फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन भ्रमणको सफलता

(GMT+08:00) 2019-05-07 15:12:17

बैशाख ११ गते बुधबार सुरु भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण बैशाख १८ गते बुधबार सम्पन्न भएको छ। नियमित कार्यतालिकामा बिहीबार मात्र नेपाल फर्कने कार्यक्रम रहे पनि स्वास्थ्यमा असहजता देखिएपछि राष्ट्रपति भण्डारीद्वारा चीन भ्रमण एक दिन छोट्याइएको हो। राष्ट्रपतिको चीन भ्रमणका दुईवटा उद्देश्य थिए। पहिलो उद्देश्य चीनले आयोजना गरेको दोस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ अर्थात् बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिनु थियो। यो वहुपक्षीय बैठक थियो। वहुपक्षीय भए पनि सबै पक्षले प्रत्यक्ष तथा परोक्ष रुपमा चिनियाँ लगानीलाई आफ्नो देशमा लैजाने र लगिरहेकाले अझै प्रभावकारी बनाउने कुरामा छलफल केन्द्रित भएकाले औपचारिक रुपमा विदेशी नेताहरुबीचमा साइडलाइन छलफल खासै भएन।

राष्ट्रपति भण्डारीको भ्रमणलाई राजकीय बनाएर नेपाल र चीनबीचमा लामो समयदेखि अवरुद्ध राष्ट्रनायकबीचको भ्रमण आदानप्रदानको गाँठो फुकाउनु भ्रमणको दोस्रो उद्देश्य थियो। नेपाली राष्ट्रपतिको भ्रमणलाई राजकीय बनाउएर चीनले दक्षिण एसियामा विकास र स्थिरता चाहेको कुराको संकेत गरेको छ। नेपालमा सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति च्याङचमिनले भ्रमण गरेपछि कुनै चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छैनन्। वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वका धेरै देशहरुको भ्रमण गरिसकेका छन्। कुनै देशमा उनले दोहोर्‍याएर पनि भ्रमण गरेका छन्। नेपालमा उनले गर्ने भनेको भ्रमण नेपालकै आन्तरिक किचलो र प्राकृतिक प्रकोपका कारणले रोकिएको थियो। नेपालका राष्ट्रपतिले चीनको भ्रमण गरिसकेपछि अब चिनियाँ राष्ट्रपतिलाई नेपालको भ्रमण गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा बैशाख १३ गते उद्घाटन सत्रको उच्चस्तरीय शिखर सम्मेलनलाई राष्ट्रपति भण्डारीले गरेको सम्बोधनमा वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङले अगाडि सारेका भावनालाई गहन ढङ्गले समेटिएको छ। अन्य देशका राष्ट्रनायक र सरकार प्रमुखले जस्तो सोझै चिनियाँ राष्ट्रपतिको प्रशंसाभन्दा पनि आफ्नै लिखित मन्तव्यमा चिनियाँ नीतिका वाक्यांशलाई राखेर सम्बोधन गर्ने कुरा कुटनीतिक चातुर्य र सफलता हो। यसले नेपाल र चीनबीचको सम्बन्धमा दीर्घकालीन प्रभाव पार्दछ। यसैगरी बैशाख १४ गतेको राउण्ड टेबुल बैठकमा संयुक्त राष्ट्रसंघको श्रहशाब्दी विकास लक्ष्य र जलवायु परिवर्तनका विषयमा नेपाली राष्ट्रपतिको सम्बोधन चिनियाँ नेताका भनाइमा सोझै साझेदारी गर्ने आशयको थियो। नेपाल र चीनबीचमा भएका हिमाललाई जलवायु परिवर्तनले पारेको प्रभावमा नेपाल र चीनसँग साझा समस्या र साझा चुनौति छन्। यो विषयमा नेपाल र चीनले गर्ने साझेदारीमा विश्वले सघाउने कुरामा कसैको दुई मत हुन सक्दैन। राष्ट्रपति भण्डारीका दुवै सम्बोधनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा चिनियाँ रेललाई नेपालमा प्रवेश गराउने कुरा अभिव्यक्ति भएको थियो। फलस्वरुप बीआरआईको सम्पन्न शिखर मञ्चको संयुक्त घोषणा पत्रमा चिनियाँ रेललाई नेपाल जोड्ने कुरा समेटियो। राष्ट्रपति भण्डारीको चीन भ्रमणको यो सफलताको पहिलो मापन हो। राष्ट्रपति भण्डारीको चिनियाँ समकक्षी सी चिनफीङसँगको भेट भ्रमणको सर्वाधिक महत्वको क्षण थियो। बैशाख १६ गते सोमबार अपरान्ह बेइजिङको केन्द्रभागस्थित थिआनआनमन स्क्वायरको पश्चिमपटि्ट रहेको जनवृहत सभाभवनमा राजकीय सम्मानका साथमा दुई राष्ट्रपतिबीचमा अत्यन्त सौहार्दपूर्ण वातावरणमा छलफल भयो। सो भेटमा नेपालले अगाडि सारेका विकासका काममा सघाउने बताउँदै चिनियाँ रेललाई नेपालसम्म लाने कुरा उनले त्यहाँ पनि दोहोर्‍याए। चिनियाँ नेता सीको भनाइ नेपाली नेताको जस्तो त्यत्तिकै फुत्त मुखबाट निस्किएको थिएन। आफ्ना तल्ला निकायले दिएको विभिन्न प्रतिवेदन तथा अध्ययनहरुको निचोड थियो त्यो।

