फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पत्नी पाउने भाग्यमानी

(GMT+08:00) 2018-12-19 15:36:00

ग्लुमी सण्डे गीतलार्इ आत्महत्याको गीत भनिन्छ। पारिजातको सिरिसको फूल उपन्यासलार्इ सून्यवादी र निराशावादी साहित्यिक सिर्जना मानिन्छ। तर चीनका केही युवाहरुको निरास र कुण्ठाबाट सुरु गरेको प्रचलन भने आज संसारमै सबैभन्दा ठूलो उत्साहको दिनमा परिणत भएको छ।

हरेक वर्ष नोभेम्बर ११ तारिखलार्इ एकल दिवस अर्थात् सिङ्गल डेका मनाउने चलन चीनबाट सुरु भएको हो। प्रेमी प्रेमिका नहुने व्यक्तिका लागि सुरु भएको यो दिन आज आएर किनमेलका लागि संसारकै सबैभन्दा ठूलो हाट साबित भएको छ। जहाँ करोडौँ मान्छेहरु झुमिन्छन् र अर्बौँको किनमेल गर्दछन्।

सन् १९९० को दसक (सन् १९९३ तिर) चीनको च्याङ्सु प्रान्तको नानचिङ विश्वविद्यालयबाट सुरु भएको हो एकल दिवस। यस बारेमा चीनमा दुर्इवटा भनाइ प्रचलित छन्। पहिलो भनाइ अनुसार नानचिङ विश्वविद्यालयमा अध्ययन गर्ने चारजना केटाहरु माचोङ खेल्दै थिए। उनीहरु चारैजना विश्वविद्यालयको छात्राबासमा बस्थे। खेल जितेमा के गर्ने भन्ने बारेमा उनीहरुले आपसमा कुराकानी गरे। खेल जितेमा सबैको चाहना अथवा मनोकांक्षा केटीसाथी बनाउने रहेको बताए। त्यो दिन नोभेम्बर ११ तारिख थियो। त्यसपछि जोडी नभएकाहरुले भेला भएर नोभेम्बर ११ लार्इ एकल दिवस मनाउन थाले।

अर्को भनाइ अनुसार नानचिङ विश्वविद्यालयमा एकजना विद्यार्थी थिए। उनको नाम क्वाङ खुन थियो। तर साथीहरुले उसलार्इ क्वाङकुन भनेर बोलाउने गर्दथ्ये। चिनियाँ भाषामा 'क्वाङ' भनेको एक्लो र 'कुन' भनेको लठ्ठी हो। क्वाङकुन एकजना युवतीसँग प्रेम गर्दथ्ये। उनका लागि ती युवती विश्वकै सबैभन्दा सुन्दर थिइन्। प्रेम सुरु भएको एक वर्षमा ती युवतीलार्इ क्यान्सर भएको पत्ता लाग्यो। दुर्भाग्यवश क्वाङकुनको जन्म दिनमै उनकी प्रेमिकाको मृत्यु भयो। त्यो दिन नोभेम्बर ११ थियो। प्रेमिकाको मृत्युपछि क्वाङकुन अत्यन्त निरास भए। उनलार्इ डिप्रेसन भयो। तै पनि उनले आफ्नो जन्म दिनमा मरिसकेकी प्रेमिकाको सम्झना गर्न भने बिर्सिएनन्। उनले नोभेम्बर ११ का दिन छात्रावासको छतमा मैनबत्ती बालेर प्राथना गर्दथ्ये। उनको सो प्राथनामा साथीहरु पनि भेला भए। त्यसपछि हरेक नोभेम्बर ११ मा प्रेमिका गुमाएका र प्रेमिका नभएकाहरु भेला भएर आपसमा सान्त्वना दिने प्रचलन सुरु भयो। क्वाङकुनको जन्म दिन भएको हुनाले त्यो दिनलार्इ क्वानकुनचे भन्न थालियो। 'चे' भनेको चाहिँ दिवस हो। नोभेम्बर ११ का दिन वर्षभरिमा सबैभन्दा धेरै १ अर्थात् ११ महिनाको ११ तारिख हुँदा चारवटा १ हुन्छ। अंग्रेजीको संख्या १ एकल लठ्ठीको प्रतीक पनि भएकाले वर्षमा चारवटा ११ पर्ने भएकाले र क्वाङकुनको जन्म दिन परेकाले यो दिनलार्इ चीनमा एकल दिवस अर्थात् क्वाङकुनचे भन्न सुरु भएको हो।

