फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले विकासमा यसरी फट्को मार्‍यो

(GMT+08:00) 2019-09-25 19:03:03

-अजय अलौकिक

अक्टुबर १ चिनियाँका लागि ऐतिहासिक दिन हो। यो वर्ष जनगणतन्त्र चीनको ७० औं वार्षिकोत्सव हो। हरेक वर्ष नयाँ चीन स्थापनाको वार्षिकोत्सवका अवसरमा चीनको राजधानी बेइजिङको केन्द्रीय भाग थ्येनआनमन चोकमा सैनिक परेडसँगै भव्य समारोह आयोजना गर्ने चलन छ। यस पटकको समारोह अझै विशेष हुने बताइएको छ। राष्ट्रिय चाड नजिकिँदै गरेकाले सहरहरू चिनियाँ प्रतीक लालटिन तथा फूलहरूले सिंगारिएका छन्। थ्येनआनमन चोकमा सन् १९४९ अक्टुबर १ मा नयाँ चीनका पिता अध्यक्ष माओ च तुङले जनगणतन्त्र चीन स्थापनाको घोषणा गरेका थिए। पछिल्ला ७० वर्षहरूमा चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ नेताको दूरदर्शिता, जनताको त्याग, तपस्या र मेहनतकै कारण चीनले अभूतपूर्व सफलता हासिल गरेको छ।

चीनको चामत्कारिक विकासलाई सारा विश्वले प्रशंसा गरेको छ। अद्भूत चीनको विकासमाथि कतिपय मुलुकले ईष्र्या पनि गरेका छन्। साथै चीनको विकासलाई अनुकरण गर्न चाहने र चीनको सहयोगमा विकसित मुलुकमा दरिन चाहने मुलुक धेरै छन्। आजको विश्वमा हरेक क्षेत्रमा सक्रिय भूमिका निभाउनुअघि चीनले विगतका वर्षहरूमा धेरै कठिनाइ र चुनौतीको सामना गरेको थियो। चिनियाँ जनतालाई समृद्ध बनाउने र देशलाई विश्वमा अग्रपंक्तिमा पुर्‍याउने प्रयास सफल भइसकेको छ। यसलाई निरन्तरता दिँदै विश्वलाई एकैसाथ अगाडि बढाउँदै साझा भाग्य समुदाय निर्माणको परिकल्पनासँगै अघि बढेको छ।

१.४ अर्ब जनसंख्या र ५६ जातिको फूलबारी चीनले सन् २०२० सम्ममा पूर्ण रूपमा गरिबीमुक्त तथा समृद्ध समाज निर्माणको लक्ष्य पूरा गर्दैछ। चीनले गरिबी निवारणमा प्राप्त गरेको उपलब्धिले विश्वलाई चकित तुल्याएको छ। चीनले ४० वर्षको अन्तरालमा ७० करोड चिनियाँलाई गरिबीमुक्त बनाएर चमत्कार नै गरेको थियो। तैपनि कतिपय नागरिक गरिबीको रेखामुनि नै छन्। सन् २०२० सम्म चीनलाई समृद्ध समाज बनाउने घोषणा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले गरेका छन्। यस क्रममा पछिल्ला ६ वर्षमा फेरि पनि विश्व चीनको यस चमत्कारको साक्षी बनेको छ। एक तथ्यांकअनुसार, सन् २०१२ मा ९ करोड ९० लाख गरिब जनता थिए भने सन् २०१८ मा आइपुग्दा यो संख्या एक करोड ६६ लाखमा झरेको छ। जसरी ४० वर्षमा ७० करोड गरिबी जनसंख्या घटाएर चमत्कार गरेको थियो, त्यसरी नै ६ वर्षमा ८ करोड गरिबी जनसंख्या घटाएर अर्को चमत्कार गरेको छ। गरिबी निवारणको इतिहासमा यो शानदार जित हो। राष्ट्राध्यक्ष सीले यस वर्ष २०१९ मा १ करोड गरिब जनतालाई गरिबीबाट मुक्त गर्न निर्देशन दिएका छन्। गरिब जनता र पिछडिएको गाउँको समग्र विकासमा समस्त चीन लागिपरेको छ।