राष्ट्रपति भण्डारीको चीन भ्रमणका दुईवटा उद्देश्यमा चिनियाँ रेललाई नेपाल जोड्ने कुराले निकै जोडदार रुपमा प्रवेश पाएको छ। छोटो रुपमा भन्नुपर्दा राष्ट्रपति भण्डारीको चीन भ्रमण रेलमय रुपमा सम्पन्न भएको छ। हुनत: यसभित्र अन्य थुप्रै कुराहरु पनि रहेका छन्। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको वातावरण, नेपाल र चीन यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर, नेपाललाई दिइँदै आएको चिनियाँ आर्थिक सहयोगमा उल्लेख्य वृद्धि, विभिन्न क्षेत्रमा नेपाल चीनबीचको सहकार्य आदि। तर, समग्रमा भ्रमणको केन्द्रभागमा चाहिँ चिनियाँ रेल उभिएको छ।

नेपालका दुई छिमेकी मुलुकमा रेल कुदेको एक शताब्दी भइसेको छ। नेपालीले यदाकदा भारतमा तीर्थयात्रा गर्दा रेल चढ्थे। रेल चढ्दा प्रयोग भएको बाक्लो टिकट कोटको गोजीमा ल्याउँथे। सुत्केरी बेथा लागेर बच्चा पाउन कष्ट भएकी महिलालाई रेलको टिकट धोएर पानी खुवाएपछि सजिलै बच्चा जन्मन्छ भन्ने मान्यता अहिले पनि गाउँघरतिर छँदैछ। चलचित्रमा देखेको भरमा र कहिलेकाहीँ भारतमा चढेको भरमा रेलका बारेमा थुप्रै नेपाली गीतहरु सिर्जना भएका छन्। बाक्लो धुवाँ फाल्ने पुरानो प्रविधिको भारतीय रेल नेपालीका मनमस्तिष्कमा प्रगाढ बने पनि अर्को छिमेकी मुलुक चीनले संसारकै सबैभन्दा तीब्र गतिमा गुड्ने विद्युत्तीय रेल बनाएको छ भन्ने कुराबाट नेपालीहरु बेखबर थिए। संसारकै सबैभन्दा उच्च भूगोलबाट हिउँले अवरोध नगर्ने गरी आकाशे पुल बनाएर र अग्लाअग्ला चुचुरा छेडेर बनाइएका सुरुङ मार्गबाट सफा उर्जा प्रयोग गर्दै सुलुलु गुड्ने रेल चढ्ने सपना नेपालीले देख्ने कुरै भएन।

