फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको दुई अधिवेशन

(GMT+08:00) 2017-03-02 09:14:52

-अजय अलौकिक

चीनको महत्वपूर्ण दुई अधिवेशन चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन र बाह्रौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौँ अधिवेशन यही मार्च महिनाको पहिलो साता मार्च ३ र मार्च ५ तारिखमा हुन गइरहेको छ। यी दुई वटा अधिवेशनलाई मूलतः एकै समयमा आयोजना हुने तथा लामो नामका कारण दुई अधिवेशन मात्र भन्ने पनि गरिन्छ। यी दुई अधिवेशनको चीन र चिनियाँबीच मात्रै होइन विश्वमा पनि प्रत्यक्ष-अप्रत्यक्ष सम्बन्ध रहेको छ जसकारण सारा विश्वले विशेष महत्व दिइँदै आएको छ।

यस चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) र राष्ट्रिय जन काँग्रेस (एनपिसी)को अधिवेशनमा करिब ५ हजार प्रतिनिधीले भाग लिने छन्। जसमा शीर्ष नेता, अर्थविद्, उद्यमी, कलाकार, खेलाडी तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधी हुने गर्छन्। एनपिसी अधिवेशनमा केन्द्रिय सरकारको वार्षिक कार्य प्रतिवेदन समीक्षा, आर्थिक तथा सामाजिक विकासको वार्षिक योजनाको समीक्षा तथा केन्द्रीय र स्थानीय बजेटको समीक्षा र सुनवाइ गरिन्छ।

सिपिपिसिसी अधिवेशनमा राजनैतिक, आर्थिक तथा सामाजिक विषयमा परामर्श र अनुगमन तथा कार्यनीति एवँ राजनितिमा सहभागी भई विचारविमर्श तथा नीति-नियम निर्माण र प्रस्तावहरू प्रस्तुत गर्ने गरिन्छ। अधिवेशनको क्रममा सिपिपिसिसीका सदस्यले प्रस्तुत गरेका प्रस्ताव पारित गर्न बाध्य हुँदैन तथा फेरबदल र परिवर्तन पनि गर्नसकिन्छ भने एनपिसीले अघि सारेको प्रस्तावलार्इ अंगीकरण गरेपछि त्यो कानूनी रूपमा नै अकाट्य तथा अपरिवर्तनीय हुन जान्छ। तसर्थ एनपिसीबाट पारित भएपछि मात्र कानूनी आधार प्राप्त गर्दछ।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) के हो?

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन अर्थात् चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) शीर्ष राजनीतिक सल्लाहकार निकाय हो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका अन्य धेरै पार्टी बीच आपसी सहयोग र राजनीतिक परामर्श गर्ने महत्वपूर्ण सँस्था हो। यो चीनमा समाजवादी प्रजातन्त्रको विकास गर्ने एउटा महत्वपूर्ण प्रणाली पनि हो। चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय सम्मेलनका साथै विभिन्न स्थानीय समितिहरु समेत रहेका छन्। प्रत्येक समितिको पदावधि ५ वर्षको हुन्छ। हरेक वर्षमा एक पटक पूर्ण बैठकको आयोजना गरिन्छ। सामान्य रुपमा उक्त पूर्ण बैठक हरेक मार्च महिनाको ३ तारिखदेखि शुरु हुन्छ।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको मुख्य कार्यभार राजनीतिक परामर्श र अनुगमन तथा कार्यनीति एवँ राजनितिमा सहभागी भई विचारविमर्श गर्नु तथा प्रस्ताव प्रस्तुत गर्नु हो।

यस चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन नयाँ चीन स्थापना हुनुअघि चिनियाँ कम्युनिष्ट पार्टी र अन्य विभिन्न प्रजातान्त्रिक पार्टीहरु तथा स्वतन्त्र व्यक्तिहरु र विभिन्न जन सँगठनहरु मिलेर सँयुक्त रुपमा स्थापना गरिएको हो। स्थापनापछि सन् १९४९को सेप्टम्बरमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण बैठक पैचिङ्गमा आयोजना गरिएको थियो। सोही बैठकले जन गणतन्त्र चीन स्थापनाको घोषणा गरेको थियो। साथै माओ च तोङ अध्यक्ष रहेको केन्द्रीय जन सरकार र राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो राष्ट्रिय समितिको पनि निर्वाचन गरिएको थियो। चीनको राजधानी, राष्ट्रिय झण्डा, रेनमिनबीको स्वरूपमा राष्ट्रिय मुद्रा र इस्वी संवत्को प्रयोग सम्बन्धी निर्णय समेत सोही बैठकले गरेको थियो। सन् १९५४ मा चीनको सर्वोच्च राष्ट्रिय अधिकारको संस्था अर्थात राष्ट्रिय जन काँग्रेस स्थापना भएपछि भने यो सर्वोच्च राष्ट्रिय अधिकारबाट विमुख भयो। तापनि एकिकृत मोर्चाको रुपमा राजनीतिक परामर्श गर्ने महत्वपूर्ण सँस्थाको परिचय बनाएको छ।

राष्ट्रिय जन काँग्रेस (एनपिसी) के हो?

