कवि छ्यु युआन तथा उहाँका कविताहरु

           विगत हजारौं वर्षदेखि यता चिनियाँ जनताले सबैभन्दा बढी कदर गरेका र मन पराएका कविहरुमध्ये श्री छ्यु युआन एक हुनुहुन्छ। उहाँ चीनको युद्ध काल (इशा पूर्व 475 देखि इशा पूर्व 221) का प्रसिद्ध कवि हुनुहुन्छ। युद्ध कालमा चीनका विभिन्न राज्यहरु बीच निरन्तर रुपमा युद्ध भइरहन्थ्यो। तिनताका छिन र छु राज्य सबैभन्दा सशक्त थिए भने अन्य दशवटाभन्दा बढी राज्यहरु यी दुइवटा राज्यको अधिनमा थिए।

           श्री छ्यु युआन छु राज्यको उच्च तहका जातिका व्यक्ति हुनुका साथै सरकारका उच्च पदाधिकारी पनि हुनुहुन्थ्यो। उहाँ निकै बुद्धिमान हुनुहुन्थ्यो र कुटनैतिक क्षेत्रमा पनि प्रसिद्धि कमाउनु भएको थियो। त्यस बेला केही विद्बानहरुले आफ्नो राजनैतिक संकल्पलाई साकार तुल्याउनका लागि विभिन्न राज्यहरुमा गएर त्यहाँका नेताहरुसँग विचार-विमर्श गर्नेगरेका थिए। तर श्री छ्यु युआनले आफ्नो छु राज्यलाई समृद्धि पार्ने संकल्प लिएर आफ्नो राज्यबाट अन्यत्र जानुभएको थिएन। तर आन्तरिक मामिला र कुटनैतिक क्षेत्रमा छु राज्यका उच्च तह बीच गम्भीर मतभेद भएकाले छु राज्यका नेताले उहाँलाई विश्वास गर्नुभएको थिएन। छु राज्यको स्थान र शक्ति क्रमशः कमजोर भएको परिप्रेक्षमा इशा पूर्व 278 मा छिन राज्यका सेनाले छु राज्यको राजधानीमाथि कब्जा गर्‍यो। आफ्नो राज्यको अस्तित्व मेटिएका कारण निकै दु:खी भएका श्री छ्यु युआनले नदीमा हाम फालेर आत्महत्या गर्नुभयो।

          श्री छ्यु युआनले धेरै प्रसिद्ध कविताहरु लेख्नुभएको थियो। उहाँको कविता "ली साउ" चीनको प्राचीन साहित्त्यिक इतिहासमा आफ्नो राजनैतिक संकल्प अभिव्यक्त गरिएको सबैभन्दा लामो कविता हो। सोही कवितामा श्री छ्यु युआनले प्रशस्त ऐतिहासिक कथाहरुलाई उद्धृत गर्दै छु राज्यका नेताले बुद्धिमानीपूर्वक उचित र निस्वार्थ नीति अपनाएर अन्य राज्यहरुसँगै संयुक्त प्रयास गरी सक्रियताका साथ छिन राज्यको सामना गर्ने आशा व्यक्त गर्नुभएको थियो। "ली साउ" ले चीनको पहिलो कविता संग्रह "स चिंग" को विकास गरी चीनका कविताका विषयहरुलाई विविध पारी चीनको प्राचीन कविताको सिर्जनाका लागि मार्ग प्रशस्त गरेको थियो।

          "ली साउ" बाहेक श्री छ्यु युआनले लेख्नुभएको "थ्येन वन" पनि एउटा प्रसिद्ध कविता हो। यसमा आकाशसँग भौगोलिक र साहित्त्यिक आदि क्षेत्रसित सम्बन्धित 172 वटा प्रश्न सोधिएको छ। श्री छ्यु युआनले परम्परागत धारणामाथि शंका गरेको र तथ्यमाथि आधारित हुने वैज्ञानिक भावनाको समर्थन गरेको कुरा पनि सोही कवितामा उल्लेख गरिएको छ। यसका अतिरिक्त, श्री छ्यु युआनले प्राचीन कालमा आफ्नो परीवारमा स्वर्गवास भएका व्यक्तिहरुको पूजा गर्ने लोक-कविताहरुका आधारमा देव-देवीको पूजा गर्ने कविता "च्यौ क" मा धेरै देव-देवीहरुको पात्र उफ्याउनुभएको थियो।

          श्री छ्यु युआनका कविताहरुमा धेरै अनौठा विचारहरु देखिन्छन। उहाँले फूल र रुखलाई पनि मान्छेको रुपमा व्याख्या गर्नुभएको छ भने केही परिहरुको सिर्जना पनि गर्नुभएको छ। श्री छ्यु युआनका कविताहरुमा उहाँको देशभक्तिपूर्ण भावना पनि देखिन्छ। त्यसैले विगत हजारौं वर्षदेखि यता श्री छ्यु युआन चिनियाँहरुले मन पराएका र कदर गरेका प्राचीन कवि हुनुहुन्छ।