व्हाङ्ग ती र छ यु बीचको युद्ध

           केयौं हजार वर्ष अघि चीनको याँसी र व्हाङ्ग ह नदी क्षेत्रमा धेरै जातिका मानिसहरुको बसोबास थियो। व्हाङ्ग ह नदी क्षेत्रमा बसोबास गरिरहेको एक जातिका प्रसिद्ध नायकको नाम व्हाङ्ग ती थियो। त्यहाँ बस्ने अर्को जातिका नायकको नाम येन ती हो। यिनीहरु दुइजना दाजु-भाइ थिए। याङ्ग सि नदी क्षेत्रमा ज्यु लि नामको एक जातिको बसोबास थियो। त्यसको नाइकेको नाम छ यौ थियो। उनी ज्यादै शक्तिशाली थिए।

             छ युका एकासीजना दाजु-भाइ थिए। तीनीहरुको टाउको मान्छेको थियो भने जीउ जनावरको। तीनीहरुको टाउको तामाले बनेको थियो भने हात फलामले। तिनीहरु छुरी र धनु जस्ता हात-हतियार बनाउने काममा सिपालु थिए। नायके छ यौ सधैं अरु जन-जातिमाथि आक्रमण गर्नेगर्दथे।

           एक दिन छ यौले नायक येन ती जन-जातिको बसोबास रहेको क्षेत्रमाथि कब्जा गरे। छ यौसँगको युद्धमा येन ती पराजित भए। नायक येन ती नायक व्हाङ्ग ती बस्ने ठाँउ चो लु गई सहयोगका लागि आग्रह गरे। व्हाङ्ग तीले अन्य विभिन्न जातिका नायकहरुसँगै मिलेर चो लुमा छ यौसँग संघर्ष गरे। यस युद्धलाई चीनको इतिहासमा "चो लु महायुद्ध" भनिन्छ।

           युद्धको शुरुमा छ यौले राम्रा हात-हतियार र बीर सैनिकका कारण विजय प्राप्त गरे। त्यसपछि व्हाङ्ग तीले आफूलाई सहयोग गर्न नाग र अरु शक्तिशाली जनावरहरु बोलाए। जति सुकै बहादूर भए तापनि व्हाङ्ग तीका सेना र यी शक्तिशाली जनावरका सामु छ यौका सैनिकले हार खानुपर्‍यो।

            व्हाङ तीले छ यौका सैनिकहरुलाई मारिरहेको बेलामा छ यौले वायु-देवता र जल-देवतालाई निमन्त्रणा गरे। अकस्मात आकाश अँध्यारो भयो। हुरी-बतासका साथ कुहिरो आयो, बेस्सरी पानी पर्‍यो र चट्याङ्ग पनि पर्‍यो। व्हाङ्ग तीले सुख्खा देवतालाई पनि बोलाए। सुख्खा देवताले हावा र पानीलाई भगाए।

            छ यौले फेरि राक्षसी तरिकामार्फत कुहिरोलाई बोलाए। व्हाङ्ग तीको सेनाले केही पनि देख्न सकेनन। व्हाङ्ग तीले आकाशमा रहेका ध्रुव तारा मार्फत आफ्नो सेनालाई दिशा देखाएर दिग्‌दर्शक गाडी पनि बनाए। त्यस गाडीले सैनिकलाई कुहिरोबाट बाहिर जाने बाटो देखायो।

            यस भयङ्कर युद्धमा व्हाङ्ग तीले छ यौका एकासीजना भाइलाई मारे र छ यौलाई समाते। व्हाङ्ग तीले छ यौलाई मारेपछि उसको टाउको र जीउ दुइ ठाउँमा गाडे। छ यौले लगाएको हत्कडी धेरै टाढा पहाडमा फ्याँकियो। त्यो हत्कडी एक समूहको रुख बन्यो। ती रुखका पातहरुको रंग रातो थियो। यो छ यौको रगत हो।

             छ यौ मरेपछि मानिसहरु उसदेखि अझ डराउनथाले। व्हाङ्ग तीले छ यौको चित्र आफ्नो सैनिक झण्डामा राख्दै आफ्ना सैनिकहरुलाई प्रोत्साहित गरे र आफू-विरोधी जन-जातिलाई त्रसित पारे।

           व्हाङ्ग ती निकै चलाक र सिपालु थिए। उनलाई दरबार, गाडी, डुंगा र रंगी-चंगी लुगा-फाटा बनाउन आउँथ्यो। व्हाङ्ग तीकी दिदी लो चिएले पनि धेरै आविष्कार गरेको थिइन। जस्तो कि, उनले मानिसहरुलाई रेशम किरा पाल्न सिकाइन, रेशमका तन्तु तान्न सिकाइन र रेशमका कपडा बनाउन सिकाइन। लो चिए दिदीले छाताको आविष्कार पनि गरेकी थिइन।

              चीनको पूरानो पौराणिक कथामा व्हाङ्ग तीलाई निकै मान गरिएको छ। त्यसपछिका मानिसहरुले आफूलाई व्हाङ्ग तीका सन्तान भएको भन्ठानेका छन। येन ती र व्हाङ्ग ती पहिले नजिकैका नाता कुतुम्व भएकाले चिनियाँहरुले आफू येन ती र व्हाङ्ग तीका सन्तान भएको ठहर गरेका छन्। यी दुइजना साझा पुर्ख्यौलीको सम्झना गर्नका लागि चिनियाँहरुले व्हाङ्ग ह नदीको किनारामा पर्ने पल्लो शान् सी प्रान्तको व्हाङ्ग लिङ्ग जिल्लादेखि उत्तरी क्षेत्रको छिआउ पहाडमा "व्हाङ्ग तीको समाधि" बनाएका छन। प्रत्येक वसन्त ऋतुमा, विश्वका विभिन्न ठाउँमा बसोबास गरिरहेका चिनियाँ मूलका विदेशीका प्रतिनिधिहरु त्यहाँ भेला भई व्हाङ्ग तीको स्मरण गर्दछन।