट बनाइएको संसारकै सबैभन्दा ठूलो मूर्ति भएकाले सन् 1993 मा गिनिजबुकमा नाम लेखिएको छ।

यति विशाल र महत्वपूर्ण सम्पदा नेपालबाट ल्याइएको हो भन्ने कुरा चाहिँ कतै पनि उल्लेख गरिएको छैन। हामी मन्दिरभित्र घुमिरहेको बेला एकजना स्थानीय पर्यटक गाइड त्यसको व्याख्या गरिरहेकी थिइन्। उनले उक्त मूर्ति तिब्बतमा बनेको र सातौँ दलाइ लामाले छिङलोङ वादशाहलाई उपहार दिएको उल्लेख गरिन्। तिब्बतबाट बेइजिङ पुर्‍याउन सन् 1748 देखि 50 सम्म तीन वर्ष लागेको पनि भनिन्।

मैले ती पर्यटक गाइडलाई यो त नेपालमा बनाएर ल्याइएको हो। यसका बारेमा राम्ररी खोजेर सबै पर्यटकलाई बताइदेऊ भनेर आग्रह गरेँ। उनी केहीबेर अकमिइन् र त्यहाँको सूचना पार्टी पढ्न थालिन्। उनले तुरुन्तै मोबाइल झिकेर चिनियाँ सर्च इन्जिन पाइतुमा पनि खोजिन्। अनि भनिन् नेपाल भनेर त उल्लेख गरेको छैन तर कपिलबस्तु भनिएको छ।

चिनियाँहरुलाई लुम्बिनी कहाँ पर्छ र कपिलबस्तु कहाँ पर्छ भन्ने कुरा पनि थाहा छैन। अधिकांश चिनियाँहरु वर्षौँ पहिलेको उही सामग्री रटिरहेका छन् जहाँ बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेखिएको छ। उक्त मैत्रेय बुद्धको काठको मूर्ति नेपालको कपिलबस्तुमा बनाएर तिब्बती सातौँ दलाई लामालाई दिइएको थियो। पछि सातौँ दलाई लामाले बेइजिङका सम्राट छिङलोङलाई उपहार दिएका हुन्। यो नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धमा एउटा युगान्तकारी कोशेढुङ्गा पनि हो। तर चिनियाँ सूचनामा कतैपनि नेपालको नाम उल्लेख नहुँदा नेपालको योगदानलाई मेटिँदैछ।

बुद्धको मूर्तिको के कुरा बुद्ध नै भारतमा जन्मिएका हुन् भनेर चिनियाँ सूचनाश्रोतमा उल्लेख गरेको पाइन्छ। विद्यालयका पाठ्यक्रममा केही समय अगाडिसम्म बुद्ध भारतमा जन्मिएका भनेर लेखिएको नेपाल बारेमा राम्रो जानकारी भएका चिनियाँहरुले बताउने गर्छन्। बेइजिङस्थित पाकिस्तानी विद्यालयमा कक्षा आठमा पढिरहेका दाङका प्रनुप अधिकारी कक्षामै शिक्षकहरुसँग बुद्ध नेपालमा जन्मिएका हुन् भनेर धेरैपटक विवाद गर्नु परेको बताउँछन्। नेपालबाट क्वाङचौमा एमबीबीएस पढ्न आएका विद्यार्थीलाई एक वर्षे चिनियाँ भाषा पठाउने क्रममा चिनियाँ शिक्षकले बुद्ध भारतमा जन्मिएका हुन् भनेपछि नेपाली विद्यार्थीले कक्षामै इन्टरनेट खोलेर बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने तथ्यगत प्रमाण देखाउँदा शिक्षिका छक्क परेको नवीन महर्जनले बताए।

बेइजिङको पश्चिमपटि वल्लो शान्षी प्रान्तमा प्रख्यात उथाइसान पर्यटकीय स्थल छ। त्यहाँ शाक्यमुनि बुद्धका छोरा राहूलको पनि मन्दिर रहेको छ। सो मन्दिरमा पर्यटकलाई गाइड गर्ने व्यक्तिले बुद्ध भारतमा जन्मिएका हुन् भनेर व्याख्या गरिरहेको सुनेपछि आफूले प्रतिवाद गरेको प्राध्यापक चौ च्याउचुन बताउँछिन्। उनी चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको प्रमुख भएर सेवा निर्वित्त भएकी र दर्जनौपटक नेपाल गएकी हुनाले उनले ती पर्यटन गाइडलाई बुद्ध नेपालमा जन्मिएका हुन् भारतमा होइन भन्दै त्रुटी औँल्याइदिँदा उल्टै पर्यटक गाइडले आफूलाई हप्काएको सुनाउँछिन्। मैले जे पढेर आएकी हुँ त्यही भन्छु। मलाई त्यही भन्नका लागि लाइसेन्स दिइएको छ। तिमीले भन्दैमा म कसरी पत्याऊँ। ती गाइडले आफूलाई यस्तो बताए पछि त्यो पुरानो कुरा हो अब सच्याउनुपर्छ भनेर भन्दा पनि आफ्नो केही नलागेको दुखेसो उनले पोखिन्।