नयाँ चीनको स्थापनापछि ग्रामीण जनसंख्याको अनुपात करिब ५० प्रतिशतले कम भएको छ। चीनको राष्ट्रिय तथ्यांक ब्यूरो (एनबीएस)का अनुसार, सन् १९४९ मा ग्रामीण जनसंख्याको अनुपात ८९.३६ प्रतिशत थियो जुन सन् २०१८ सम्म आइपुग्दा ४०.४२ प्रतिशतमा घटेको छ। चीनले गरिबी निवारणमा पाएको सफलता र अनुभव विकासोन्मुख देशमा गरिबी उन्मूलन गर्न सहयोगी पनि भएको छ। चीनले १६६ देशहरूमा अर्बौं यूआन सहयोगस्वरूप बाड्ँदै आएको छ।

विश्वकै दोस्रो शक्तिशाली आर्थिक राष्ट्र बनिसकेको चीन अबको दस÷बीस वर्षसम्ममा विश्वकै पहिलो आर्थिक राष्ट्र बन्ने होडमा छ। सन् २०१८ मा चीनको प्रति व्यक्ति कुल राष्ट्रिय आम्दानी (जीएनआई) मध्यम आयस्तरका देशहरूको औसत स्तरभन्दा माथि छ। तथ्यांकअनुसार, २०१८ मा चीनको जीएनआई नौ हजार सात सय डलरभन्दा बढी छ। यसले विगत ७० वर्षमा चीनको राष्ट्रिय अर्थव्यवस्था तीव्र रूपले बढिरहेको जनाउँछ। नयाँ चीन स्थापनापछि सन् १९५२ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) ६७.९ अर्ब यूआन थियो र प्रति व्यक्ति जीडीपी ११९ यूआन थियो। सन् १९७८ मा ३६७.९ अर्ब यूआन पुगेको जीडीपी खुलापन तथा सुधार नीति अपनाएपछि चीनको आर्थिक तथा सामाजिक विकासले रफ्तार समातेको थियो। सन् १९८६ मा चीनको जीडीपी एक खर्ब यूआनभन्दा बढी पुगेको थियो र सन् २००० मा विश्वको छैठौं ठूलो आर्थिक शक्ति बनेको थियो।

चीन सन् २०१० मा ४१.२१ खर्ब यूआनको जीडीपीसँगै विश्वको दोस्रो ठूलो आर्थिक शक्ति बन्न सफल भएको थियो। सन् २०१८ मा चीनको जीडीपी ९०.०३ खर्ब यूआन (१३.६१ खर्ब डलर) पुगेको छ र विश्व अर्थव्यवस्थाको करिब १६ प्रतिशत भाग ओगटेको छ। स्थिर मूल्यको आधारमा सन् १९५२ को तुलनामा चीनको गत वर्ष २०१८ को जीडीपी १७५ गुणाले बढेको छ र औसत वार्षिक वृद्धि दर ८.१ प्रतिशत छ। त्यसैगरी डलरमा आधारित तथ्यांकअनुसार, सन् १९५२ मा चीनको जीडीपी ३० अर्ब डलर थियो भने सन् २०१८ मा १३.६१ खर्ब पुगेको छ। यस आधारमा वृद्धि ४५२ गुणाले भएको छ।

