फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमूर्त सम्पदा संरक्षणमा चीन

(GMT+08:00) 2019-06-28 09:39:46

-अजय अलौकिक

पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै जाने रीतिरिवाज, चालचलन तथा कलात्मक वस्तुशैलीका भौतिक संरचनाहरू नै सांस्कृतिक सम्पदा हुन्। मानिस तथा समुदायको दैनिक गतिविधि या व्यवहार नै कालान्तरमा गएर चालचलन बन्न जान्छ र यसैले एउटा पैतृक सम्पदाको रूप लिन पुग्छ। यो एउटा जीवनशैली हो, जुन परम्परा बनेको हुन्छ। यसभित्र कुनै समुदाय या मानव इतिहास पनि लुकेको हुन्छ। यसै सम्पदा मूर्त र अमूर्त गरी दुई थरीका हुन्छन्, जुन अन्योन्याश्रित रूपमा जोडिएका पनि हुन्छन्।

कलाकृति, मठमन्दिर, वास्तुशिल्प, ढुंगेधारादेखि ऐतिहासिक बस्तीसमेत मूर्त सम्पदा हुन सक्छन्। त्यसैगरी भाषा, हस्तलिपि, सीप, कला, वेषभूषा, गीत, संगीत, नृत्य, प्रदर्शनी, मौखिक कथा, परम्परा, चाडपर्व सामाजिक चालचलन अमूर्त सम्पदा हुन्। यस्ता सम्पदाको सांस्कृतिक महत्व त छँदै छ, यसले एउटा समुदाय, देश र सभ्यताको समेत पहिचान बोकेको हुन्छ। विज्ञानको युगमा सारा विश्व एउटा गाउँमा परिणत भइसक्दा पनि यस्तै संस्कृति र परम्पराले पहिचान दिएको छ, विविधता थपेको छ।

यस्ता मूर्त तथा अमूर्त सम्पदाहरू अर्थव्यवस्थाको मुख्य स्रोत पनि हुन्। यसले चलायमान बनाइरहेको हुन्छ। विश्वका विविध संस्कृति र रीतिरिवाजमा चासो राख्ने मानिसका लागि यो रुचिकर विषय र पर्यटकीय आकर्षणका साथै आम्दानीको स्रोत पनि हो। साथै सांस्कृतिक सम्पदाले अतीत, वर्तमान र भविष्यबीच एउटा पुलको पनि काम गरेको हुन्छ। यो एक समुदाय, जातिको मात्रै होइन, राष्ट्र र विश्वकै सम्पत्ति हो। त्यसकारण यस्ता सम्पदा जगेर्ना र संरक्षण गर्न अत्यावश्यक पनि छ।

यसैगरी विशेषतः काठमाडौं उपत्यका विश्व सम्पदास्थलको रूपमा विश्व प्रसिद्ध छ। उपत्यकाभित्र मात्रै सातवटा सम्पदास्थल संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) विश्व सम्पदामा सूचीकृत छन्। यी सम्पदा र संस्कृतिबीच अन्योन्या िश्रत सम्बन्ध गाँसेको छ, उपत्यकावासी नेवार गुठीले।

धार्मिक सांस्कृतिक महत्व बोकेको गुठी नेपाल खाल्डोको सभ्यतासँग जोडिएको छ। परम्परागत जात्रा वा चाडपर्व सञ्चालन गर्न तथा मन्दिर संरक्षण र सम्भार मात्रै होइन, लिच्छविकालीन इतिहास बोकेको यो नेपालको मौलिक अमूर्त सम्पदा हो। यसमा जन्मदेखि मृत्युपछिको संस्कारसम्म जोडिएको छ र पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आएको छ। पछिल्लो समय एउटै कूलका मानिसबीच कलह या अलगरूपमा यत्रतत्र र देश–विदेशमा बस्न थालेपछि कतिपय परिवारको गुठी संस्कृति मासिसकेको छ। यसको सांस्कृतिक, धार्मिक, सामाजिक महत्व बुझेर लोप हुनबाट बचाउँदै निरन्तरतामा जोड दिनु र अमूर्त सम्पदामा सूचीकृत गर्दै संरक्षण गर्नुपर्नेमा जग्गा–जमिनसँग जोडेर विधेयक ल्याउन खोज्नु लज्जास्पद छ।