उल्लिखित दुवै भनाइका केही साझा अभिमत छन्। दुवै भनाइ चीनको नानचिङ विश्वविद्यालयबाट सुरु भएका हुन्। अनि दुवै भनाइमा अबिबाहित अथवा प्रेमिका बिहिन युवाहरुको पीडा व्यक्त गरिएको छ। यसरी सन् १९९० को दसकमा सुरु भएको एकल दिवस दक्षिण चीनका केही विश्वविद्यालयतिर फैलिन थाल्यो। यो दिवसलार्इ अलिबाबाले सन् २००९ देखि चीनभर लोकप्रिय बनायो। अलिबाबाका संस्थापक ज्याक मा च्याङसु प्रान्तको नानचिङदेखि नजिकै रहेको चच्याङ प्रान्तको हाङचौ सहरका हुन्।

नानचिङका युवा विद्यार्थीहरु जोडी नपाउने प्रतिनिधिपात्र मात्र हुन्। चीनमा जोडी नपाउने युवाहरुको संख्या विकराल छ। सन् १९७८ देखि चीनले लिएको एक सन्तानको नीतिले चीनमा लैङ्गिक असमानता रहेको छ। चीनको जनसंख्यामा एक सय महिलाको अनुपातमा एक सय १६ पुरुष रहेका छन्। कुनै समय यो अनुपात १२० सम्म पुगेको थियो। अहिले चीनमा ३० वर्षभन्दा कम उमेरका पुरुषको संख्या सोही उमेर समूहका महिलाकोभन्दा झण्डै तीन करोडले बढी छ। सोझो अर्थमा भन्नुपर्दा यतिबेला तीन करोड चिनियाँ युवाले जीवनसाथी नपाउने अवस्था छ। विश्वमा महिलाको अनुपातमा पुरुषको संख्या धेरै हुने मुलुकमा चीन अग्रभागमा पर्दछ। एक सन्तानको नीति र छोरालार्इ प्राथमिकता दिँदा यस्तो भएको हो। सन् २०३० सम्ममा चीनमा पुरुषको संख्या महिलाकोभन्दा एक चौथाइले बढी हुने प्रक्षेपण गरिएको छ। यही समस्यालार्इ ध्यानमा राख्दै चीनले सन् २०१६ देखि एक सन्तानको नीति हटाएर दुर्इ सन्तानको नीति लिएको छ।

त्यसो त जोडी पाउने युवालार्इ पनि बिहे गर्न कहाँ सजिलो छ र चीनमा? चीनका दश वटा ठूला शहरमा विवाह गर्ने खर्चका बारेमा विभिन्न विश्वविद्यालयहरुले सर्वेक्षण गर्दा बेइजिङ, शाङहार्इ, शनचन लगायत चीनका पहिलो पंक्तिका शहरहरुमा विवाहको खर्च २० लाख युआन अर्थात् तीन करोड रुपैयाँभन्दा बढी पुगेको छभने हाङ चौ, क्वाङ चौ, नानचिङ आदि शहरमा विवाहको खर्च १० लाख युआन अर्थात् डेढ करोड रुपैयाँभन्दा बढी हुने गर्दछ।