एनबीएसको तथ्यांक अनुसार, सन् १९६१ देखि १९७८ सम्म विश्व अर्थव्यवस्थामा चीनको औसत वार्षिक योगदान दर १.१ प्रतिशत थियो। सन् १९७९ देखि २०१२ सम्म विश्वको दोस्रो स्थानमा रहँदै औसत वार्षिक योगदान दर १५.९ प्रतिशत पुगेको थियो। सन् २०१३ देखि २०१८ सम्म २८.१ प्रतिशतसँगै विश्वमा पहिलो स्थान ओगटेको छ। सन् २०१८ को अन्तमा विदेशी मुद्रा सञ्चिती ३.०७ त्रिलियन डलर पुगेको छ जुन १३ वर्षदेखि लगातार विश्वमा अग्रपंक्तिमा छ जब कि सन् १९५२ मा मात्र १०८ मिलियन थियो। सन् १९४९ मा चीनका सहरमा बेरोजगार दर २३.५ प्रतिशत पुगेको थियो भने सन् २०१८ मा ४.९ प्रतिशतमा झरेको छ। सन् २०१८ मा सन् १९४९ को तुलनामा पाँच गुणा बढी रेलवे सञ्चालनमा आएको छ। त्यसैगरी विश्वको ६० प्रतिशतभन्दा बढी भाग ओगट्दै चिनियाँ उच्च गतिको रेलमार्गको लम्बाइ २९ हजार किलोमिटर पुगेको छ। त्यसैगरी जलमार्ग तथा हवाई मार्गमा पनि सयौं गुणाले प्रगति गरेको छ। सन् २०१८ मा मोबाइल नेट चलाउने चिनियाँको संख्या १.३१ अर्ब पुगेको छ र योसँगै हरेक क्षेत्रमा अनलाइन प्रयोगकर्ताको वृद्धिसँगै डिजिटल इकोनोमीमा चीन अग्रसर छ। उच्चस्तरीय प्रविधिमा पनि फट्को मारेको चीनले कृषि क्षेत्रलाई पनि अत्याधुनिकीकरण गर्दै लगेको छ। हाल विश्वको २० प्रतिशत जनसंख्यालाई पुग्ने ६५८ अर्ब किलोग्राम अन्न उत्पादन गर्न सफल छ, चीन। ७० वर्षमा अन्न उत्पादन पाँच गुणाले बढेको छ।

त्यसैगरी ७० वर्षको यात्रा तय गर्ने क्रममा सन् १९६४ मा चीनले परमाणु बमको परीक्षण गर्दै आफ्नो शक्तिको परिचय प्रदर्शन गरेको थियो, जहाँ पहिला आक्रमण नगर्ने बचन दिएको छ। त्यसैगरी सन् २००३ मा अन्तरिक्षमा पाइला टेक्दै चिनियाँले अन्तरिक्ष अन्वेषण तथा अनुसन्धानमा ठूलो लगानी गर्दै आएको छ। सन् २००८ मा ओलम्पिक खेलकुद आयोजना गर्नुका साथै खेलकुदको संसारमा पनि विश्वको अग्रपंक्तिमा छ। २००८ मा नै सछ्वानमा विनाशकारी भूकम्प गएबाट झण्डै ८७ हजारको मृत्यु भएको थियो र चीनले भूकम्प, आँधीतुफान, बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपबाट बर्सेनि हुँदै आएको क्षति न्यूनीकरणमा पनि ठूलो सफलता प्राप्त गर्दै आएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगद्वारा जारी एक तथ्यांकअनुसार, चिनियाँको औसत आयु सन् १९४९ को ३५ वर्षबाट बढेर सन् २०१८ मा ७७ पुगेको छ।

१४ वटा देशसँग सीमा जोडिएको विशाल चीनले हाल कूटनीतिलाई नयाँ मोड दिएको छ। बितेका वर्षहरूमा आफ्नो देश र क्षेत्रको विकासमा मात्र ध्यान दिँदै आएकोमा हाल आफ्नो विकास र अनुभव तथा प्रविधि र लगानी विश्वभर फैलाउन चाहेको छ। अहस्तक्षेपकारी नीति, सार्वभौमिकताको सम्मानलाई निरन्तरता दिँदै वैश्वीकरणमा विशेष जोड दिएको छ। विश्वमा देखिएको संरक्षणवाद तथा आतंकवाद र ठूला मुलुकले ससानामाथिको हस्तक्षेपमाथि आवाज बुलन्द बनाएको छ। चीन आफ्नो कूटनीतिको विशिष्ट परम्परालाई कायम राख्दै नयाँ युगउन्मुख बनेको छ। चीन पन्ध्र वर्षसम्मको प्रयासपछि सन् २००१ मा विश्व व्यापार संगठनको सदस्य बन्न सफल भएको थियो। हाल चीन संयुक्त राष्ट्र संघ, जी २०, एससीओ, ब्रिक्स, सिकालगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघसंगठनहरूमा आबद्ध छ। त्यसबाहेक चीनले सारेको नविन रेसममार्ग बेल्ट एन्ड रोडमा विश्वका १३६ वटा देश र ३० वटा संगठन आबद्ध भइसकेका छन्।

(साभारः अन्नपूर्णपोस्ट दैनिकमा वि.स. २०७६ असोज ०८ बुधबार, सेप्टम्बर २५, २०१९ मा प्रकाशित)

जानकारी तथा लेखहरु