बुद्धको जन्मस्थलबारेमा धेरै चिनियाँहरु कन्फ्युजमा छन्। जो नेपाल गएका छन् अथवा नेपाल बारेमा चासो राख्छन् उनीहरुलाई मात्र बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा थाहा छ। नेपालले प्रभावकारी रुपमा कुटनीतिक माध्यमबाट यस्तो त्रुटि सच्याउन चीनलाई दवाव दिनुपर्ने आवश्यक्ता छ। यस बारेमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले आफूले चिनियाँ अधिकारीहरुसँग कुरा गरेको तर उनीहरुले कुनै ओपचारिक चिनियाँ सामग्रीमा बुद्ध भारतमा जन्मिएका हुन् भनेर नलेखेको आफूलाई बताएको जानकारी दिए। कुनै चिनियाँ पाठ्यपुस्तक लगायतका सामग्रीमा त्यस्तो त्रुटिपूर्ण सामग्री नभएको भए यतिधेरै चिनियाँमा किन दुविधा भयो भन्ने कुरामा चिनियाँहरु चलाखीपूर्ण तर्क गर्छन्। उनीहरु भन्छन् बुद्ध नेपालमा जन्मिएपनि बुद्धत्व भारतबाट आएकाले त्यस्तो भएको हो। तर दुविधा बुद्धको जन्मस्थलको हो। अधिकांश चिनियाँ बौद्धमार्गीहरु बुद्धको जन्मस्थल हेर्न चाहन्छन् तर भारतमा भएकाले जानलाई असुरक्षित रहेको बताउँछन्। उनीहरु बुद्धत्वको जन्मस्थल होइन बुद्धको जन्मस्थल हेर्न चाहन्छन्।

त्यसो त बेइजिङमा म नेपाली हुँ र नेपालबाट आएको हुँ भन्दा सबै सर्वसाधारणले थाहा पाउँदैनन्। चोमोलोङ्माको देश भन्दा पनि उनीहरु स्पष्ट हुँदैनन् किनभने चिनियाँहरुले सगरमाथा आफ्नै देशमा पर्छ भन्ने मान्यता राख्छन्। चिनियाँ पाठ्यसामग्रीमा संसारको सर्वोच्च शिखर सगरमाथा अर्थात् चोमोलोङ्मा चीनमा पर्छ भन्ने कुरा उल्लेख छ। सगरमाथा चीन र नेपालको बीचमा भए पनि यसको चुचुरो नेपालमा पर्छ भन्ने कुरा पाँच दसक अगाडि नै दुई देशबीचमा सहमति भएको कुरा हो। विश्वको दोस्रो अग्लो शिखर माउन्ट के टु पनि चीनमा नै पर्छ भन्ने चिनियाँ पाठ्यसामग्रीमा लेखिएको छ। माउन्ट के टुलाई चिनियाँ भाषामा छ्याउ क ली भनिन्छ। यो चीन र पाकिस्तानको सीमामा पर्ने भए पनि यसको चुचुरो चाहिँ पाकिस्तानमा पर्छ।

यस्ता महत्वपूर्ण विषयमा दुविधा हुँदा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धमा छाया परेको छ। बुद्धको जन्मथलोमै भ्रम पाल्ने चिनियाँले लामा मन्दिरमा भएको संसारकै सबैभन्दा ठूलो काठको मैत्रेय बुद्धको मूर्ति नेपालमा बनाएर ल्याएको हो भन्ने कुरालाई हेक्का राख्ने कुरै भएन। बुद्धका बारेमा चिनियाँमा भएको भ्रमले नेपालमा वर्षेनी जति चिनियाँ पर्यटक जानसक्थे त्योभन्दा ज्यादै कम मात्र गएका छन्।


साभारः कान्तिपुर कोसेली 2073 माघ 29 (2017 फेब्रुअरी 11)शनिबार।

जानकारी तथा लेखहरु