बागवानी वास्तु कला
          चीनको बागवानी वास्तु कलाको इतिहास निकै पूरानो छ। बागवानीको विश्व इतिहासमा त्यसले लोकपृय नाउँ कमाएको छ। तीन हजार वर्षभन्दा अघिको चीनको चौ वंशकालमा नै प्रथम दरबारी बगैंचा देखापरेको थियो। चीनको शहरिया बागवानी वास्तु कला विचित्र र विविधतापूर्ण छ। त्यसले विश्वका तीनवटा ठूला बागवानी वास्तु कला प्रणालीहरुमध्ये गौरवान्वित स्थान ओगटिबसेको छ।

          चीनको बागवानी वास्तु कलामा विशाल र भव्य शाही उद्यान कुंज र चिटिक्क पर्ने खालको निजी बगैंचा समावेश छन्। ती वास्तु कलामा कृत्रिम सुन्दरता र प्राकृतिक सौन्दर्यलाई एक अर्कासँग आबद्ध हुनेगरी एकै सूत्रमा गासिएको छ। त्यसमा रहेका कृत्रिम थुम्को, मसिनो छाल छचल्कीरहेको पोखरी、हरिया-परिया घाँस、रंगीचंगी फूल、रुखका बोट、विभिन्न आकारमा रहेका मण्डप、ठूला साना आँगन、लामा बरन्डा、ढुंगे/काठे पुल、साइन बोर्ड र लिपी कुंदाइहरु ठीक ठाउँमा एकदमै मिल्ने गरी बनाइएका हुन्छन्। यसबाट ती सबै निर्जीव वस्तुहरु पनि सजीवजस्तै भएका कारण मानिसहरु तीनमा रहँदा आफूलाई नै बिर्सेजस्तो गरी मग्नमस्त हुन्छन्।

          चीनको बागवानी वास्तु कलालाई, खासगरी, निम्न तीन किसिमको मनोभावनामा विभाजित गरिएको पाइन्छ। जुन यस प्रकार छन्-

          एक: व्यवहारिकता、उच्च सामाजिक जिम्मेवारी、नैतिक मूल्य र राजनीतिक महत्वमा जोड जस्ता विचारधाराद्बारा समाजसँग व्यवहार गर्ने चीनको कन्फ्युयर्स विचारधारामा निहित मनोभाव;दुइ: प्राकृतिक आनन्दले भरिपूर्ण रहने र स्ययम् आफ्नो मनस्थितिलाई शान्त तुल्याउने विषयवस्तु प्रधान रहेको चीनको ताउ धर्म विचारधारामा निहित दन्त्य कथामा वर्णन गरिए जस्तो आनन्ददायी काल्पनिक, स्वर्गीयजस्तो, मनोभाव र तीन: इच्छा अभिव्यक्त गर्नमा जोड अर्थात् उद्यान कुंजका मालिकको इच्छा र माया देखाउनमा विशेष जोड दिने प्राकृतिक मनोभाव। विश्वविख्यात शाही पार्क युआन मिं‍ग युआन、स् छ्वान् प्रान्तको छिंग छंग पर्वतमा अवस्थित कु छांग नामक ताउ धर्मको मन्दिर र केही प्राचीन साहित्यविद्‍हरुका बगैंचाबाट, बैग्ला बेग्लै गरी, उपरोक्त तीन किसिमका मनोभाव अभिव्यक्त भएको पाइन्छ।

         पश्चिमी वागवानी वास्तु कलाभन्दा चिनियाँ वागवानी वास्तु कलामा देखिने भिन्नता के हो भने पश्चिमी वागवानी वास्तु कलाले ज्यामिति र गणित शास्त्रको सिद्धान्तमा बढी ध्यान दिएको छ र त्यो नै वास्तु कलाको प्रधानतामा रहेको हुन्छ भने चिनियाँ वागवानी वास्तु कलाले त प्राकृतिक सौन्दर्यता तथा दर्शकलाई आनन्द दिने र राम्रो लागेको महसुस गराउने कुरालाई मुख्य विषयको रुपमा लिदै प्रकृति र मानिस दुबैलाई एक अर्कासँग आबद्ध तुल्याउने कुरामा बढी जोड दिएको पाइन्छ।

