चिनियाँ कम्युनिष्ट पार्टी

           चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ मजदूर वर्गको अग्रज दल हो। साथै त्यो चिनियाँ जनता र चिनियाँ जातिको पथ-प्रदर्शक दल पनि हो। त्यो चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्था स्थापनाको दिशामा गरिने कार्यको नेतृत्वदायी अंग हो। त्यसले चीनको उन्नतशील उत्पादन शक्तिको विकासको आवश्यकता, चीनको अग्रगामी साँस्कृतिक दिशा र आम चिनियाँ जनताको मौलिक हितको प्रतिनिधित्व गर्दछ ।

          चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च आदर्श र अन्तिम लक्ष्य साम्यवादी व्यवस्था स्थापनाको उद्देश्यलाई साकार तुल्याउनु हो । पार्टीको विधानमा तोकिएअनुसार, चिनियाँ कम्युनिष्ट पार्टीले मार्क्सवाद-लेनिनवाद, माओ च तोंग विचारधारा, तंग स्याउ फिंगको सिद्धान्त तथा तीनवटा प्रतिनिधित्वको महत्वपूर्ण विचारलाई आफ्नो कार्य-निर्देशकका रुपमा लिएको छ ।

          सन् 1921 को जूलाइमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो। सन् 1921 देखि सन् 1949 सम्म चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गरी कठोर संघर्षको परिणामस्वरुप साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूंजिवादको शासनलाई पल्टाएर जन गणतन्त्र चीनको स्थापना गरेको हो । नयाँ चीनको स्थापनापछि चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रभरिका विभिन्न जातिका बासिन्दाको नेतृत्व गरी राष्ट्रको स्वतन्त्रता र सुरक्षाको संरक्षण गरेको छ, चिनियाँ समाजलाई नयाँ जनवादबाट समाजवादसम्म सफलताका साथ परिवर्तन गरेको छ र योजनाबद्ध र ठूलो परिमाणको समाजवादी समाजको निर्माण गरेको छ । यसको फलस्वरुप चीनको आर्थिक तथा सांस्कृतिक विकास कार्यले इतिहासमा कहिल्यै नभएको अनुपम सफलता पाएको छ ।

          सन् 1956 मा उत्पादन सामग्रीहरुको निजी स्वामित्वप्रतिको समाजवादी सुधार आधारभूत रुपमा पूरा भएपछि अनुभवको अभावले गर्दा चिनियाँ कम्युनिष्ट पार्टीले समाजवादी समाज निर्माण कार्यको नेतृत्वका क्रममा केही गलती पनि गरेको थियो । सन् 1966 देखि 1976 सम्म महान सांस्कृतिक क्रान्तिका कारण चिनियाँ समाजले दीर्घकालीन गम्भीर भूलको शिकार हुनुपरेको थियो ।

          सन् 1976 को अक्टोबरमा महान सांस्कृतिक क्रान्ति समाप्त भयो र चीन नयाँ ऐतिहासिक विकासको अवधिमा प्रवेश गर्‍यो । सन् 1978 को अन्त्यतिर आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको 11 औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चिनियाँ समाजलाई नयाँ चीनको स्थापनादेखि यताको महत्वपूर्ण र गम्भीर अर्थ रहेको महान् मोडमा पुर्‍यायो । सन् 1979 देखि चिनियाँ कम्युनिष्ट पार्टीले श्री तंग स्याउ फिंगबाट प्रस्तावित सुधार र खुलापनको नीति लागू गर्नथालेको थियो । सुधार र खुलापनको नीति लागू भएदेखि यता चीनको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकासले पनि संसारको ध्यान आकर्षित गर्नेखालको उपलव्धि हासिल गरेको छ र चीनको मुहारमा पनि आकाश-पातालको परिवर्तन देखा परेको छ । यो अवधि नयाँ चीनको स्थापना भएदेखिको सबैभन्दा राम्रो, अथवा श्वर्ण अवधि हो । र यो चिनियाँ जनताले सबैभन्दा बढी सुविधा पाएका अवधि पनि हो।

          चिनियाँ कम्युनिष्ट पार्टीले सक्रियताका साथ परराष्ट्र सम्बन्धको विकास गर्ने धारणा लिएको छ र चीनको सुधार र खुलापन तथा चीनको आधुनिकीकरणको निर्माणका लागि अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गर्ने प्रयास गरेको छ । अन्तर्राष्ट्रिय मामिलामा चिनियाँ कम्युनिष्ट पार्टीले स्वतन्त्र र स्वावलम्वी अनि शान्तिपूर्ण परराष्ट्र नीतिको अवलम्वन गरेको छ । यसै नीतिमा अडिग रहेर चिनियाँ कम्युनिष्ट पार्टीले चीनको स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण गरिरहेको छ, प्रभुत्ववाद र शक्तिको राजनीतिको विरोध गरिरहेको छ, विश्वमा शान्तिको संरक्षण गरिरहेको छ र मानवजातिको प्रगतिलाई अघि बढाउन सहयोग गरिरहेको छ । एक-अर्काको सार्वभौमिकता र प्रादेशिक अक्षुण्णताको सम्मान गर्ने, एक-अर्का देशमाथि आक्रमण नगर्ने, एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सह-अस्तित्वका पाँचवटा सिद्धान्तमा आधारित भै चीन विश्वका सबै मुलुकहरुसितको सम्बन्धको विकास गर्दछ । स्वतन्त्र र स्वावलम्वी, पूर्ण समानता, आपसी सम्मान र एक-अर्काका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चारवटा सिद्धान्तका आधारमा चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका विभिन्न मुलुकका पार्टीहरुसँग मैत्रीपूर्ण सम्बन्धको स्थापना र विकास गरेको छ । हाल चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका 120 वटाभन्दा बढी मुलुकका 300 वटाभन्दा बढी राजनैतिक पार्टीसित मैत्रीपूर्ण सम्पर्क कायम राखेको छ ।

           चिनियाँ कम्युनिष्ट पार्टी आफ्नो कार्यक्रम तथा विधानमा आधारित भै प्रजातान्त्रिक सिद्धान्त अनुसार संगठित एकीकृत पूर्ण इकाइ हो । "चिनियाँ कम्युनिष्ट पार्टीको विधान "मा तोकिएअनुसार, 18 वर्ष उमेर पुगेका चिनियाँ मजदूर, किसान, सैनिक, बुद्धिजिवी तथा अन्य सामाजिक क्षेत्रका अग्रसर व्यक्तित्व, पार्टीको कार्यक्रम र विधानलाई मान्यता दिने पार्टीको एक निकायमा भाग लिने र त्यस निकायमा सक्रियताका साथ काम गर्ने इच्छा लिने र पार्टीको निर्णय लागू गर्ने तथा समयमै मासिक शूल्क तिर्ने शर्तमा चिनियाँ कम्युनिष्ट पार्टीमा सदस्यताका लागि दरखास्त गर्न सक्नेछन् ।

           चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या सात करोड छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङ्ग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक व्यूरोका स्थायी सदस्य:सी चिन फिङ्ग, ली ख छ्याङ्ग, चाङ्ग त च्याङ्ग, यु चङ्ग शङ्ग, लीउ युन शान, वाङ्ग छि शान, चाङ्ग काउ लि