कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल

          कन्फ्यूसस विश्वका महान दार्शनिकहरुमध्येका एक हुनुहुन्थ्यो। उहाँ चीनको कन्फ्यूससवादका संस्थापक हुनुहुन्छ। उहाँको स्मरणमा स्थापित गुम्बा, उहाँको निवास र समाधिस्थललाई "कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थल" भनिन्छ। चीनको इतिहास र पूर्वी विश्वको साँस्कृतिक इतिहासमा त्यसको आफ्नै उल्लेखनीय स्थान छ।

           कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थललाई "तीन कन्फ्यूसस" पनि भनिन्छ जुन कन्फ्यूससको जन्मथलो अर्थात् पूर्वी चीनको शान तुंग प्रान्तको छ्यु फु शहरमा अवस्थित छ।

           कन्फ्यूससको गुम्बालाई "चीनको प्रथम गुम्बा"भनिन्छ। त्यो चीनमा कन्फ्यूससको स्मरणका लागि सबैभन्दा ठूलो ठाउँ हो। ईशा पूर्व 478 अर्थात् कन्फ्यूससको निधनको दोस्रो वर्ष, लु राज्यका सम्राटले उहाँको जन्मथलोलाई गुम्बाको आकारमा निर्माण गर्नुभएको थियो। त्यसमा कन्फ्यूससका लुगाहरु र उहाँद्बारा प्रयोग गरिने वस्तुहरु राखिएका थिए। त्यहाँ हरेक वर्ष आयोजित गरिने समारोहमा उहाँको स्मरण गरिन्थ्यो। त्यसपछि कन्फ्यूससद्बारा स्थापना गरिएको वाद सम्बन्धी सँस्कृति क्रमश: चीनको परम्परागत सँस्कृतिको रुपमा स्थापित भैसकेको थियो। त्यसपछिका विभिन्न वंशका सम्राटहरुले निरन्तर रुपमा कन्फ्यूससको गुम्बाको विस्तार गरी त्यस गुम्बालाई एउटा ठूलो वास्तुको समूहमा स्थापित गराएका थिए। अठारौं शताव्दीको आरम्भमा छिंग वंशका योंग चंग सम्राटले कन्फ्यूससको गुम्बाको फेरि मरम्मत गर्ने आदेश दिनुभएको थियो। सो आदेश अनुसार, कलाकारहरुले कन्फ्यूससको गुम्बालाई हालको आकार दिएका थिए।

  दक्षिण-उत्तर फैलिएको कन्फ्यूससको उक्त गुम्बा एक हजार मिटरभन्दा लामो छ र त्यसको क्षेत्रफल झण्डै एक लाख वर्गमिटर छ। सो गुम्बामा लगभग पाँच सयवटा कोठा छन्। त्यसको परिधि पैचिंगस्थित कु कोंग दरबारभन्दा मात्र सानो छ जुन प्राचीन चीनमा स्मरण गरिने गुम्बा-वास्तुको उदाहरण हो।

           कन्फ्यूससको गुम्बाको वास्तु शैलीमा सामन्तवादी समाजको वास्तुको सर्वोच्च-स्तर अर्थात् राज दरबारको वास्तु-शैली देख्नपाइन्छ। त्यस्तो वास्तु शैली ज्यादै गम्भीर र शानदार देखिन्छ। यसको मध्यदेखि दायाँ र बायाँको भाग समान देखिन्छ। कन्फ्यूससको गुम्बाका नौ तला छन् र मुख्य दरबारमा नौवटा कोठा छन। एक्लो अंकमा नौ सबैभन्दा ठूलो अंक हो। सामन्तवादी समाजमा सम्राटले मात्र "नौ"को प्रयोग गर्नसक्थे। विशेषगरी, वास्तुको पक्षमा सम्राट बाहेक अरु मान्छेले "नौ"को प्रयोग गरेमा त्यस मान्छेलाई सजाय दिइने चलन थियो। तर कन्फ्यूससको गुम्बाको वास्तुमा यो चलनलाई मान्यता दिइएको थिएन। कन्फ्यूससको गुम्बाको मुख्य दरबार अगाडि पाँचवटा ढोका निर्माण गरिएको छ। सामन्दवादी समाजको व्यवस्था अनुसार, राज दरबारमा मात्र पाँचवटा ढोकाको निर्माण गर्नसकिन्थ्यो। पैचिंगमा पर्ने कु कोंग दरबारमा पनि पाँचवटा ढोका छन। कन्फ्यूससको गुम्बामा रहेका पाँचवटा ढोकाबाट सो गुम्बामा सम्राटको सर्वोच्चता पनि समावेश भएको स्पष्ट भएको छ।