चीनमा बिबाह कति महङ्गो बन्दै गएको छ भन्ने कुराको पुष्टि सन् २०१७ को जुनमा बेइजिङमा आयोजित बिबाह मेलाले पनि पुष्टि गरेको छ। बेइजिङको केन्द्र भागमा पर्ने चोङशान पार्कमा बिबाहका लागि उपयुक्त केटा अथवा केटीका लागि विज्ञापन गरिएको थियो। जोडी खोज्ने हाट लागेपछि त्यसलार्इ 'ब्लाइनडेट पार्क नाम दिइएको थियो। उक्त मेलामा केटा अथवा केटीको निश्चित योग्यता र मापदण्ड तोकेर गरिएका विज्ञापनहरु प्रदर्शनी गरिएको थियो। उच्चतम् वर्गमा पर्ने महिलाका लागि वर चाहिएको विज्ञापनमा केटामा हुनुपर्ने मापदण्डमा कम्तिमा ५६ लाख चिनियाँ युआन (८ करोड ४० लाख नेपाली रुपैयाँ), बेइजिङमा स्थायी बसोबासको प्रमाणपत्र, बेइजिङको केन्द्र भागमा आफ्नै घर, अत्याधुनिक कार र मासिक ५० हजार चिनियाँ युआनभन्दा बढी (साढे सात लाख रुपैयाँभन्दा बढी) आम्दानी, स्नातकोत्तर अथवा पिएचडी अथवा विदेशमा पढेको हुनुपर्ने सर्तहरु थिए। त्यसैगरी उच्चतम् वर्गमा रहेका एक पुरुषले विहे गर्नका लागि महिलामा हुनुपर्ने मापदण्डमा सुन्दरी, बेइजिङमा स्थायी बसोबासको प्रमाणपत्र, बेइजिङको केन्द्रभागमा आफ्नै घर, अत्याधुनिक कार, मासिक आम्दानी २० हजार चिनियाँ युआन, स्नातक अथवा स्नातकोत्तर तह गरेको हुनुपर्ने उल्लेख गरेका थिए।

सन् २००९ मा अलिबाबाले वेभसाइटबाट बिक्री वितरण बढाउनका लागि नोभेम्बर ११ मा विशेष छुट दिने घोषणा गर्‍यो। यसभन्दा अगाडि सीमित युवा पुस्तामा रहेको एकल दिवसलार्इ अलिबाबाले करोडौँ चिनियाँहरुमा पुर्‍याइदियो। नोभेम्बर ११ तारिख एकल दिवस भए पनि यो दिन दिइने छुट भने सबैले प्राप्त गर्ने भएकाले यो छुटमा सबैजना रमाउन थाले। अलिबाबाले सन् २०१२ मा १९ अर्ब चिनियाँ युआनको सामान बिक्री गरेको थियो भने सन् २०१३ मा ३५ अर्ब, २०१४ मा ५७ अर्ब र २०१५ मा ९१ अर्ब चिनियाँ युआनको सामान बिक्री गरेको थियो। त्यसैगरी सन् २०१६ मा एक अर्ब र सन् २०१७ मा १५० अर्बको बिक्री गरेको थियो। गत नोभेम्बर ११ तारिख २४ घण्टामा अलिबाबाले १८३ अर्ब चिनियाँ युआनभन्दा बढीको बिक्री गरेको छ। नोभेम्बर १० तारिखको मध्यराति १२ बजेदेखि भोलिपल्टको मध्यराति १२ बजेसम्म करोडौँ चिनियाँहरु सामान किन्न अनलाइनमा तँछाडमछाड गरिरहेका हुन्छन्। अलिबाबाले सुरु गरेको एकल दिवसको बिक्री ब्ल्याक फ्राइडे र साइबर मण्डे दुवै दिनको एकमुष्ट बिक्रीभन्दा झण्डै डबल बढी छ। क्रिशमसभन्दा अगाडिको शुक्रबारलार्इ ब्ल्याक फ्राइडे भनिन्छ भने क्रिशमसपछिको सोमबारलार्इ साइबर मण्डे भनिन्छ। यी दुर्इ दिनमा पश्चिममा मुलुकमा व्यापक छुटमा सामान बिक्री गरिन्छ। उल्लिखित तथ्याङ्क त अलिबाबाको अनलाइन बिक्रीको मात्र हो। यसबाहेक अमेजन र जेडी लगायत कयौँ अनलाइन सपिङले पनि एकल दिवसका दिन बिक्रीमा छुट दिने गरेका छन्। नेपालमा पनि यही वर्षदेखि दराज अनलाइनले एकल दिवसका अवसरमा विशेष छुटको अभ्यास सुरु गरेको छ। दराजमा पनि अलिबाबाले लगानी गरेको छ। अनलाइन बाहेक प्रत्यक्ष बजारमा पनि एकल दिवसका लागि छुट दिने चलन सुरु भएको छ। कुनैबेला अत्यन्त निराश युवाहरुले सुरु गरेको एक्लो र नैराश्यको दिन नै आज विश्वमा किनमेलका लागि उत्साहपूर्ण सबैभन्दा ठूलो हाट बनेको छ।

साभारः कान्तिपुर दैनिक। २०७५ मंसिर १ गते (२०१८ नोभेम्बर १७) शनिबार।

जानकारी तथा लेखहरु