माटे खेलौना(पाँच)

          उत्तरी चीनको ह पै प्रान्तको सिंग छंग जिल्लामा पर्ने पाइ कौ बस्ती प्राचीन कालदेखि नै लोक खेलौना उत्पादन गर्ने प्रसिद्ध स्थान हो। ती माटे खेलौनाका विषयवस्तुहरु व्यापक छन्। नाम कमाइसकेका माटाबाट बनाइएका केटा-केटी खेलौना बाहेक ओपेराका पात्रहरुमा आधारित माटे मूर्तिहरु पनि छन्। जुन प्रायजसो ह पै पाङ्ग च् भन्ने ह पै प्रान्तको स्थानीय ओपेराका कथाका आधारमा बनाइएका हुन्। दुइजना मानिस जोडिएको होस् वा तीनजना मानिस जोडिएको, ती सबै एउटै साँचोमा ढालेर एक अर्कासँग जोडिने गरी बनाइएका हुन्। मानिस मानिसबीच खाली ठाउँ नछोडिएकाले त्यसको साँचो पल्टाउन सजिलो हुनुका साथै त्यसको बलियोपनमा पनि वृद्धि भएको छ।

          ओपेराका कथामा आधारित माटे खेलौनामध्येका तरवार, घोडा र मानिस समूह विशेष गरी कोठाभित्र सजाउने खालको ठूलो ढाँचाका माटाको खेलौना हो। त्यो साठी सेन्टीमीटर अग्लो छ। त्यसको आकार सरल र सादा देखिन्छ। त्यसमा रहेका मानिस हृष्ठपुष्ठ घोडामा चढेर हातमा धारिलो तरवार समातेको एकदमै बलियो, फुर्तिलो र वीरजस्तो देखिन्छ। त्यो मूर्ति सामान्यतया घरको बैठक कोठामा ढोकाको सामुन्ने भित्ता अगाडि राखिने लामो टेबुलको दुबैपट्टि सजाइएका हुन्छ। सजावट बाहेक तरवार, घोडा र मानिसको मूर्तिबाट दानवलाई पन्छाउने, प्रकोपबाट जोगाउने, घरलाई फलिफाप पार्ने र परीवारको रक्षा गर्ने भूमिका हुने प्रचलित लोक मान्यता छ।

 

   यस चित्रमा रहेका तरवार, घोडा र मानिसको आकार सरल छ, त्यसको रंग ताजा र उज्यालो छ। यसबाट मानिसलाई सादा र स्वाभाविक अनुभव हुन्छ। यो मूर्ति देख्नासाथ त्यसले अभिव्यक्त गर्नखोजेको अर्थ सजिलैसँग बुझ्न सकिन्छ। सेतो रंगको पींधमा रातो, पहेंलो र कालो रंग लगाइएको छ। तीमध्ये रातो र पहेंलो रंग प्रधानतामा रहेको छ। त्यो हेर्दा एकदमै माया लाग्दो छ, त्यसमा केटा-केटीपन झल्कन्छ र त्यो उत्सुकता जगाउने खालको छ।