हौ ईले सूर्यलाई तारो हानेको कथा

          प्राचीनकालमा आकाशमा दशवटा सूर्य थिए। ती दशवटा सूर्यको किरणले जग्गालाई साह्रै नराम्रोसँग तताए। परिणामस्वरुप खेतिपाति केही पनि हुनसकेन। मानिसहरुलाई सास फेर्न पनि गाह्रो भएर बेहोश हुनथाले। जनावरहरु सुकेका ताल तथा नदी र तातिएको जंगलबाट बाहिर निस्के र मानिसहरुलाई मार्नथाले।

           मानिसहरु बिपत्तिमा परेको कुरा देवता थिएन् डीले थाहा पाएपछि हौ यी र उनकी स्वास्नी छाङ्ग होलाई मानिसहरुको मद्दत गर्न धरतीमा पठाए। हौ यी, आफ्नी स्वास्नीसँगै, थिएन् डी सम्राटले दिएको रातो धनुष र एक झोलाको बाण लिएर गए।

           हौ यीले दशवटा सूर्यलाई पालै-पालो गरी एक दिन एउटा सूर्य निस्केर मानिसहरुलाई उज्यालो र न्यानो दिन अनुरोध गरे। तर दशवटा सूर्यले उसको कुरा मान्दैमानेनन्। रिसले चूर भएका हौ यीले सेतो बाण लिएर नौवटा सूर्यलाई मारिदिए। आकाशमा अब एउटा सूर्य मात्र बाँकिरह्यो। त्यसैले मानिसहरुले हौ यीलाई खुब मन पराउनथाले।

          हौ यीको सफलता स्वर्गका कुनै पनि देवतालाई मन परेन। तिनीहरुले देव-राज थिएन् डीकहाँ गएर हौ यीका बारेमा नराम्रो कुरा सुनाए। थिएन डीले हौ यी र उसकी स्वास्नी छाँ होलाई निकाले। उनीहरु दुइजना केही उपाय नलागेपछि सामान्य मानिसहरुसँगसँगै बसेर अलिक दु:खी जीवन बिताउनथाले। हौ यी शिकार गर्थे।

          आफ्नी स्वास्नीले आफूसँगै दुखी जीवन विताउनु परेकोमा हौ यीललाई दु:ख लाग्यो। उनले खुन लुन पहाडमा बस्ने देवी सिवाङ्गमूसँग एक किसिमको ओखति भएको कुरा सुने। मानिसले यस औषधि खाएपछि उ उडेर स्वर्ग जानसक्छ भन्ने कुरा हौ यीलाई थाहा भयो। हौ यीले धेरै दु:ख गरेर खुन लु पहाडमा पुगे र देवी सिवाङ्गमूसँग औषधि मागेर पाए। त्यो औषधि दुइजनाका लागि कम भएका कारण उनले यो औषधि घरमा लुकाए।

             हौ यीकी स्वास्नी छाँ हो यस्तो दु:खमय जीवन बिताउनु इच्छुक थिइनन। हौ यी बाहिर गएको बेला पारेर छाँ होले लुकाइकन राखिएको औषधि खोजेर पाइन् र एक्लै उक्त औषधि खाइन्। त्यो औषधि खानेबित्तिकै छाँ होको जीउ बिस्तारै हलुङ्गो भयो। उनी उडेर चन्द्रमामा पुगिन। हौ यीले छाँ हो चन्द्रमामा गैसकेको कुरा थाहा पाएर साह्रै दुखी भए र छाँ होसित एक्लै आफूखुशी विदा लिए।

            हौ यी एक्लो भएपछि पनि शिकार गर्थे र केही शिश्यहरुलाई तारो हान्न सिकाउँथे। उनका विद्यार्थीहरुमध्ये फोङ्ग मोन नामका एकजना शिश्य थिए। उनी तारो हान्न धेरै सिपालु थिए। उनले हौ यी जीवित रहिरहेमा आफू कहिल्यै पहिलो स्थानमा पुग्न नपाउने सोचेर एक दिन हौ यीलाई रक्सी लागेको बेला पारेर मारिदिए।

            चन्द्रमा पुगेकी छाँ हो खालि औषधि बनाइहेको एउटा खरायो र रुख काटिहेको एकजना बुढासँग बस्दछिन्। जब उनी श्रीमान हौ यीसँग बिताएको जीवनको सिंहावलोकन गर्थिन तब उनी आफूलाई झन् एक्लो अनुभव गर्थिन र पछुताउँथिन। हालसम्म पनि छाँ हौले चन्द्रमामा दुखमय जीवन बिताइरहेकी छिन्।