यान च
         चीनको इतिहासमा सबैभन्दा राम्रो ऐतिहासिक पुस्तक"श ची"मा लेखकले एकजना चलाख र बहादुर कुटनीतिज्ञका बारेमा उल्लेख गरेका थिए। ती बहादुर कुटनीतिज्ञ इसा पूर्व छैटौं शताब्दीमा चीनको छी राज्यका यान च हुन। यान च सम्बन्धी धेरै कथा चीनमा व्यापक रुपमा प्रचलित छन। अब म यान चले छु राज्यको भ्रमण गरेको सम्बन्धी कथा सुनाउँछु।

         एक दिन यान च छु राज्यको भ्रमणमा गए। छु राज्यका सम्राटले यान च होचो भएको कुरा थाहा पाएपछि यान चलाई जिस्काउने विचार गरे। छु राज्यका सम्राटले शहरको ढोका नजिकै एउटा सानो ढोका बनाएर यान चलाई त्यस सानो ढोकाबाट भित्र आउन आदेश दिए।

         यान चले त्यस अनुरोधलाई अस्विकार गरे। उनले भनेः "कुकुरको देशमा पुगेपछि मात्र कुकुर पस्ने प्वालबाट भित्र जानुपर्छ। म छु राज्यको भ्रमण गर्न आएको छु। मैले कुकुर पस्ने प्वालबाट भित्र जानुहुँदैन।"

         यान चको स्वागतमा जुटेका छु राज्यका पदाधिकारीले उनको कुरा सुनेर वाध्य भएर उनलाई शहरको ढोकामा लगे। भित्र प्रवेश गरेपछि यान च छु राज्यका सम्राटसँग भेट्न गए। छु राज्यका सम्राटले सोधेः "तिम्रो राज्यमा तिमीबाहेक कोही पनि नभएकाले तिमीलाई पठाइएको हो?"

         यान चले जवाफ दिएः "हाम्रो राज्यमा निकै धेरै मान्छे छन। राजधानीमा मात्रै सयौं सडक छन। त्यहाँका मानिसहरुले हात माथि उठाए भने सूर्यको किरणलाई छेक्नसक्छन। मानिसहरुले आफ्नो पसिना बगाए भने पानी परेको जस्तो देखिन्छ। सडकहरुमा मानिसहरुको भीड देखिन्छ। तपाईंले किन छी राज्यमा मानिस छैन भन्ने कुरा गर्नुभयो?"

         छु राज्यका सम्राटले फेरि सोधेः "त्यसो भए किन तिमीलाई पठाइएको त?"

         यान चले विस्तारै भनेः"हाम्रो छी राज्यमा दूत पठाउनु निकै जटिल कुरा हो। हाम्रो राज्यमा चलाख र क्षमतायुक्त दूतहरुलाई सद्गुण भएका राज्यमा पठाउने चलन छ भने मूर्ख र अयोग्य दूतहरुलाई अयोग्य राज्यहरुमा पठाउने चलन छ। म ती मूर्ख दूतहरुमध्येको सबैभन्दा मूर्ख र सबैभन्दा अयोग्य दूत हुँ। त्यसैले मलाई छु राज्यको भ्रमण गर्न पठाइएको हो।"यान चको कुरा सुनेर छु राज्यका पदाधिकारीहरु चूप लागे र लामो समयसम्म केही पनि बोल्न सकेनन।

         त्यस पटकको भ्रमण सम्पन्न भयो। केही समयपछि यान च फेरि छु राज्यको भ्रमणमा गए। छु राज्यका सम्राटले यस समाचार सुनेर आफ्ना पदाधिकारीसँग भनेः "यान च छी राज्यको सबैभन्दा योग्य र राम्रोसँग छलफल गर्नसक्ने मान्छे हो। उ हाम्रो छु राज्यको भ्रमणमा आउन लागिरहेको छ। म उसलाई अपमानित गर्न खोज्दैछु। तिमीहरुसँग कुनै राम्रो विचार छ कि?"

         एकजना पदाधिकारीले सुझाव दिएः "यान च आएपछि दुइजना सिपाहीले एकजना मान्छेलाई बाँधेर सम्राट समक्ष ल्याउँछन। अनि सम्राटले यो को हो? भनेर सोध्नुहुन्छ। अनि सिपाही जवाफ दिन्छः छी राज्यको मानिस। अनि सम्राटले अगाडि सोध्नुहुन्छः उसलाई किन बाँधिएको? सिपाही भन्छः उसले अरु मान्छेको सामान चोरेको छ।"छु राज्यका सम्राटले यो कुरा सुने र यो राम्रो विचार भएको भन्ठाने।

         यान च छु राज्य आएपछि छुका सम्राटले उनको सम्मानमा भोजको आयोजना गरे। रक्सी खाँदा-खाँदै दुइजना सिपाहीले एकजना मान्छेलाई बाँधेर सम्राट समक्ष ल्याए। सम्राटले सोधेः "यो को हो ? यसलाई किन बाँधिएको?"

         सिपाहीले जवाफ दियोः "सम्राट उ छी राज्यको मानिस हो। उसले अरु मान्छेको सामान चोरेको छ।"

         छु राज्यका सम्राटले यान चलाई हेरेर भनेः "छी राज्यका मानिसलाई जन्मदासाथ चोर्न आउँछ कि कसो?"

         यान चले उभिएर गम्भीर मुद्रामा भनेः "मैले एउटा कुरा सुनें। एक किसिमको बोट छी राज्यमा राम्रोसँग हुर्कन्छ र फल्छ। त्यसलाई ल्याएर छु राज्यको माटोमा रोपेपछि त्यस बोटका पात छी राज्यमा भएका जस्तै भए तापनि त्यसको फल निकै नमिठो हुन्छ। किनभने, यी दुइवटा ठाँउको वातावरण र मौसम फरक-फरक छ। यो मान्छे छी राज्यमा चोर्दै-चोर्दैन। छु राज्य आएर कसरी चोर्न सिक्यो यसले। यसको कारण, छु राज्यको वातावरणले मान्छेलाई चोर बनाउँछ होला?"

          छु राज्यका सम्राटले उनको कुरा सुनेर भने:"शुरुमा मैले तपाईंलाई खेलाउने विचार गरेको थिएँ। तर अन्तमा तपाईंद्बारा म नै खेलाइएँ।"

         यान चका सम्बन्धमा यस्ता कथाहरु धेरै छन। यान चले आफ्नो वाक्पटुताले छी राज्य तथा यान च आफैलाई नै अपमानित गर्ने केही मुलुकहरुको कुचेष्टलाई ध्वस्त पारेका छन।