मिंग राज्यकालको निर्माण वस्तु
          मिंग राज्यकाल(ईस्वी 1368-1644)देखि चीन सामन्तवादी समाजको अन्तिम कालमा प्रवेश भएको थियो । यस अवधिको वास्तुकलाको शैलीमा धेरैजसो सुंग राज्यकालको शैलीको मात्र उपयोग गरिएको र खासै नयाँ सुधार नभएको देखिन्छ। निर्माण-वस्तुको डिजाइनको दृष्टिबाट हेर्दा त्यसको परिधि निकै फराकिलो र भव्य देखिन्छ।

          यस अवधिको शहरको निर्माण परियोजना तथा दरवारको निर्माण शैली पछिसम्म पनि कायमै राखिएको थियो। राजधानी पैचिंग र चीनमा अहिलेसम्म विद्यमान सबैभन्दा फराकिलो परिधिको प्राचीन शहर – नान् चिंगले मिंग राज्यकालको निर्माण शैलीको विशेषताको अवलम्बन गरेका थिए। छिंग राज्यकालमा राजदरवारको निर्माण गर्दा मिंग राज्यकालको राजदरवारको आधारमा निरंन्तर रुपमा विस्तृत र सुव्यवस्थित पारिएको थियो। यस अवधिमा राजधानी पैचिंग पहिलेको आधारमा सुधार गरेर बनाइएको थियो । त्यस बेलाको पैचिंग शहरको निर्माण पूरा भएपछि बाह्य भाग, भित्री भाग र राजदरवारको भाग गरी तीन भागमा विभाजित गरिएको थियो।

           मिंग राज्यकालताका प्रतिरोधात्मक निर्माण वस्तु अर्थात लामो पर्खालको निर्माण गर्दा सशक्त शक्ति लगाइएको थियो। लामो पर्खालको निर्माण गर्दा त्यसका धेरै महत्वपूर्ण भागका भित्ता, किल्ला र बुर्जाघरहरुमा ईंटको प्रयोग गरिएको थियो र निर्माणको स्तर पनि चरमोत्कर्षमा पुगेको थियो। मिंग राज्यकालमा निर्मित लामो पर्खाल पूर्वतीर या लु च्यां नदी देखि शुरु भई पश्चिमतीर कान् सुको च्या यु क्वान् भन्ने नाका सम्म पुगेको थियो। त्यसको लम्बाइ 5660 किलोमिटर रहेको थियो। शान्हाई क्वान्, च्या यु क्वान् आदि नाकाका रुपमा रहेका प्रसिद्ध शहर चीनको वास्तुकलामा विशिष्ट शैलीका उत्कृष्ट नमूना हुन। कलात्मकताको दृष्टिबाट हेर्दा पैचिंगको पा ता लिङ खण्डको लामो पर्खाल, स मा थाई खण्डको लामो पर्खाल निकै मूल्यवान् रहेको बताइएको छ।

(लामो पर्खालको चित्र)

           यस अवधिमा दरबार शैलीको निर्माणमा शोभा, रंगिन चित्र र सजावट जस्ता कुराहरुमा दिनप्रति दिन नयाँ प्रयोग गर्नथालिएको पाइन्छ। त्यस बेला ईंटको व्यापक प्रयोग गर्न थालियो। यसका अतिरिक्त काठ, बनावटी कांचको कलप चढाइएको बस्तु आदि विभिन्न गुणस्तरका सामग्रीहरु लोक निवासको निर्माणमा पनि प्रयोग गरियो।

            मिंग राज्यकालमा चीनको निर्माण वस्तुको समूह झन् राम्रोसँग मिलाइएको थियो । नान् चिंगको मिङ राज्यको सिआओ लिन् भन्ने समाधि र पैचिंगको तेह्रजना राजाको समाधिको निर्माण गर्दा भौगोलिक स्थिति र वातावरणलाई राम्रोसँग ध्यान दिइएको पाइन्छ। समाधिको गम्भिर वातावरण प्रतिबिम्बित गर्नसक्ने तीनै समाधि हुन।

             मिंग राज्यकालमा दरबार, घर वा समाधिको निर्माण गर्दा ज्योतिषले प्राकृतिक वातावरणको अवलोकन गर्ने चलन चलिसकेको थियो। चीनको वास्तु कलाको इनिहासमा यो रीतिथिति आधुनिक युगसम्म कायमै रहेको थियो। यसका अतिरिक्त मिंग राज्यकालका चीनको फर्निचरले पनि विश्वमा नाम कमाएका थिए।