चीनको पहिलो सामन्ती राज-वंश— छिन

                ईसा पूर्व 221 मा, दुइ हजार वर्षभन्दा पूरानो भूदास प्रथामा आधारित समाजपछि चीनको इतिहासमा पहिलो पटक एकीकृत केन्द्रीय शासन व्यवस्था सञ्चानल परिपाटीमा आधारित सामन्ती राज-वंश— छिन राज-वंश अस्तित्वमा आएको थियो। छिन राज-वंशको अस्तित्वबाट चीनको इतिहासमा अतिनै महत्वपूर्ण भूमिका निर्वाह भएको थियो।

                ईसा पूर्व 255 देखि 222 सम्मको अवधि चिनियाँ इतिहासमा युद्धरत राज्यहरुको अवधि थियो र यो चीनको भूदास प्रथामा आधारित समाजको अन्तिम अवधि थियो। त्यस बेला स-साना धेरैवटा स्वतन्त्र राज्यहरु थिए। तिनीहरुका बीच पारस्परिक रुपमा एकले अर्कामाथि विजय हासिल गरी गाभ्ने प्रकृया चलेको थियो। यस प्रक्रियाको अन्तमा तुलनात्मक रुपमा ठूला राज्य मात्र बाँकी रहेका थिए। ती राज्यहरु छिन, छि, छु, वै, येन, हान, चाउ राज्य थिए। ती सातवटा राज्यहरुमध्ये उत्तर-पश्चिमी भागमा पर्ने चीन राज्यमा पहिले नै सैनिक र कृषि क्षेत्रको सुधार गरिएका कारण त्यसको राष्ट्रिय शक्ति द्रुत गतिले बलियो हुँदैगएको थियो । ईसा पूर्व 247 मा तेह्र वर्षको उमेर मात्र भएका यिन् चन् छिन राजा बन्नुभयो। उहाँ बाइस वर्षको हुँदा स्वयम् आफैले शासन व्यवस्था चलाउन शुरु गर्नुभएपछि अन्य छवटा राज्यलाई गाम्ने र सबै राज्यको एकीकरण गर्ने महान रणनीति शुरु गर्नुभयो। उहाँले व्यापक रुपमा दक्ष व्यक्तिहरुको खोजी गर्नुभयो। दक्षता भएका व्यक्तिहरुले उचित पद सम्हाल्न पाउँथे। जस्तो भनौं, "चन् को नहर"को निर्माण गर्नका लागि उहाँले हान् राज्यका जासूसी चन् कोको उपयोग गर्नुभयो। जसको परिणाम स्वरुप छिन् राज्यका चालीस हजार हेक्टरभन्दा बढी क्षार भूमिलाई उर्बर खेत-जग्गामा परिणत गरिएको थियो र छिन् राज्यद्बारा चीनको एकीकरणका लागि पर्याप्त भौतिक अवस्था उपलव्ध गराइएको थियो । ईसा पूर्व 230 देखि 221 सम्मको अवधिमा यिन् चनले छि, छु, वै, येन, हान, चाउ जस्ता छवटा राज्यलाई जितेर चीनको एकीकरणको लक्ष्य पूरा गर्नुभयो। यसरी चीनको इतिहासमा पहिलो पटक एउटा एकीकृत र केन्द्रित छिन् राज-वंश देखापरेको थियो। र यसरी छिन् यिन् चन चिनियाँ इतिहासमा प्रथम सम्राट बन्नुभयो।

            छिन् राज्यद्बारा चीनको एकीकरणको चिनियाँ इतिहासका लागि असाध्यै ठूलो अर्थ रहेको थियो। सर्वप्रथम, प्रथम सम्राट छिनले जिल्ला र नगरको प्रणाली शुरु गर्नुभयो। सारा देशलाई छत्तिसवटा नगरमा विभाजित गरिएको थियो र नगरका मातहतमा जिल्ला राखिएका थिए। केन्द्रीय र स्थानीय अधिकारीहरुको छनौट र नियक्ति सम्राट आफै गर्नुहुन्थ्यो। छिन राज-वंशले शुरु गरेको जिल्ला र नगर सम्बन्धी प्रणाली दुइ हजार वर्षभन्दा बढी समयसम्म पनि चीनमा नियमित प्रणालीका रुपमा चल्दैआएको थियो। अहिलेको चीनका धेरै जिल्लाहरुको नाउँ दुइ हजार वर्षभन्दा अघिको छिन् राज-वंशताका राखिएको थियो।