राष्ट्रिय जन काँग्रेस अर्थात् नेशनल पिपल्स कङग्रेस (एनपिसी) चीनको मूलभूत राजनीतिक व्यवस्था हो। चीनको संविधानमा राष्ट्रिय जन काँग्रेसलाई देशको सर्वोच्च आधिकारिक संस्थाको रुपमा स्थापित गरिएको छ। चिनियाँ राष्ट्रिय जन काँग्रेसमा चीनका विभिन्न प्रान्त, स्वायत्त प्रदेश र केन्द्रशाषित शहर र जनमुक्ति सेनाका प्रतिनिधिहरु रहने व्यवस्था छ र लगभग ३ हजार प्रतिनिधि रहेका छन्। चीनमा अठार वर्ष उमेर पुगेका नागरिकहरुमा आफ्ना प्रतिनिधि छान्ने वा आफै निर्वाचित हुनका लागि उम्मेद्वार बन्ने अधिकार छ। चीनका विभिन्न तहका जन काँग्रेसहरुमध्ये गाउँ र जिल्लास्तरीय प्रतिनिधिहरुको निर्वाचन प्रत्यक्ष निर्वाचनका आधारमा गरिने व्यवस्था छ। यसभन्दा माथिल्ला तहका प्रतिनिधिहरुको निर्वाचन भने अप्रत्यक्ष रुपमा गरिने चलन छ। विभिन्न तहका जन काँग्रेसको कार्यावधि पाँच वर्षको हुन्छ। ती जन-प्रतिनिधिहरुको पूर्ण राष्ट्रिय सम्मेलनको आयोजना हरेक वर्ष एक पटक गरिन्छ।

सातौं राष्ट्रिय जन काँग्रेस सम्मेलनदेखि हरेक वर्ष सम्मेलनको आयोजना मार्च महिनाको ५ तारिखदेखि हुँदैआएको छ। राष्ट्रिय जन काँग्रेसको वार्षिक सम्मेलनमा प्रतिनिधिहरुले सरकारी कार्य-प्रतिवेदन र अन्य महत्वपूर्ण प्रतिवेदनको सुनुवाइ गर्दछन्। यी प्रतिवेदनको लेखाजोखा गर्नुका साथै सम्बन्धित निर्णय-प्रस्ताव पनि प्रस्तुत गर्दछन्। त्यस अवधिमा जन काँग्रेसको स्थायी समितिले काँग्रेसद्वारा दिइएको अधिकारको कार्यान्वयन गर्दै राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको हक-अधिकारका बारेमा संविधानको व्याख्या गर्ने, संविधानको कार्यान्वयनको अनुगमन गर्ने, पूर्ण बैठकद्वारा तर्जुमा गरिएका कानून बाहेक अरु कानूनहरुको तर्जुमा र संशोधन गर्ने र राष्ट्रिय जन काँग्रेसप्रति जिम्मेवार हुने र त्यससमक्ष कार्य-प्रतिवेदन पेश गर्ने आदि गर्छन्।

चीनको राष्ट्रिय जन काँग्रेसको आधारभूत अधिकारमा कानून निर्माणको अधिकार, अनुगमनको अधिकार, महत्वपूर्ण घटना सम्बन्धमा निर्णयको अधिकार र महत्वपूर्ण पदहरुमा नियुक्ति र पदच्युतको अधिकार आदि समावेश छन्।

यस वर्षको दुई अधिवेशन

यस वर्ष चीनको महत्वपूर्ण दुई अधिवेशन चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन र बाह्रौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौँ अधिवेशन हुन गइरहेको छ। जुन हप्ता दश दिनसम्म चल्ने छ। यस क्रममा यहाँ बाह्रौँले हालको समिति र काँग्रेसको बाह्रौँ पाँच वर्षे कार्यावधि भन्ने बुझाउँछ जुन सन् २०१३मा शुरू भएको थियो र पाँचौँले यस वर्ष उक्त समिति र नेतृत्वको पाँचौँ वर्ष भन्ने बुझाउँछ।

