कपडाको बाघ

         कपडाको बाघ चीनको लोक-दुनियाँमा व्यापक रुपमा प्रचलित रहिआएको एक खेलौना हो। चिनियाँहरुको दिमागमा बाघ भूत-पिसाच र प्रकोपलाई पन्छाउने साथै कुशलता र लच्छिनको प्रतीक हो साथै त्यसले धन-सम्पतिको रक्षा-जोगाड गर्ने काम पनि गर्दछ। चिनियाँ पात्रो अनुसार पाँचौ महिनाको पाँचौ दिनमा पर्ने तुआन ऊ भन्ने चाडको बेलामा लोक-दुनियाँमा वाल-वालिकालाई कपडाको बाघ बनाउने वा लाल हरितालले वाल-वालिकाको निधारमा बाघको अनुहार कोर्ने चलन छ। त्यसबाट मानिस स्वस्थ, बलियो र साहसी हुने विश्वास गरिन्छ। कपडाको बाघमा एक-टाउके बाघ, दुइ-टाउके बाघ, चार-टाउके बाघ, बघिनी, तकियाका लागि बाघ र सेटदार बाघ गरी किसिम-किसिमका बाघ रहेका छन्।

        कपडाको बाघ बनाउन प्रयोग गरिने सामग्री र शीप-कला फरक-फरक छ। प्रायजसो देखिने बाघ कपडा वा रेशमी कपडाबाट बनाइएको हुन्छ, त्यस्ता कपडाबाट बाघको रुप-आकारमा सिएपछि त्यसभित्र काठको धूलो वा भुस भरेर अनि कपडामा रंगीन बुट्टा कोर्ने, कारचोपी भर्ने, कैंचीले प्वाल पार्ने, टाँस्ने, कुँद्ने र टाटो हाल्ने जस्ता तरिकाद्बारा बाघका आँखा, मुख, नाक, कान र अरु बुट्टाहरु कोरेर बाघको रुप दिइन्छ। कपडाको बाघको टाउको निकै ठूलो, मुख निकै ठूलो र पुच्छर निकै ठूलो भएमा त्यो निकै शक्तिशाली र साहसिलो भएको मानिन्छ। बाघको टाउको र अनुहारका सबै अवयवहरु माया लाग्दा हुन्छन र त्यसमा मायालु केटाकेटीपन झल्किन्छ।

         तुआन ऊ चाड बाहेक वसन्त चाड, युआन स्याओ अर्थात् दिपावली आदि अरु चाडबाडको बेला तथा नयाँ बच्चा जन्मिएको तेश्रो दिन, सयौं दिन, जन्मिएको एक वर्ष र दुइ वर्षका बेलामा पनि मानिसहरुले सधैं नै विभिन्न आकारका कपडाका बाघ बनाउने गर्दछन्। यसबाट पनि भूत-पिसाचलाई भगाउने-पन्छाउने, रोग व्याधीदेखि हटाउने र आशीर्वाद दिने अर्थ बुझाइएको छ।