धेरै नेपाली गीतमा प्रयोग भएको र उपचारमा प्रयोग हुनसक्ने मिथक मानिएको भारतीय रेललाई तुरुन्तै चिनियाँ रेलले त्यतिबेला ओझेलमा पार्‍यो जतिबेला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले चार वर्ष पहिले चीनको भ्रमण गरे। सो भ्रमणको समयमा भएका सम्झौताहरुमध्येको एउटा बुँदा दुई देशबीचमा विभिन्न यातायातका सञ्जाल विस्तार गर्ने कुरामा रेलवे कनेक्सन पनि थियो। त्यसपछि नेपालमा चियापसलदेखि संसदसम्म चिनियाँ रेलका बारेमा बहस हुन थाले। निर्वाचनका समयमा सबै दलले आफ्ना घोषणापत्रमा चिनियाँ चरिचुच्चे रेलको चित्र कभरपृष्ठमा बनाउन बाध्य भए। मतदाताले चिनियाँ रेल नेपालमा ल्याउने तिम्रो पार्टीको के धारणा छ ? भनेर प्रश्न गर्छन् भन्ने कुरा सबै राजनीतिक दलका सबै नेतालाई थाहा थियो। निर्वाचनपछि संचारमाध्यममा चिनियाँ रेलका पक्ष विपक्षमा लामालामा लेखहरु प्रकाशन भएका छन्।

भलै यी चार वर्षमा नेपालमा चिनियाँ रेलका कुरा धेरै काम नगन्य भएका कुरा कतैबाट छिपेको छैन। केरुङदेखि काठमाडौँसम्मको रेलवे लाइनको पूर्वसंभाव्यता अध्ययनसम्म चाहिँ भएको छ। सरकारले उल्लेख्य रुपमा चिनियाँ रेललाई नेपालमा भित्र्याउने कार्यमा काम गर्न नसकेको अथवा नगरेको अवस्था विद्यामान भएपनि आम नेपालीहरुका आँखामा भने चिनियाँ रेल चढ्ने सपना अझ सक्रिय बनेको छ। वर्षौँदेखि भारतीय रेलको छाप परेको नेपाली मस्तिष्कमालाई चार वर्षमै चिनियाँ रेलले पखालेको छ।

नेपालमा गणतन्त्र आएको दस वर्षपछि नेपाली राष्ट्रपतिको चीन भ्रमणले चिनियाँ रेलको नेपाली सपनालाई थप जुर्मराउने काम गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण नेपालका राष्ट्रपतिको पहिलो राजकीय चीन भ्रमण हो। यसले दुई देशबीचको राजनीतिक सम्बन्धमा निकै अर्थ राख्छ। यसभन्दा पहिले नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पनि चीनको भ्रमण गरेका थिए। चीनकै निमन्त्रणामा भएको उक्त भ्रमणलाई राजकीय बनाइदिन नेपालले अनुरोध नगरेको होइन्। तर, नेपालका प्रथम राष्ट्रपति यादवलाई बेइजिङको रातो कार्पेटमा सलामी दिनलाई चीन तयार भएन। नेपालको अत्यन्त तरल राजनीति र चीनसँगको सम्बन्धमा गाम्भीर्यको अभावले यसो भएको हुन सक्छ। नेपालमा निर्वाचन सम्पन्न भएर संक्रमणकालको अन्त्य भयो र दुईतिहाई बहुमतलको स्थिर सरकार निर्माण भयो तब चीनले नेपालको नयाँ सत्तालाई बेइजिङमा स्वागत गर्ने मनसाय राख्यो। चिनियाँ राष्ट्रपति सीले नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त गर्ने कुरामा सघाउने विचार पनि व्यक्त गरेका छन् भने चिनियाँ रेललाई नेपालसम्म जोड्ने कुरालाई बेल्टएण्ड रोड इनिसिएटिभको संयुक्त घोषणापत्रमा समेटिएको छ। यसभन्दा अगाडि चिनियाँ रेललाई नेपाल जोड्ने कुरा नेपाल र चीनबीचका सम्झौतामा मात्र समेटिएको थियो। बहुपक्षीय र विश्वकै सबैभन्दा धेरै मुलुक सहभागी भएको आर्थिक जागरणको कार्यक्रमको संयुक्त घोषणा पत्रमा चिनियाँ रेललाई नेपालसम्म पुर्‍याउने कुरा उल्लेख हुनु राष्ट्रपति भण्डारीको चीन भ्रमणको ठूलो सफलता हो।

साभारः नागरिक दैनिक। २०७६ बैशाख १९ गते (२०१९ मे २) बिहीबार।

जानकारी तथा लेखहरु