सिमसार

          नदी खोला बाहेक चीनको सिमसारहरुको क्षेत्रफल लगभग छ करोड साठी लाख हेक्टर छ भने विश्वका सिमसारहरुको कुल क्षेत्रफलमा ती सिमसारहरुको दश प्रतिशतको स्थान रहेको छ। जुन सङ्ख्या एशियाको पहिलो स्थान र विश्वको चौथो स्थान रहेको छ। सिमसार सम्बन्धी चीनको चेतना बढ्दै आएकोले नब्बेको दशक यता चीनले सिमसारको संरक्षण र प्रयोग गर्नेतर्फ अनेकौं प्रभावकारी कदमहरु चाल्ने गरेको छ साथै निकै परिधिमा सिमसार तथा जैविक विविधताको संरक्षण पनि गर्नेगरेको छ। बढ्दो जनघनत्व र आर्थिक वृद्धिको दोहोरो चापमा मानव जातिको उत्पादन र जीवनमा सिमसार श्रोतमाथि भर पर्ने तथा सिमसारको विकास गर्ने अवस्था पनि बढ्दै आएकोले सिमसार तथा जैविक विविधतालाई व्यापक रुपमा नष्ट गरिएको देखिएको छ। चालिस वर्षयता लगभग पचास प्रतिशत समुद्री तटवर्ती क्षेत्रका सिमसार लोप भैसकेका थिए र सारा चीनमा लगभग तेह्र प्रतिशत ताल-तलैया पनि सुकिसकेका थिए। उत्तर चीनको है लुंग च्यांग प्रान्तको सान् च्यांग मैदानको अठहत्तर प्रतिशत प्राकृतिक दलदले सिमसार क्षेत्र लोप भैसकेको थियो। दक्षिणी चीनमा पर्ने हुंग हु तालमा जलजन्य वनस्पतिमा चौबीस जात उप-जात घटिसकेका थिए भने माछाहरुका जातमा पनि लगभग पचास जात घटिसकेका थिए। सिमसारहरु नष्ट भएकोमा स्थानीय आर्थिक विकास र बासिन्दाहरुको अस्तित्वको वातावरणमा निकै नराम्रो असर पर्दैगएको छ। हाल आएर सिमसार तथा जैविक विविधताको संरक्षण गर्ने कुरा चीन सरकार र चिनियाँ जनताका लागि निकै महत्वपूर्ण एजेण्डा बनिसकेको छ।