यस वर्षको दुई अधिवेशनमा यही आउने मैमा पैचिङमा अन्तर्राष्ट्रिय रेशम मार्ग सम्मेलन हुनगइरहेको परिप्रेक्ष्यमा र चीनको महत्वकांक्षी कार्यक्रम र सारा विश्वलार्इ जोड्ने यस एक पाटो एक बाटोसम्बन्धमा नयाँ योजनाहरूका बारेमा विश्वले जानकारी पाउने छन्। जुन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ सत्तामा आएपछिको योजना हो। यस सम्मेलनसम्बन्धित् विविध कार्ययोजना प्रस्तुत हुने छ। त्यसबाहेक यस पटकको अधिवेशनमा एकीकृत चिनियाँ नागरिक संहिताको मसौदाको प्रावधानसम्बन्धमा पनि विचार-विमर्श हुने छ। त्यसै गरी सन् २०१६मा तेह्रौं पञ्चवर्षीय योजना सुरु भएको हो। यसर्थ यस पटकको दुई अधिवेशनमा यसै तेह्रौं पञ्चवर्षीय योजनाका हालसम्मका काम तथा नीतिको लेखाजोखा तथा कमिकमजोरी खुट्याइ अगाडि बढ्ने योजनाहरू नै प्रस्तुत हुने छन्।

चीनले तेह्रौं पञ्च वर्षीय योजनामा आर्थिक विकास, गरिब तथा धनीबीचको अन्तर नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, राजनीतिक व्यवस्थामा सुधार, कानुन कार्यान्वयनको निष्पक्षता, सामाजिक सुरक्षाको सुनिश्चितता, बेरोजगारी समस्या, छिमेकी मुलुकसितको सम्बन्ध, कूटनीतिक सम्बन्ध, प्रदूषण समस्या, वातावरण संरक्षण, नव ऊर्जा जस्ता विषयलाई अगाडि सारेको छ। यस बाहेक शैक्षिक सुधार, खाद्य तथा औषधिको सुरक्षा, यातायात, इन्टर्नेटको पहुँच जस्ता विषय पनि पञ्च वर्षीय योजनामा समेटिएको छ। अझै प्रभावकारी ढङले अघि बढ्न यी विषयहरू सम्बन्धमा यी अधिवेशनले नयाँ प्रस्ताव तथा नीति-नियम ल्याउने नै छन्।

चीनमा समग्र विकासलाई अघि बढाउन विकास सम्बन्धी योजना तर्जुमा गर्ने, नीति-नियम बनाउने र कार्यान्वयन गर्ने एक महत्वपूर्ण परिपाटी बनिसकेको छ।

यी दुई अधिवेशनले पारित गर्ने नीति तथा कार्यक्रमले विश्वमा पनि प्रत्यक्ष-अप्रत्यक्ष रुपमा असर पार्ने गर्छ। अधिकाँश चिनियाँ शहरले भोग्दैआएको प्रदूषण समस्याको न्यूनिकरण, दुई सन्तान नीतिपछिको बालबालिकाको वातावरण तथा त्यस सम्बन्धित् विषय, आर्थिक विकास र बजार, भ्रष्टाचार नियन्त्रण, शहरीकरण तथा गरिबी न्यूनिकरण, दक्षिण चीन सागर, कूटनीतिक सम्बन्ध, रक्षा बजेट, अन्तरिक्ष अन्वेषन, जलवायु परिवर्तन, रेशम मार्गका विषयमा चाल्ने कदम तथा नीति-नियमबारे विश्व तथा चिनियाँ जनताले चासो दिने छन्।

आजको दिनमा छिमेकी मुलुक चीनसँग पनि पारवहन सम्झौता भइसकेको र चिनियाँसँगको व्यापार तथा लगानी, पूर्वाधार निर्माण, ऊर्जा र पर्यटनलगायतका क्षेत्रमा चीनप्रति निर्भर भइरहेको अवस्थामा चीनमा लागू हुने नीति-नियम तथा छिमेकी मुलुकप्रतिको कुटनीति तथा वैदेशिक आर्थिक नीतिले नेपाललाई पनि प्रत्यक्ष प्रभाव पार्ने नै छ। जसकारण चीनको यी दुई अधिवेशनबारे चासो राख्नु हितकर हुने छ।

जानकारी तथा लेखहरु