फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कम्युनिष्ट मक्कामदिना

(GMT+08:00) 2018-12-31 18:56:13

आगामी बुधबार माओ चतुङको १२५ औँ जन्म जयन्ती हो। आधुनिक चीनका संस्थापक नेता माओलार्इ चीनमा मात्र होइन संसारभरका कम्युनिष्टले श्रद्धा र आस्थाले सम्मान गर्दछन्। सन् १८९३ डिसेम्बर २६ मा जन्मिएका माओको मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा भएको हो। माओको मृत्यु भएको ४२ वर्ष भइसकेपनि उनको शवलार्इ बेइजिङको केन्द्रभाग थियानआनमन क्षेत्रको दक्षिणपटि्ट रहेको माओ स्मारक भवनमा अहिलेसम्म संरक्षण गरेर राखिएको छ। माओ स्मारक भवन सोमबार बाहेक हरेक दिन बिहान ८ देखि १२ बजेसम्म खुल्छ। जुलार्इ र अगस्त महिनामा भने बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने गर्छ। माओको जन्मदिन डिसेम्बर २६ र मृत्यु भएको दिन सेप्टेम्बर ९ मा चाहिँ बिहान बाहेक दिउँसो २ देखि ४ बजेसम्म पनि भवन खुल्ने गर्छ। दैनिक हजारौँ चिनियाँले माओको शव हेरेर श्रद्धाले शिर निहुर्‍याउँदै श्रद्धान्जली अर्पण गर्दछन्।

माओको मृत्यु हुँदा चीनभरि जति लोकप्रिय थिए त्यतिकै दरमा चीनभरिको प्रतिनिधित्व हुने गरी यो भवन बनाउनका लागि विभिन्न क्षेत्रबाट नमूना सामग्री प्रयोग गरिएको छ। माओको मृत्यु भएको अढाइ महिनापछि १९७६ नोभेम्बर २४ मा निर्माण सुरु भएको यो भवन १९७७ मे २४ मा पूरा भएको थियो। यसको निर्माणमा चीनका विभिन्न प्रान्तका सात लाख नागरिकले सांकेतिक स्वयंसेवा गरेका थिए। स्मारक भवनमा चीनका विभिन्न प्रान्तका फरक फरक वस्तुहरु प्रयोग भएका छन्। सिचुवान प्रान्तको ग्रेनाइट, क्वाङतोङको पोर्सिलियन माटो, पल्लो सान्सीका सल्लाको काठ, सिन्चियाङको विशेष प्रकारको वनस्पतिको बिउ, थाङसानको माटो, नान्चिङको रङ, खुनलुन पहाडको सेतो पत्थर, च्याङ्सी प्रान्तको पाइन लग, ताइवानको पानी र बालुवा यसमा मिसाइएको छ। नेपाल र चीनको सिमामा रहेर चुचुरो चाहिँ नेपाली भूभागमा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको ढुङ्गा पनि यो भवनमा प्रयोग गरिएको छ। ५७.२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको माओ स्मारक भवनको मुख्य प्रवेशद्वारको माथिपटि्ट सुनौला अक्षरमा लेखिएको छ 'अध्यक्ष माओ स्मारक हल।'

भवनको उत्तरतिर प्रवेशद्वार छ भने दक्षिणतिर निकासद्वार रहेको छ। भवनमा पस्नासाथ मार्बलबाट बनेको साढे तीन मिटर अग्लो माओको सालिक भेटिन्छ। मध्यभागको हलमा क्रिस्टलभित्र माओको शव छ। छातीसम्म चिनियाँ कम्युनिस्ट पार्टीको झण्डाले ढाकिएको शव कालो ग्रेनाइटको कफिनमा राखिएको छ। कफिनको चारैतिर चिनियाँ कम्युनिस्ट पार्टीको चिन्ह, चीनको राष्ट्रिय चिन्ह, चिनियाँ जनमुक्ति सेनाको चिन्ह र माओको जन्म र निधनको मिति लेखिएको छ। स्मारक भवनको दोस्रो तलामा माओ चतुङसँगै चिनियाँ कम्युनिस्ट पार्टीका लोकप्रिय नेताहरु चाउ एन लार्इ, लिउ साओ ची, चु त, तङ स्याओ फिङ र छनयुनको नाममा स्मृति कोठाहरु रहेका छन्।

माओ स्मृति हलमा प्रवेश नि:शुल्क छ। हलभित्र पस्दा टोपी लगाउन पाइन्न। साथमा कुनै झोला, खाद्यसामग्री र क्यामेरा बोक्न निषेध छ। मोबाइल बोक्न पाइन्छ तर कुरा गर्न र फोटो खिच्न पाइन्न। एक आपसमा बोल्न पनि पाइँदैन। चीन सरकारको आमन्त्रणमा आएका विदेशी उच्च पाहुनाहरुलार्इ भने विशेष सुविधा उपलब्ध हुन्छ। त्यस्ता विशिष्ट पाहुनालार्इ भवनभित्र केही समय बस्ने र भवनको माथिल्लो तलाको पनि अवलोकन गर्ने अवसर हुन्छ। ती पाहुनाहरुले भवनभित्र माओको सालिकलार्इ पृष्ठभूमिमा पारेर फोटो खिच्न पाउँछन् तर माओको शवको फोटो खिच्न चाहिँ कसैले पनि पाउँदैनन्।

