शान तीङ तुङ गुफामा बस्ने मानिसहरुबाट बनाइएको हाडको सियो तथा सिंगार-पटारका वस्तुहरु

         आजभन्दा पच्चीस हजार वर्षअघि मानव जातिले सियो बनाउन र त्यसको प्रयोग गर्न सिकेको थियो। यस किसिमको सियो हाडबाट बनाइएको थियो। पूरातत्त्वविदहरुले यूरोपको औरीग्नासीएन भग्नावशेषमा यस किसिमको हाडको सियो फेला पारेका छन। तर त्यस हाडको सियो बनाउने प्रविधि त्यति उच्चस्तरीय थिएन। चीनको शान तीङ तुङ गुफामा भेटाइएको हाडको सियो बनाउने प्रविधि निकै उच्च स्तरीय भएको कुरा प्रमाणित भएको छ जुन निकै प्रशंसनीय छ।

           यस हाडको सियोको लम्बाइ 82 मिलिमिटर र यस सियोको व्यास तीन मिलिमिटर छ। यो सियो सलाईभन्दा अलिकति बाक्लो छ। यो सियो अलिकति टेढो छ र निकै तिखो छ। यस सियोको प्वाल स्पष्ट देखिन्छ। यो प्वाल तिखो चीजले बनाइएको हो। तर अफसोसको कुरा, उत्खननका क्रममा यो सियो केही हदसम्म बिग्रिसकेको छ।

            सियोको प्रयोग गर्दा धागो चाहिन्छ। तर गुफामा बस्ने मानिसहरुले प्रयोग गरेको धागो पत्ता लगाउनु असाध्यै गाह्रो कुरा हो। सम्बन्धित विशेषज्ञको विश्लेषण अनुसार, शान तीङ तुङ गुफामा बस्नेहरुले प्रयोग गरेको धागो मृगको स्नायु भएको हुनसक्ने सम्भावना छ। यस किसिमको स्नायु हान नामक एक किसिमको मृगको शरिरबाट निकालिएको हो। यस किसिमको स्नायु लगभग आधा मिटर लामो अनि पातलो तथा सेतो देखिन्छ।

           सियो र धागो भएमा लुगा सिउन सकिन्छ। प्राप्त सामग्रीका आधारमा अड्कल गरिएअनुसार, शान तीङ तुङ गुफामा बस्ने मानिसहरु लुगा लगाउँथे।

           अठार हजार वर्षभन्दा अघि त्यस गुफामा बसोबास गर्ने मानिसहरु सिंगार-पटार गर्ने वस्तुहरु बनाउन सक्थे। पूरातत्त्वविदहरुले भग्नावशेषमा शान तीङ तुङ गुफामा बस्ने मानिसहरुले लगाएको हार भेटेका छन। यस किसिमको हार विभिन्न प्रकारका रङ्गीचङ्गी ढुंगा र पशुहरुका दाँत, माछाका हाड आदिमा प्वाल पारी डोरीमा उनिएको छ। यसका साथै हार उनिएको डोरी र ती सिंगार-पटारका वस्तुहरुका स-साना प्वालमा रङ्ग पनि लगाइएको देखिन्छ। यस किसिमको रङ्ग शान तीङ तुङ गुफामा बस्ने मानिसहरुले रातो ढुंगालाई धूलो पारेर बनाएको अनुमान गरिएको छ।