          सुचौ शहरका वागवानी वास्तु कला

          सन् 1997 मा "विश्व सम्पदा सूची"मा समाबेश गरिएको सुचौ शहरका वागवानी वास्तु कलामा चीनका वागवानी वास्तु कलाको कलात्मक विशेषता केन्द्रीत रुपमा अभिव्यक्त भएका छन्। सुचौ शहरका वागवानी वास्तु कलाको इतिहास 2000 वर्षभन्दा पनि बढी लामो रहिआएको छ। हाल प्रख्यात उद्यान कुंज र बगैंचाको संख्या दशवटाभन्दा अलिक बढी मात्र छ। सुचौ शहरका उद्यान कुंजहरुले प्रायजसो सानो क्षेत्रफल ओगटेको पाइन्छ। तिनले चीनका थांग वंश र सुंग वंशका कविहरुले रचेका कवितामा उल्लिखित शान्त र आनन्दमय मनोभावलाई प्रतिबिम्बित गर्ने गरेकाछन्। तिनमा खासगरी कृत्रिम थुम्काहरु बनाइएका हुन्छन्, स-साना कृत्रिम खोला बनाइएका हुन्छन्, रंगीचंगी फूलहरु लगाइएका र तीनमा विभिन्न प्रकारका चराचुरुंगीहरु पालिएका हुन्छन्। सीमित खाली ठाउँमा कृत्रिम थुम्को, रंगीचंगी फूल, रुखका बोट, मण्डप, पोखरी र स-साना पुल बनाइएको हुँदा यसबाट सानो भए पनि ठूलो देखिने कलात्मक प्रभाव परेको छ। तीमध्ये एकान्तपना र आदिम सरलताका लागि नामी भएका छांग लाङ्ग मण्डप, प्रख्यात सिंह बन, चो चन् अर्थात् निम्न प्रशासकका बगैंचा र ल्यौ युआन बगैंचा आदि समावेश छन्।

           चित्रकारीः सुचौ शहरका वागवानी वास्तु कलाको एक झलक

           युआन मिंग युआन पार्क

           चीनको सबैभन्दा प्रख्यात शाही पार्क र "हजारौं पार्कहरुमध्येको पार्क" कहलिने पैचिंगको युआन मिंग युआन पार्क चीनका सबै ठाउँका फरक-फरक विशेषतायुक्त वागवानी वास्तु कलाको निचोड झिकेर साथै पश्चिमी वास्तु कलाको केही शैलीलाई पनि नक्कल गरेर बनाइएको पार्क हो। पार्कभित्रका वास्तु कला निकै सूक्ष्म र आकर्षक थिए र त्यसमा रहंदा मानिसहरुलाई स्वतः मग्नमस्त भएर आफू प्रकृतिमै डुबे जस्तो भान हुन्थ्यो। आजभन्दा तीन सय वर्षभन्दा अघिको छिंग वंशमा निर्माण गरिएको सो युआन मिंग युआन पार्क तिनताका चीनको सबैभन्दा उत्कृष्ठ शाही पार्क मानिन्थ्यो। जसले यूरोपमा समेत आफ्नो नाउँ कमाएको थियो। यसबाट अठारौं शताव्दिको प्राकृतिक दृश्यावलीयुक्त यूरोपेली उद्यान कुंजको विकासमा पनि केही प्रभाव परेको थियो। तर अफसोसको कुरा के हो भने अति नै शानदार र मनोहर युआन मिंग युआन पार्क सन् 1860 मा चीनमाथि आक्रमण गर्ने बेलायत र फ्रान्सका गठबन्धन सेनाले लगाएको आगोमा ध्वस्त भएको थियो।