चीनको लोक-कलामा उल्लेखित देवता(तीन)

         चीनको लोक दुनियाँमा व्यवसायजन्य देवताको पूजा गर्ने चलन निकै प्रचलित छ। दैनिक जीवनमा होस् अथवा चाडवाडका दिन, विभिन्न व्यवसायमा लाग्नेहरुको घर-निवास, वर्कशप र पसलहरुमा आ-आफ्नो व्यवसायमा मानिने देवताको मूर्ति राखेर तिनको पूजा गर्ने चलन छ। तीमध्ये रोग-व्याधिलाई हटाउनका लागि महा-चिकित्सक देवताको पूजा गर्नेहरु पनि छन्। महा-चिकित्सक देवता भनेको ओखती-उपचार क्षेत्रका संस्थापक हुन। तीमध्ये सुन स् यी, पेन छ्युए, व्हा थो, फी थोंग, ल्यू तोंग पिन, पाउ शंग ता ती र ली श् चन् आदि व्यक्तिहरु थिए। उहाँहरुमा अधिकांश चीनको प्राचीन कालका प्रसिद्ध चिकित्सक हुनुहुन्थ्यो। यसका साथै किंवदन्ती कथामा लेखिएका विरामीलाई हेर्ने पात्रहरुमा वै छ् चाँग, वै कु ताउ, वै शान् च्युन्, नेत्र रानी कहलाउने येन व्काँग न्याँग न्याँग र थे क्वाइ ली आदिलाई पनि सर्वसाधारणहरुले महा-चिकित्सक देवता मानेर तिनको पूजा-आजा गर्ने गर्दथे।

         यस चित्रमा प्रदर्शित महा-चिकित्सक देवता "वै" थरका व्यक्ति हुन्। उनले हातमा चिनियाँ जरी-बुटीबाट बनाइएको औषधीको डल्लो लिएका छन्। उनको बाँयाँपट्टि मुन्तिर एकजना व्यक्तिले औषधी हालिएको तुम्बा बोकेका छन्। उनका दाँयाँ र बाँयाँ दुबैतिर दुइजना वाल सुसारे उभिएका छन्। उनको मास्तिर "उत्तेजनशील महा-चिकित्सक ऋषि देवता वै" भन्ने अक्षरहरु लेखिएका छन्। यस चित्रमा मानिसहरु ठूला-साना गरी स्पष्टसँग छुट्याइएका छन्। महा-चिकित्सक देवता वैको अनुहारको मुद्रा र विशेषतालाई विशेष रुपमा दर्शाइएको छ। पहेंलो कागजमा कोरिएको कालो धर्को निकै मसिनो, बाक्लो र छरितो देखिन्छ। सम्पूर्ण चित्रको बनौट एकदमै मिलेको छ र यो साँच्चै पैचिंगको विशेषतायुक्त छ।