नेपालमा गुठी विधेयक खारेजीको मागसँगै आन्दोलन हुँदै गर्दा चिनियाँ राष्ट्राध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले जुन १६ तारिख पार्टीको छ्युस पत्रिकामा सांस्कृतिक आत्मविश्वासमा अडिग रही समाजवादी संस्कृतियुक्त बलियो मुलुक निर्माण विषयक लेख प्रकाशित गरेका थिए। संस्कृति देश र राष्ट्रको आत्मा भएको उल्लेख गर्दै संस्कृति समृद्ध र बलियो भयो भने मात्र राष्ट्र बलियो हुने बताएका छन्। सांस्कृतिक आत्मविश्वास र संस्कृति समृद्ध नभएमा चीन राष्ट्रको महान् पुनःउत्थान पनि नहुने कुरा उक्त लेखमा समेटिएको छ।

काठमाडौंमा गुठी बचाउनका लागि सरोकारवालाले शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेका बेला सीको यो विचार प्रकट हुनु एउटा संयोग हुन सक्छ। तर जुनसुकै राष्ट्रले आफ्नो संस्कृति जगेर्ना गर्न अत्यावश्यक छ। संस्कृति र सम्पदाबाट एउटा सभ्यताको निर्माण भएको हुन्छ। यसैबाट पहिचान बनेको हुन्छ र त्यही पहिचानले देशलाई चिनाएको हुन्छ। नेपाली कलाकृति, वास्तु संरचनादेखि लिपिबद्ध रञ्जना लिपि चीनको ग्रेटवालदेखि प्राचीन रेशममार्गका धेरै ठाउँमा अझै सुरक्षित छन्।

हुन त चीनमा ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू ध्वस्त गर्ने उद्देश्यले सन् १९६६ देखि १९७६ सम्म सांस्कृतिक क्रान्ति भएको थियो। तर त्यसबखत पनि कतिपय महत्वका संरचना र सम्पदा संरक्षण गरिएको थियो। त्यसै स्वरूप बेइजिङको केन्द्र भागमा राष्ट्रिय विभूति कलाकार अरनिकोले निर्माण गरेको श्वेत चैत्य शान्तरूपमा उभि नै रहेको छ। पछिल्लो समय चीनले आफ्नो संस्कृति संरक्षणका लागि लगानी गरेको छ।

आफ्नो पाँच हजार वर्षभन्दा लामो संस्कृति र सभ्यतालाई विश्वव्यापी बनाउने अभियानमा यसै वर्ष चीनले एसियाली सभ्यता संवाद सम्मेलनको आयोजनासमेत गरेको छ। विश्वका विभिन्न सभ्यतालाई एकै थलोमा भेला गराई सहअस्तित्व र मेलमिलापयुक्त विश्व निर्माण गर्नु यसको उद्देश्य रहेको छ। सीले सम्मेलनलाई सम्बोधन गर्दै सम्मान तथा समान रूपमा सभ्यताबारेको आदानप्रदान तथा पारस्परिक अध्ययन गर्न र घमण्ड तथा गलत विचार त्याग्दै सभ्यताको विविधताप्रति आफ्नो विचार फरासिलो बनाउन आह्वान गरेका थिए।

यसैगरी युनेस्कोमा चीनका सांस्कृतिक तथा प्राकृतिक गरी ५३ वटा सम्पदा सूचीकृत छन्, जुन विश्वमा दोस्रो पंक्तिमा आउँछ। त्यसैगरी पचासभन्दा बढी सम्पदा मनोनयनको पंक्तिमा छन्। साथै ३० भन्दा बढी चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा युनेस्कोमा सूचीकृत छन्। जहाँ विभिन्न जातीय नाच तथा ओप्रा, परम्परागत चिकित्सा, हस्तलिपि, काष्ठकला, विविध शिल्पहरू समावेश छन्।

इतिहासमा फर्कंदा दोस्रो विश्वयुद्धपछि सम्पदा संरक्षणमा ध्यान गएको देखिन्छ। सन् १९७२ मा विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षणको विषयमा महासन्धि पारित भएको थियो। विश्वले मूर्त सम्पदा मात्रै नभई अमूर्त तथा अभौतिक सम्पदाको महत्व बुझेर यसको संरक्षणमा पछिल्लो समय विशेष जोड दिँदै आएको छ। युनेस्कोको सन् २००३ मा पेरिसमा सम्पन्न बत्तीसौं साधारणसभाले अमूर्त सांस्कृतिक सम्पदा संरक्षण महासन्धि पारित गरेको थियो भने नेपालले यसलाई सन् २०१० बाट अंगीकार गरेको छ।