           कन्फ्यूससको गुम्बामा रहेको मुख्य दरबार तीस मिटर जति अग्लो छ। त्यसको चौडाई पचास मिटरभन्दा बढी छ। दरबारको माथिल्लो भागलाई पहेंला र रङ्गीचङ्गी ईंटद्बारा ढाकिएको छ जुन टाढाबाट हेर्दा ज्यादै सुन्दर र सुनौलो देखिन्छ। कन्फ्यूससको गुम्बालाई "चीनका तीनवटा ठूला प्राचीन दरबारहरुमध्येको एक" मानिएको छ।

  कन्फ्यूससको गुम्बामा चीनका विभिन्न वंशका दुइ हजारभन्दा बढी ढुङ्गे लीपीहरु छन्। त्यो पनि चीनका ठूला लिपी-समूहहरुमध्येको एक हो। यी ढुङ्गे लिपीहरुमध्ये सम्राटद्बारा लेखिएका लीपी मात्र पचासवटा भन्दा बढी छन्। यी लिपीहरुबाट सामन्तवादी समाजमा कन्फ्यूससको उच्च स्थान रहेको कुरा प्रतिबिम्बित हुन्छ।

          कन्फ्यूससको भवन कन्फ्यूससको गुम्बा नजिकै छ। त्यो कन्फ्यूससका नातेदारहरु बसोबास गर्ने ठाउँ थियो। त्यो पनि मिंग वंशको राज-दरबार बाहेकको सबैभन्दा ठूलो निवास थियो।

   कन्फ्यूससको भवनको निर्माण बाह्रौं/तेह्रौं शताव्दीमा गरिएको थियो। त्यो सामन्तवादी समाजका कुलीन र भूमिपतिहरुको निवास-भवन थियो। त्यसको क्षेत्रफल झण्डै पचास हजार वर्गमिटर छ। त्यस भवनमा विभिन्न आकारका जम्मा पाँचसय कोठा छन। कन्फ्यूससको भवनको आकार पनि विशेषखालको छ। त्यसको अगाडिको भाग औपचारिक रुपमा काम गर्ने ठाउँ हो भने पछाडिको भाग दैनिक जीवनमा बसोबास आदिका लागि हो। केही कोठाहरुमा मिंग र छिंग वंशको वास्तु-शैली पनि स्पष्ट रुपमा देखिन्छ। कन्फ्यूससको भवनमा अधिकांश मूल्यवान ऐतिहासिक दस्तावेज, विभिन्न वंशका पोशाक र उच्च ऐतिहासिक गुणस्तर सहितका पूरातात्त्विक वस्तुहरु समावेश छन।

   कन्फ्यूससको समाधिस्थल कन्फ्यूसस र उहाँका परीवारको निजी समाधिस्थल हो। त्यो हाल विश्वको इतिहासमा सबैभन्दा लामो र सबैभन्दा बढी क्षेत्रफल भएको समाधिस्थल हो। कन्फ्यूससको यस समाधिस्थलमा झण्डै 2500 वर्षसम्म कन्फ्यूससका नातेदारहरुलाई समाधिष्थ गरिंदैआइएको छ। त्यसको क्षेत्रफल बीस हजार वर्गकिलोमिटर जति छ। त्यसमा कन्फ्यूसस र उहाँका नातेदारहरुको चिहानहरुको संख्या एक लाखभन्दा बढी छ। कन्फ्यूससको समाधिस्थलमा हान वंशदेखि यताका पाँच हजारभन्दा बढी ढुङ्गामा कुँदिएका लिपीहरु राखिएका छन।

  कन्फ्यूससको समाधिस्थलले चीनको युगौं-युगदेखिका राजनैतिक, आर्थिक तथा साँस्कृतिक विकास र अन्तिम संस्कारको अध्ययनका लागि अनिवार्य स्थलको भूमिका निर्वाह गर्दैआएको छ।

           कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थलमा थुप्रै विश्वप्रख्यात साँस्कृतिक सम्पदा हुनुका साथै अधिकांश मूल्यवान प्राकृतिक सम्पदा पनि छन। कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थलमा सत्र हजारभन्दा बढी प्राचीन बोट-विरुवाहरु पनि प्राचीन कालको मौसम र पर्यावरणीय अनुसन्धानका लागि मूल्यवान वस्तुहरु हुन।

            कन्फ्यूससको गुम्बा, कन्फ्यूससको भवन र कन्फ्यूससको समाधिस्थलमा प्रशस्त साँस्कृतिक सम्पदा, लामो इतिहास, विशेष वास्तु शैली र वैज्ञानिक मूल्य रहेकाले विश्वमा यसको निकै उच्च स्थान छ। सन् 1994 मा यी तीनवटा ठाउँलाई विश्व सम्पदा परिषदद्बारा विश्व साँस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको छ।