तुन् व्हांग मो गाओ गुफा निर्माणको रहस्य

             तुन् व्हांग मो गाओ गुफा विश्वमा सबैभन्दा ठूलो र चौतर्फी रुपमा संरक्षित अवस्थामा रहेको वौद्ध गुफा हो। सारा संसारको ध्यान आकर्षित गर्न सफल यो अमूल्य कलात्मक भण्डार उत्तर-पश्चिमी चीनको गोबी मरुभूमिको भिरालोमा रहनुको अर्थ के होला?

               प्राचीन भनाइ अनुसार, तुन् व्हांग मो गाओ गुफाका लागि स्थान छनोट गर्ने काम ल चन् नामका भिक्षुले गरेका थिए। सन् 366 मा भिक्षु ल चन् पश्चिमतिर यात्रा गर्दै तुन् व्हांगको सान् वै पहाडको फेदीमा पुग्नुभयो। त्यति बेला बेलुकी भैसकेको थियो। तर उहाँले बास बस्ने ठाउँ भने पाउनु भएको थिएन। उहाँले सोच्दासोच्दै अकस्मात टाउको उठाउनु भयो र आफ्ना आँखा अगाडि अनौठो दृश्य देख्नुभयो: परपट्टि रहेको मिंग शा पहाड सुनौलो किरणले झलमल्लै भएको थियो, ती चहकिला सुनौला किरणका बीचमा उहाँले वुद्धका लाखौं-करोडौं आकृतिहरु देख्नुभयो। भिक्षु ल चन् उक्त अनौठो दृश्यबाट प्रभावित हुनुभयो। उहाँले मनमनै सोच्नुभयोः यो पो पवित्र स्थान होला। त्यसैले उहाँले श्रमिकहरु लगाएर त्यहाँ खन्ने कार्य शुरु गर्नुभयो। यसरी थांग राज-वंशकालसम्ममा त्यहाँ एक हजारवटाभन्दा बढी गुफा बनिसकेका थिए।

             विशेषज्ञहरुले लामो समयसम्म अन्वेषण गरी के कुरा पत्ता लगाएका छन भने मो गाओ गुफाको निर्माण विल्कुलै आकस्मिक होइन, बरु त्यो प्राचीन कालका जनताको चलाक बुद्धिको उत्पत्ति हो। गोबी मरुभूमिको हरित क्षेत्रलाई यसका लागि ठेगाना छान्नुको अर्थ दुनियाँको सुख-भोगी जीवनदेखि अलग्गिएर प्रकृतिसित मिल्नजाने वौद्ध धर्मको विचारधारा प्रतिबिम्बित भएको छ। ती गुफाहरु पहाडको फेदिमा पानीको छेऊमा निर्मित गरिएका थिए। ति गुफाहरुका अगाडिबाट बगिरहेको तांग छ्युआन खोलाको पानीले मो गाओ गुफा वरपरका रुखहरुलाई सिंचिरहन्थ्यो जसबाट त्यहाँको दृश्यावली विशेष रुपमा शान्त देखिन्थ्यो। हिउँदमा उत्तरतिरबाट हावाले बालुवाले उडाएर ल्याउँथ्यो, तर त्यसले मो गाओ गुफालाई केही असर गर्दैनथ्यो। ग्रीष्म कालमा पूर्वदेखि हावा चल्थ्यो। त्यसबेला मो गाओ गुफा परको सान् वै पहाड यौटा प्राकृतिक पर्दा बन्नपुगेको थियो। यसैले हावा वा बालुवाले ती गुफालाई प्रत्यक्ष रुपमा नोक्सानी पुर्‍याउन सक्दैनथे। यसैले मो गाओ गुफा त्यस सुख्खा क्षेत्रमा सबैभन्दा सुरक्षित ठाउँ बनेको थियो।

             यसै कारणले गर्दा हो, मो गाओ गुफामा हजार वर्षजतिको समय बितिसकेपछि पनि एघारवटा राज-वंशका 492 वटा गूफाहरु तथा थुप्रै भित्ते-चित्र र मूर्तिहरु अझै पनि सुरक्षित अवस्थामा छन। त्यस गुफा समुदायले विश्वका लागि एकदमै मूल्यवान साँस्कृतिक र कलात्मक सम्पदा उपलव्ध गराएको छ।