            चीनको एकीकरणका क्रममा छिंग राज-वंशको अर्को महत्वपूर्ण योगदान लिपीको एकीकरण हो। छिंग राज-वंशअघि हरेक राज्यका आ-आफ्नै लिपी थिए। ती लिपीको मूल रुप र लेख्ने तरीका उस्तै-उस्तै भए तापनि सँस्कृतिको प्रचार-प्रसार र आदान-प्रदानका लागि यो गतिरोध सावित भएको थियो। छिंग राज-वंशले चीनको एकीकरण गरेपछि छिंग राज-वंशमा उपयोगमा आइरहेको सानो खालको हान च अक्षरलाई राष्ट्रिय लिपीका रुपमा तोकिएको थियो। त्यसपछि चीनको हान च अक्षरको प्रगति नियमअनुसार हुनसकेको देखिन्छ। यो कुरा चिनियाँ इतिहासको स्थापना र सँस्कृतिको विकासका लागि ठूलो महत्वको रहेको छ।

             यसका अतिरिक्त, छिंग राज-वंशले राष्ट्रको नाप तौलको एकीकृत मापदण्ड तोकेको थियो। एकीकरणभन्दा अघि विभिन्न राज्यमा लागू रहेका नाप-तौलका एकाई फरक-फरक थिए, जसले गर्दा मुलुकको आर्थिक विकास गम्भीर रुपमा प्रभावित भएको थियो। यस कुरासित मेल खाने गरी छिंग राज-वंशका प्रथम सम्राटले मुद्रा र ऐन-कानूनमा पनि एकरुपता कायम गर्नुभयो। जसले गर्दा सिंगै राष्ट्रको आर्थिक विकासका लागि अवसर सिर्जना गरिएको मात्र नभई केन्द्रीय सरकारको स्थानलाई पनि बढी मजबूत पारिएको थियो।

             वाक स्वतन्त्रताप्रतिको निरंकुशतालाई अझ मजबूत पार्नका लागि ईसा पूर्व 213 मा छिंग राज-वंशका प्रथम सम्राटले आफ्नो अधिकारको उपयोग गरी संकलन गरेका《छिंगको इतिहास》बाहेक अन्य राज्यका इतिहासका पुस्तकहरु र कन्फ्यूसियसका शास्त्रहरुलाई जलाउने आदेश दिनुभयो। र कुरा कहाँसम्म भने निजी रुपमा ती शास्त्रहरुको संकलन र प्रसार-प्रचारमा संलग्न व्यक्तिहरुलाई मार्ने आदेश पनि दिनुभयो। यसका साथै उत्तरी अल्पसंख्यक जातिको अतिक्रमणको प्रतिरोधका लागि प्रथम सम्राटले पहिले अन्य राज्यबाट निर्मित लामो पर्खालको मर्मत गरी पश्चिमी मरुभूमिदेखि पूर्वी समुद्रसम्मको पाँच हजार किलोमिटर लामो ग्रेट वालको निर्माण गर्ने आदेश दिनुभयो। प्रथम सम्राटले प्रशस्त जन-धनको उपयोग गरी लि शान् नामक समाधिस्थलको निर्माण गर्नलगाउनु भयो। त्यो नै हालको टेराकोटा सिपाही सहितको समाधिस्थल हो।

               छिंग राज्यका प्रथम सम्राटले चीनको एकीकरण गरी चिनियाँ इतिहासमा लामो समयसम्म स-साना राज्यहरु विभाजित अवस्थामा रहेको परिस्थितिको अन्त्य गरी हान जाति प्रधान भएको बहु-जातीय शक्तिशाली सामन्ती साम्राज्यको स्थापना गर्नुभयो। त्यसबाट चिनियाँ इतिहासमा नयाँ अध्याय शुरु गर्‍यो।