चीन भ्रमणमा आएका प्राय नेपालीको इच्छा पनि माओको शव हेर्ने हुन्छ। त्यसमा पनि नेपालका कम्युनिष्ट पार्टी समर्पित नेता तथा कार्यकर्ता चीनमा आएका छन् भने त उनीहरुको सबैभन्दा ठूलो प्राथमिकता नै माओको शव हेर्ने हुन्छ। उनीहरुका लागि ग्रेटवालभन्दा पनि माओको शवको अवलोकन गर्नु प्राथमिकतामा पर्छ।

सन् २०१७ को मार्चमा चीन भ्रमणमा आएका दाङ देउखुरीका तुलसीराम अधिकारीको सबैभन्दा ठूलो इच्छा माओको शव हेर्ने थियो। उनी लामो समय तत्कालीन माओवादी पार्टीसँग आवद्ध रहेर २०५७ सालदेखि तत्कालीन एमालेमा प्रवेश गरेका थिए। शिक्षण पेशासँगै कम्युनिष्ट विचारलार्इ आफ्नो आदर्श बनाएका अधिकारी चीन भ्रमणमा आउँदा माओ स्मारक भवन मर्मत संभार भइरहेकाले ९ महिनाका लागि बन्द गरिएको थियो। माओको शव हेर्न नपाइकन फर्कनुपर्दा अधिकारीले थकथकाउँदै भने 'माओका कोटेसन र रातो किताब घोकेर जिन्दगीको आधासमयभन्दा बढी बिताइयो तर माओकै भूमिमा आएर पनि उनको शव हेर्न पाइएन।'

चीन भ्रमणमा आएर माओको शव हेर्न नपाएर पछुताउने अर्का व्यक्ति पत्रकार महासंघ रोल्पा जिल्ला अध्यक्ष मानसिंह विश्वकर्मा पनि हुन्। उनी गत अगष्टमा चीन भ्रमणमा आएका थिए। 'आफू त माओको नाममा जनयुद्ध लडेर आएको' माओकै देशमा आएर उनको शव हेर्नका लागि फुरुङ्ग पर्दै भनेका थिए 'माओकै इतिहास पढेर हामीले त लङमार्च पनि गरेका थियौँ।' उनको दुर्भाग्य सिचुवान भ्रमण सकेर बेइजिङमा उनी आइपुग्दा चीन अफ्रिका मन्च सुरु भएकाले सुरक्षार्थ चीन सरकारले माओ स्मारक भवन बन्द गरिदियो। उनले भवनको अगाडि गएर फोटो खिच्न पनि पाएनन्। तै बरु ग्रेटवाल प्रवेश गर्ने स्थानमा ठड्याइएको माओको शालिक अगाडि उनले मुठी उचालेर फोटो खिचे र चित्त बुझाए।

नेपालमा कम्युनिष्ट बिचार राख्नेका लागि माओको शव हेर्ने कुराले कति महत्व राख्छ भन्ने कुराको अर्को एउटा उदाहरणबाट स्पष्ट हुन्छ। सन् २०१८ को मे महिनामा नेपालबाट इलामका लोकनाथ सुवेदी र धरणीप्रसाद गौतम आफ्ना श्रीमतीसहित चीन भ्रमणमा आएका थिए। उनीहरुले माओको शवको अवलोकन गरे। बाहिर निस्किएर माओ स्मारक भवनलार्इ पृष्ठभूमिमा पारेर फोटो खिचे अनि त्यही साँझ 'आज माओको शव हेरियो' लेख्दै फेसबुकमा राखे। त्यसमा प्रतिक्रिया दिनेहरुले लेखे 'मक्कामदिना पनि पुगिएछ, अब मोक्ष पाइयो हैन त !'।

मुसलमान धर्मावलम्बीहरुको सबैभन्दा पबित्र तीर्थस्थल हो मक्कामदिना। जिन्दगीमा एकपटक मक्कामदिना पुगेमा जीवनका सबै पाप काटिन्छ भन्ने विश्वास मुलसमान धर्मावलम्बीमा छ। कुनै बेला नेपाली राजनीतिमा नयाँदिल्लीलार्इ मक्कामदिना भनेर व्यङ्ग्य गरिन्थ्यो।

साभारः कान्तिपुर कोसेली २०७५ पुस ७ गते (२०१८ डिसेम्बर २२) शनिबार।

जानकारी तथा लेखहरु