चीनमा एघारौं राष्ट्रिय जनकांग्रेसको स्थायी समितिको उन्नाईसौं सत्रले सन् २०११ जुनबाट लागू हुने गरी फरवरी २५ मा अमूर्त सांस्कृतिक सम्पदा कानुन पारित गरेको थियो। यस कानुनको भावना तीन बुँदामा व्यक्त गरिएको छ, पहिलो– उक्त कानुनले 'एउटा उद्देश्य' परिभाषित गर्छ : चीन राष्ट्रको उत्कृष्ट परम्परागत संस्कृतिको उत्थान तथा नवपुस्तामा हस्तान्तरण गर्दै अगाडि लैजाने र समाजवादी आध्यात्मिक सभ्यता निर्माणको प्रवद्र्धन गर्दै अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई बलियो बनाउँदै लैजाने छ।

दोस्रो– उक्त कानुनले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा दुइटा सिद्धान्त अघि सारेको छ। संरक्षण र प्रमाणीकरण र पूर्णता तथा उत्तराधिकार या हस्तान्तरणमा केन्द्रित गरिनुपर्छ। चिनियाँ संस्कृतिको पहिचान बलियो बनाउन, राष्ट्रिय एकता र जातीय एकता कायम राख्न र सामाजिक सद्भाव र स्थायी विकासलाई बढाउन सहयोग पुर्‍याउनु पर्छ। तेस्रो– उक्त कानुनले 'तीन प्रणाली' अर्थात् अनुसन्धान प्रणाली, प्रतिनिधि परियोजना सूची प्रणाली र उत्तराधिकार तथा प्रसार प्रणाली प्रदान गर्छ। अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि अनुसन्धान मुख्य भाग हो।

सन् २००६, सन् २००८, सन् २०११ र सन् २०१४ मा गरी चारपटक चीन सरकारको राज्य परिषद्ले अमूर्त सम्पदाको राष्ट्रिय सूची सार्वजनिक गरेको थियो। यसमा १० वटा विषय लोकसाहित्य, परम्परागत संगीत, परम्परागत नृत्य, परम्परागत नाटक, परम्परागत कला, लोककला, परम्परागत खेल, मनोरञ्जन र कलाबाजी, परम्परागत प्रविधि, परम्परागत औषधि, लोकप्रथाहरू गरी १३७२ वटा अमूर्त सम्पदालाई राष्ट्रिय सूचीमा राखिएको छ। चीन सरकारको राज्य परिषद्ले अमूर्त सम्पदाको संरक्षणमा विशेष महत्व दिएको छ।

नेपालमा मौलिक विशेषता बोकेका सांस्कृतिक सम्पदामा जानअनजानमा प्रहार गर्न थालेको सयौं वर्ष भइसकेको छ। गुठी प्राचीन र जीवन्त सांस्कृतिक परम्परा बोकेको एउटा अमूर्त सांस्कृतिक सम्पदा हो। यसको यथोचित संरक्षण र विकास तथा संवद्र्घन गर्नका लागि विभिन्न नीतिहरू अवलम्बन गर्नु जरुरी छ। साथै युनेस्को महासन्धि २००३ अनुसार प्रक्रियागत रूपमा सूचीकरण गरेर गुठीसहित अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा संवद्र्घन गर्दै जानुपर्ने छ।

मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा संरक्षण गर्न नागरिक, जनता र देशको कर्तव्य हो। कुनै पनि संस्कृति र चालचलनमा उक्त जाति र समुदायको भावना जोडिएको हुन्छ। जब देशले ती संस्कृतिलाई अपनत्व गर्छ तब ती जाति र समुदाय देशको नागरिक हुनुमा गर्व गर्छन्। सोसँगै देशमा सामाजिक सद्भाव र एकताको प्रसार हुन्छ र देश संगठित हुन सक्छ। सांस्कृतिक सम्पदाको क्षतिले देशलाई अधोगतिमा लैजान्छ, इतिहास साक्षी छ।


(यो लेख वि.स. २०७६ असार १२ बिहिबारको अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ)

जानकारी तथा लेखहरु